रातो कागज

काठमाडौँ, १९ साउन : विश्वमा प्रत्येक वर्ष अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान सप्ताहको रुपमा मनाउने गरिन्छ । नेपालमा पनि केही वर्षदेखि यसलाई विभिन्न जनचेतनामूलक कार्यक्रमको रुपमा मनाउन सुरु गरिएको छ । अहिले पनि हाम्रो समाजमा स्तनपान गराउँदा दुख्छ, स्तनको मुख ठूलो हुन्छ, स्तनपान गराउँदा कुनै औषधि सेवन गर्नु हुँदैन, स्तनपान गराउनुअघि सादा खाना खानुपर्छ, मसला भएको खाना बार्नुपर्छ, स्तनपान गराएपछि बच्चालाई कहिल्यै पाउडर दूध दिनु हुँदैन, बिरामी भएको बेला स्तनपान गराउन हुँदैन भन्ने जस्ता अनेक भ्रमहरु रहेको पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनका विभिन्न अध्ययनहरुले राम्रोसँग आमाको दूध पाएका बच्चाहरुको तुलनामा दूध चुस्न नपाएका बच्चाहरुको आफ्नो पहिलो वार्षिक जन्मदिनअघि नै मृत्यृ हुने जोखिम १४ गुणा बढी हुने जनाएको छ ।
विश्वभर हरेक वर्ष हुने बालमृत्यृको १६ प्रतिशत पर्याप्त स्तनपान नगराएका कारण हुने युनिसेफले जनाएको छ । पूर्ण स्तनपानले विश्वभर हरेक वर्ष छ वर्षमुनिको सम्भावित मृत्युलाई १३ प्रतिशतले, जन्मेको पहिलो घण्टाभित्र गराइने स्तनपानसँगै पूर्ण स्तनपानले नवजात शिशुको मृत्यृलाई २२ प्रतिशतले घटाउन सक्छ भन्ने अध्यननले देखाएको छ । हरेक वर्र्ष विश्वभर करिब एक करोड ५० लाख शिशुहरु समय नपुगी जन्मन्छन् भने नेपालजस्ता निम्न, मध्यम आय भएका देशमा झण्डै ८१ हजार बच्चा समय नपुगी जन्मन्छन् । स्वास्थ्य संस्थामा बच्चा जन्माउनेको प्रतिशत सन् २०१६ मा ६४ प्रतिशत रहेकामा सन् २०२२ मा ७९ प्रतिशत पुगेको छ । शल्यक्रियापश्चात् पनि आमा र बच्चालाई फरक राखे काउन्सिलमा आचारसंहिता मानेर उजुरी लाग्छ । वार्षिक २२ देखि २४ हजार गर्भवतीमध्ये ३५ प्रतिशतले शल्यक्रियाबाट बच्चा जन्माएका हुन्छन् ।
अस्ट्रेलियाका सिनेटर लरिसा वाटर्स संसदमा स्तनपान गराई चर्चामा आउने पहिलो राजनीतिज्ञ बनिन् । अमेरिकी मोडेल मारा मार्टिनले स्विमसुटका लागि पाँच महिने छोरी आरियालाई स्नपान गराउँदै रनवेमा ¥याम्प वाक गरिन् । क्यानाडामा एक महिला सांसदले संसद् बैठकमा कुर्सीमै बसेर स्तनपान गराएको, अष्ट्रेलियामा एक सांसदले संसद् बैठकमा बच्चालाई दूध चुसाउँदै उठेर भाषण गरेको, आइसल्याण्डमा महिला सांसदले स्तनपान गराउँदै रोष्ट्रममा गई सम्बोधन गरेको समाचारले निकै चर्चा पाए । स्पेनकी क्यारोलिना बेस्कान्स्का, अर्जेन्टिनाकी भिक्टोरिया डोना पेरेज, बेलायतकी एन्नेलिजडोडस तथा इटालीका लिसिया रोन्जुलीहरु यस्ता साहसिक नेतृ तथा जिम्मेवार आमा हुन्, जस्ले संसदमै स्तनपान गराएर एकसाथ मातृत्व र नेतृत्वको उदाहरण पेस गरेका छन् ।
बट्टाको दूधमा शिशुलाई आवश्यक पर्ने पौष्टिक तत्व नहुने र प्रोटिनको मात्रा असन्तुलित हुने भएकाले आमाको दूधभन्दा २३ गुणाले बढी हानिकारक हुने गर्दछ । गाईभैँसीमा तेब्बर प्रोटिन रहने भएकाले पचाउन नसक्ने, एलर्जी हुन्छन् । दुईदेखि छ महिनामा बट्टाको दूध खुवाउँदा मृत्युको जोखिम १६ गुणा बढी हुन्छ । नेपालले मातृ तथा नवजात शिशु स्वास्थ्यमा सन् २०१६ मा मातृ मृत्यृदरप्रति एक लाख जीवित जन्ममा २३९ बाट सन् २०२२ मा १५१ र सन् २००१ मा प्रति एक हजारमा ३९ रहेको नवजात शिशु मृत्यृदर सन् २०२२ मा २१ मा घटेको छ । यसमा देशभर रहेका दुई हजार आठ सय ४८ प्रसूति केन्द्रहरुको भूमिका रहेको छ ।
मिल्क बैंकको अवधारणा
सन् १९०९ मा अष्ट्रियाको भियना शहरमा ह्युमन मिल्क बैंक अभियानको सुरुआत भएको हो । तत्पश्चात विभिन्न पश्चिमी देशमा यसको थालनी भएको देखिन्छ । सन् १९१९ मा अमेरिकाको बोस्टन सहरमा सन् १९४० मा बेलायत र सन् १९४७ मा ब्राजिलमा सुरु भयो । भारतमा भने सन् १९८९ मा थालनी भएको हो र हाल एक सय बढी मानव दूध बैंकहरु सञ्चालित छन् । हाल विश्वभर ५० भन्दा बढी देशमा छ सय बढी मानव दूध बैंकहरु सफल र दिगोरुपमा सञ्चालनमा छन् । नेपालमा २०७९ भदौ ३ परोपकार प्रसूति गृह थापाथलीमा मिल्क बैक स्थापना गरिएको छ । यस अस्पतालमा स्थापित पहिलो ह्युमन मिल्क बैंकलाई अमृत बैंकको रुपमा लिने गरिएको छ ।
मिल्क बैक दुई वटा लेभलको हुन्छ, कम्प्रेहेन्सिभ ल्याक्टेसन म्यानेजमेन्ट सेन्टर र ल्याक्टेसन म्यानेजमेन्ट सेन्टर । प्रसूति गृहको सिएलएमसी भएकाले सङ्कलनसहित प्रशोधन, परीक्षण, भण्डारण, पास्चराइजेसनको सुविधा छ । आमाबाट ब्रेष्ट मिल्क पम्प—इलेक्ट्रिक वा मानिस आफँैँले आमाको दूध सङ्कलन गरिन्छ । सङ्कलित दूधमा कुनै रोगब्याधी नभएको परीक्षणबाट सुनिश्चित गरी कल्चर गरेर पास्चराइजेसन गरी एक सय मिलिलिटरको बोतलमा राखिन्छ । उक्त बोतल माइनस २० डिगी सेल्सियसको डिप फ्रिजरमा छ महिनासम्म राख्न सकिन्छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार आमाको दूधलाई रेफ्रिजेरेटरमा १८ सेल्सियसमा कम्तिमा छदेखि १२ महिनासम्म, चार सेल्सियसमा चार दिनसम्म र सामान्यतया कोठाको तापक्रममा चारदेखि छ घण्टासम्म प्रयोग गर्न सकिन्छ ।
दूध दान गर्ने आमाहरुको मुख्यतया एचआइभी, भेनेरल डिजिज—भिडिआरएल, हेपाटाइटिस बी र ए सरफेस एन्टिजेन परीक्षण अनिवार्य छ । आर्थिक वर्ष २०८१÷८२ मा नौ सय ३१ आमाबाट पाँच सय ९४ लिटर जम्मा भई एक हजार एक सय ७९ शिशुलाई प्रदान गरेको छ । प्रसुती गृहकै एनआइसीयुका नवजातलाई पुगे पनि अन्य अस्पताल तथा आवश्यक शिशुलाई यथेष्ट उपलब्ध गराउन सकेको छैन । यसका लागि ‘कम्युनिटी डोनेसन’को रणनीति कार्यान्वयन गर्नु आवश्यक छ ।
आमाको दूधः शिशुको अधिकार
आमाको दूध शिशुको लागि पहिलो प्राकृतिक आहार हो, जसले शिशुलाई जीवनका सुरुका महिनाहरुमा चाहिने ऊर्जा र पोषण उपलब्ध गराई शिशुमा सिर्जनात्मक र ज्ञानेन्द्रीय क्षमता बढाउने, झाडापखाला, निमोनिया, कुपोषण जस्ता रोगबाट हुने शिशु मृत्युदर घटाउन प्रकृतिले सञ्चय गरिदिएको जीवन बुटी हो । आमाको शुरुको दूध १० दिनको बाक्लो, पहेलो र च्यापच्याप लाग्ने, वंशाणुगत, कोलोष्ट्रमसहितको बिगौती दूध हो । हानिकारक सङ्क्रामक जीवाणु र किटाणुलाई नष्ट पार्ने, सङ्क्रामक रोगसँग लड्न सक्ने तत्वहरु भएको, कार्बोहाइटे«ड, प्रोटिन, चिल्लो पदार्थको अलावा सबै पौष्टिक तत्वले भरिपूर्ण भएकाले बिगौती दूधलाई पहिलो खोप भनिन्छ ।
स्वस्थ आमाको स्तनबाट दैनिक निस्कने दूधमा बच्चाको शारीरिक आवश्यकतानुसार शारीरिक र मस्तिष्क विकास गर्न जरुरत पर्ने सबै तत्व तथा एमिनो एसीड पाइन्छन् । समय सीमा र मात्रा नभएका, स्वच्छ, सुपाच्य, हानिकारक किटाणुको प्रवेश हुन नपाउने, प्राकृतिक तत्वनिहीत खाद्यपदार्थ हो । बोतलबाट दूध चुस्ने बच्चाको दाँत दुई गुणा बढी टेडोमेडो भएर उम्रिने सम्भावना रहन्छ । जन्मेपछि पहिलोपटक दूध चुसाउन दुईदेखि २३ घण्टासम्म ढिलो गर्दा शिशुको मृत्यु हुने जोखिम ३३ प्रतिशतले बढ्छ, जन्मेको दुई दिनसम्म पनि दूध चुस्न नपाउने बच्चामा यस्तो जोखिम दोब्बर हुन्छ । स्तनपान नगराएका बच्चाहरुमा स्तनपान गरेका बच्चाहरुमा एक वर्र्षभित्रै ज्यान गुमाउने जोखिम करिब २१ प्रतिशत बढी हुन्छ । स्तनपानबाट बच्चाको हालको मृत्यु २० प्रतिशतले कम गर्न सकिन्छ । स्तनपानको अभ्यासको सुधार भए वार्षिक आठ लाख ८२ हजार शिशुको ज्यान जोगिने तथ्याङ्कले देखाएको छ । छ महिनासम्म स्तनपान पाएका शिशुको ज्यान जोगिने सम्भावना १४ प्रतिशतले बढ्छ ।
स्तनपानबाट फाइदा
आमाले गरेको भोजनबाट प्राप्त क्यालोरीमध्ये ६० प्रतिशत क्यालोरी मात्र दूधमा रुपान्तरण हुन्छ । त्यसैले दूध खुवाउने महिलाको भोजनमा दैनिक सात सयदेखि एक हजार मिलिग्राम क्याल्सियम अर्थात दुईदेखि आठ प्रतिशत बढी, सात सय क्यालोरी, २० ग्राम प्रोटिन अर्थात ७।२ ग्राम प्रोटिनका लागि १४।४ ग्राम, महिनावारी शुरु भएपछि थप लौहतत्व, भिटामीन ए, बी, सी, फोलिक एसिड पनि थप आवश्यक पर्छ ।
स्तनपानले पाठेघर खुम्चाउन उत्तेजित पार्छ, सालनाल निक्लन, रोग लाग्न, रक्तश्राव बन्द गर्न र आमाको तनाव कम गर्छ । डिम्बासय, स्तन क्यान्सर २८ प्रतिशतले, पाठेघरको क्यान्सर २१ प्रतिशतले, टाइप–२ मधुमेह १२ प्रतिशतले, छालामा निखार, मोटोपना, हाड खिइने, रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि, सुत्केरीपश्चात्को डिप्रेसन, मुटुरोग, जीनमै उच्च रक्तचाप र उच्च कोलेस्टेरोलको समस्या भएकामा राहत, हर्मोन प्रोल्याक्टिन निस्कदा आमालाई आनन्द र ध्यान केन्द्रित गर्न मद्दत गर्दछ । नियमित स्तनपानले सौन्दर्य वृद्धि हुने गर्दछ किनभने सुत्केरी आमाको शरीर पहिलेको अवस्थामा फर्काउछ । बोसो क्रमशः घटाउँछ । पूर्ण स्तनपान गराउँदा प्रोजेष्ट्रोन हर्मोनको वृद्धिले गर्भ निरोधकको काम गर्छ र गर्भधारण ढिलो हुन्छ ।
डब्बा तथा अन्य दूध खुवाउँदा हुने खर्चको आर्थिक भार तथा बिरामी भई उपचारमा लाग्ने खर्चको भार ५० प्रतिशत कम हुन्छ । स्तनपान नगराउँदा वार्षिक अनुमानित खर्च तीन सय खर्ब डलर छ । आमालाई स्तनपान गराउँदा आत्मियता, तनाव कम, भावनात्मक लगाव बढ्ने, सुखानुभूति, गौरब, मानसिक स्वस्थता र आत्मसन्तुष्टि प्रदान गर्दछ । तर स्तनपानलाई यौनिकतासँग जोड्नु गलत हो ।
शिशुलाई स्तनपान गराउन नपाउने एकथरि आमाहरु प्राकृतिक कारणले स्तनपान गराउन असमर्थ हुन्छन् । उनीहरुको स्तनमा दूध फुट्दैन, फुटे पनि तुरुन्तै बन्द हुन्छ वा विशेष रोगी हुन्छन् भने अर्को सामाजिक कारणले पर्दछन् । बिरामी आमा जस्तै रक्तअल्पता, हिस्टेरिया, हृदयरोग, क्षयरोग, छारेरोग, एचआइभी, स्तनको मुण्टा चिरिएर घाउ भएका, घाउ पाकेर सङ्क्रमित भएका तथा केही औषधि खाइरहेकामा दूधबाट रोग सर्ने भएकाले स्तनपान नगराउन सक्छन् । यद्यपि अहिले क्षयरोग र एड्स सङ्क्रमित आमाले पनि स्तनपान गराउन सक्ने वैज्ञानिक प्रमाण देखिन्छ । स्तनपान गराउने आमाहरु यदि लागुपदार्थ सेवन गर्छन् भने त्यो दूधको माध्यमले बच्चासम्म पुग्छ र बच्चा लागुऔषधको अम्मली समेत हुन सक्छन् । धुम्रपान गर्ने आमाको एक मिलिलिटर दूधमा दुईदेखि २४० न्यानोग्राम निकोटिन हुन्छ । एचआइभी भएका महिलाले शिशुलाई स्तनपान गराउँदा एचआइभी सङ्क्रमणको खतरा २५ प्रतिशतले बढछ । तर आमा र बच्चाले एआरटी उपचार लिदा सङ्क्रमण हुने समभावना एक÷दुई प्रतिशत हुन्छ ।
नियम कानुन के छ त?
नेपालमा स्तनपानका लागि विभिन्न नीति नियमहरु बने पनि स्तनपान गराउने क्रम घट्दै गएको देखिन्छ । नेपाल डेमोग्राफिक हेल्थ सर्भेअनुसार घटदो क्रममा छ । सन् २०११ मा ७० प्रतिशत, सन् २०१६ मा ६६ र सन् २०२२ मा ५६ प्रतिशतले मात्र पूर्ण स्तनपान गरेको गराएको देखिन्छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि स्तनपानलाई सन् २०३० सम्ममा स्तनपान गराउने नेपाली आमा ९० प्रतिशत बढी पु¥याउने लक्ष्य राखिएको छ ।
विश्वमा धेरै देशले आमाको दूधलाई प्रतिस्थापन गर्ने अन्य आहारको अनैतिक व्यापारीकरण विरुद्धको अन्तर्राष्ट्रिय कानुनलाई मान्यता दिएका छन् । स्तनपानको संरक्षण र सम्बद्र्धन तथा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुलगायत बाल आहारको बिक्री वितरणलाई नियमित गरी बच्चाहरुका लागि सुरक्षित एवं पर्याप्त पोषणको व्यवस्था गर्ने उद्देश्यले नेपालमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु नियन्त्रण ऐन २०४९ जारी भएको छ । ऐनको दफा २० अनुसार सरकारले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण नियमावली २०५१ समेत जारी गरेको छ । २०६२ सालदेखि आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री वितरणसम्बन्धी प्रचारप्रसार विद्युतीय सञ्चार माध्यममा रोक छ । प्रतिस्थापन वस्तुलाई प्रवद्र्धन गरे अपराध मानी शिशुलाई क्षति पुगे अदालतले २५ हजारदेखि एक लाख रुपैयाँसम्म क्षतिपूर्ति भराउन सक्छ ।
यसैगरी प्रसूति महिलालाई ९८ दिन तलबी बिदा, प्रसूति भएको छ महिनासम्म चाहेमा बेतलवी बिदा, ५० भन्दा बढी महिला कार्यरत संस्थामा नर्सिङ युनिट, स्तनपानमैत्री अस्पतालको घोषणालगायत विभिन्न व्यवस्था गरिएको छ । स्तनपान प्रवर्द्धन गर्न मातृ तथा शिशुमैत्री अस्पतालका रुपमा विकास गर्ने तथा हरेक स्थानीय तहमा स्तनपान कक्ष स्थापना अभियान विस्तारमा छ । स्तनपानलाई बढावा दिन सार्क देशमध्ये बङ्गलादेश र भारतमा महिलालाई स्तनपानका लागि छ महिना सुत्केरी बिदा दिइन्छ । लेखक स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया