Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

हिन्दू र बौद्धधर्मको पवित्रस्थल गोसाइँस्थान

रातो कागज
2 घण्टा अघि

काभ्रेपलाञ्चोक, २० साउन ः महत्त्वपूर्ण धार्मिकस्थल मानिएको रसुवाको गोसाइँकुण्ड तीर्थाटनसँग जोडिएको काभ्रेको बनेपास्थित गोसाइँस्थानलाई मानिन्छ । गोसाइँकुण्डको महत्व जोडिएका कारण पनि गोसाइँस्थानलाई धार्मिक दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थलका रूपमा लिइएको कथनले देखाएको हो ।

गोसाइँस्थानमा साउन शुक्ल पूर्णिमाका दिन अर्थात् जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा भव्य मेला लाग्ने गर्दछ । गोसाइँस्थानमा जिल्ला तथा छिमेकका विभिन्न जिल्लाबाट आएकाले अघिल्लो दिनदेखि नै जात्रामा सामेल हुने तयारी गर्छन् । विशेषगरी मेलाको दिन बिहानदेखि नै भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ ।

बनेपा–६ स्थित गोसाइँस्थानमा बर्सेनि जनैधारण गर्ने तथा शिव मन्दिरमा दर्शन तथा पूजाअर्चना गर्न दर्शनार्थीको भीडभाड हुने गर्दछ । यसपटक शनिबार उक्त स्थानमा भव्य मेला लाग्दैछ । विभिन्न जिल्लाबाट आउने भक्तजन पैदलयात्रा गरेरै त्यहाँ पुग्न रुचाउँछन् । उक्त स्थानमा हिन्दू र बौद्धधर्म परम्पराअनुसार पूजा र दर्शन गर्ने गरिन्छ । हिन्दू धर्म–संस्कारअनुसार त्यहाँ रहेको शिव मन्दिरमा पूजा गर्ने र ब्राह्मणबाट रक्षाबन्धन र टीका लगाइन्छ ।

यस्तै तामाङ समुदायका मानिस तथा ‘झाँक्री’हरू ढ्याङग्रो बजाउँदै विभिन्न तरिकाले पूजा र दर्शन गर्ने गर्दछन् । नेवार समुदायले अन्तपात चढाउने, ब्राम्हण समुदायले जनै लगाउने र हातमा रक्षाबन्धन डोरो बाँध्ने प्रचलन पनि छ । सो जात्रामा महिला र पुरुषबीचमा तामाङ दोहोरी गीत गाएर आफ्ना मनका भावना साटासाट गरेर रमाइलो गर्ने प्रचलन पनि रहँदै आएको छ ।

धार्मिक आस्थाका हिसाबले निकै महत्त्वपूर्ण मानिएको उक्त मेलामा काभ्रेपलाञ्चोक लगायत काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोकका भक्तजन आउने गर्छन् । गत वर्षभन्दा यस वर्ष गोसाइँस्थान क्षेत्र थप व्यवस्थित बनाइएको गोसाइँस्थान संरक्षण समितिका अध्यक्ष भेषराज शाहले बताए । उनका अनुसार ‘लकडाउन’यता बर्सेनि भक्तजनको उल्लेख्य वृद्धि भइरहेको छ । जात्रा अवधिभर बनेपाको बुडोलबाट नै सडक दायाँबायाँ व्यापारिक चहलपहल पनि निकै बढ्ने गर्छ ।

रसुवाको गोसाइँकुण्ड पुग्न नसक्नेले बनेपाको गोसाइँस्थानमा गएर दर्शन गर्ने प्रचलन रहँदै आएको स्थानीय बूढापाका बताउँछन् । “गोसाइँकुण्ड पुग्न नसक्नेले यहाँको गोसाइँस्थानमा गएर दर्शन गरी स्नान गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ”, स्थानीय भैरव केसीले भने । समुद्र सतहबाट १४ हजार १०० फिटको उचाइमा अवस्थित पवित्र उक्त कुण्ड निकै टाढा, उकालोमा कठिनाइपूर्वक जानुपर्ने भएकाले कतिपय भक्तजन भने अघिल्लो दिनदेखि नै कुण्डस्थलमा बास बस्न पुग्छन् । यस्तै केही भक्तजन बीचबाटोमा बास बसी पर्वका दिन तीर्थस्थल पुग्ने गरेको पाइन्छ ।

गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना, कुण्डको जलाशयमा फूल–प्रसाद चढाउँदा सम्पूर्ण देवीदेवताको दर्शन मिल्न गई आफ्नो मनोकाङ्क्षा पूरा हुने धार्मिक मान्यताअनुरूप जानेलाई आफ्नो मनले सोचेका पूरा भई घरपरिवारमा सुख, शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ । उक्त ठाउँमा पछिल्ला वर्षदेखि पर्यटकको आवागमनमा पनि वृद्धि हुँदै गएको छ । उक्त स्थानमा पर्यटकीय पूर्वाधार तथा पक्की सडक सुविधा र थप भौतिक संरचना निर्माणले भने आन्तरिक एवं बाह्य पर्यटकले गोसाइँस्थान पुग्न रुचाएका हुन् ।

काभ्रेको पुरानो एवं मध्यपहाडी क्षेत्रको मुख्य बजार बनेपाबाट उत्तर–पूर्वतर्फ हरियाली भएर उभिएको गोसाइँस्थान डाँडा धार्मिक र पर्यापर्यटनका दृष्टिकोणले प्रसिद्ध ठाउँ हो । व्यापारिक बनेपा र पर्यटकीय धुलिखेल बजारको बीचमा रहेको उक्त ठाउँमा धार्मिकस्थल गोसाइँस्थान र त्यसमाथिको अग्लो डाँडामा रहेको दृश्यावलोकन स्तम्भले सो डाँडा निकै प्रसिद्ध रहेको जनाउँछ । उक्त स्थानमा हाल नैमिषारण्य संस्कृत गुरुकूल विद्यालय सञ्चालनले थप चहलपहल बढाएको छ ।

बढ्दो सहरीकरणको कोलाहलबाट नजिकै रहेको हरियाली वनजङ्गल बीचको अग्लो मनमोहक स्थान भएका कारण निकै शान्त, रमणीय र मनोरञ्जन लिनका साथै धार्मिक दृष्टिकोणले महादेव मन्दिरको दर्शन गर्न पाइने पवित्र ठाउँ भएकाले पनि आकर्षक केन्द्रका रूपमा रहेको चर्चा कमाउँदै आएको छ ।

उक्त स्थानमा हरेक शुक्रबार र शनिबार दृश्यावलोकन स्तम्भ ९टावर०चढ्ने तथा त्यहाँका प्राकृतिक मनमोहकस्थल घुम्नका लागि धेरै मानिस आउँछन् । स्थानीय दीपक कार्कीले भने, “गोसाइँस्थान र दृश्यावलोकन स्तम्भ क्षेत्र जाने सडक, सिँढी र अन्य थप भौतिक संरचना निर्माणले घुम्न जानेको सङ्ख्या वृद्धि हुँदै गएको छ । उक्त स्थानमा नयाँ मुक्तिनाथ मन्दिर, हनुमान मन्दिर निर्माणसँगै घण्टा राखिएको छभने रामायण भजन गर्ने भवन, पक्की शौचालय निर्माण भइसकेका छन् । उद्यान निर्माणकार्यको तयारी भइरहेको समितिले जनाएको छ ।

धुलिखेलस्थित अरनिको राजमार्गदेखि धुलिखेल–रविओपी–काशीभञ्ज्याङसम्मको पक्की सडक निर्माण भइसकेको छ । यहाँबाट हाइकिङ गर्दै अर्को चर्चित पर्यटकीयस्थल नगरकोट पुग्न सकिन्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया