रातो कागज

कञ्चनपुर, १९ साउन ः शरीरले भन्दा पनि मनले धेरै पीडा दिएको छ,” यी शब्द हुन् शुक्लाफाँटा नगरपालिका–१ का ६४ वर्षीय देवराम दमाईँका हुन् । हो उहाँले अहिले घाँटीको क्यान्सरको पीडा झेल्दै आएका छन् ।
दैनिक मजदुरी गरेर परिवार पाल्दै आएका देवरामको जीवन पीडाले भरिएको छ । तीन छोरामध्ये दुई जनालाई गुमाइसकेका दमाईँलाई अहिले आफ्नै उपचार गर्नसक्ने हैसियतमा छैनन् । भारतको बम्बईमा कमाइरहेका एक छोरा उतै बिते, अर्का छोरा मलेसियामा सुतेकै अवस्थामा निधन भए, अनि कान्छो छोरा हाल बैङ्गलोरमा श्रीमतीसँगै छन् । चौकीदारी गरेर आएको पैसाले पेट पाल्नमै दुवै श्रीमान्श्रीमतीलाई ठिक्क छ ।
दमाईँका अनुसार घाँटीमा समस्या देखिएपछि धनगढी, नेपालगञ्ज हुँदै चितवनको मेडिकलमा उपचार गराउँदा क्यान्सर भएको पुष्टि भयो । उपचारका लागि आफन्तसँग रु डेढ लाख ऋण लिएका उहाँले त्यो पनि सकिएपछि उपचार खर्चको अभावमा पीडा सहेर बस्नुपरेको छ ।
उपचार खर्चका लागि अब कहाँ जानु कसलाई भनु, आँखाबाट आँसु झार्दै उनले भन्नुभयो, “दैनिक औषधि आवश्यक छ, अस्पतालमा उपचारका लागि जानुपर्ने हुन्छ तर सवारी खर्च पनि नभएपछि घरमै रोग पालेर बस्नुपरेको छ ।
छोराको निधनपछि दमाईँ परिवारमा एक बुहारी घर छाडेर गएकी छन् । नातिनातिनालाई पाल्नुपर्ने जिम्मेवारी देवरामकै काँधमा रहेको छ । दमाईँ परिवारको सामुदायिक वनको छेउमा १० घुर जग्गामा बनाइएको छाप्रो छ । त्यसमै दमाईँ परिवार बस्दै आएका छन ।
कमाउने मान्छे नभएपछि घर खर्चदेखि औषधि उपचार सबैमा समस्या भएको दमाईँ बताउछन् । मेरो पीडा कसैले सुनिदियो भने उपचार खर्चको व्यवस्था भए बाँचिन्छ जस्तो लाग्छ, उनी भन्छन् । दमाईँले आफ्नो उपचारको लागि सरकार, सामाजिक सङ्घसंस्था, सहयोगी हातहरूप्रति अनुरोध गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया