Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

तीर्थयात्रीका लागि चिकित्सक टोली परिचालन

रासस
1 घण्टा अघि

मान्म कालीकोट, १९ साउनः बडिमालिका जाने तीर्थयात्रीका लागि कालीकोटको रास्कोट नगरपालिकाले चिकित्सक सहितको टोली परिचालन गरेको छ । यही साउन २२ गते पूजा हुने बडिमालिकामा तीर्थयात्रीको घुइँचो लाग्ने भएकाले स्वास्थ्य सेवा सञ्चालन गरिएको हो ।

यहाँ हरेक वर्ष भाद्र शुक्लपक्ष चतुर्दशीका दिन पूजाआजा गर्नेको घुइँचो लाग्छ । यस वर्ष पनि साउन २२ गते विशेष पूजाआजा हुँदैछ । पूजा र बडिमालिका दर्शन गर्न आउने भक्तजनको आकस्मिक स्वास्थ्य समस्या र दुर्घटनाको जोखिमबाट बचाउन नगरपालिकाले चिकित्सक सहितको टोली परिचालन गरेको हो ।

स्वास्थ्य सेवा सञ्चालन गर्न चिकित्सक टोली आइतबार बडिमालिकातर्फ पठाएको नगरप्रमुख धर्मराज शाहीले बताए । बडिमालिकामा लेक लाग्ने, दम बढ्ने, अन्य दुर्घटना लगायत स्वास्थ्य समस्या भएका बिरामीलाई लक्षित गरी टोली पठाइएको हो”, उनले भने, रास्कोटको बाटो हुँदै एक हजार ५०० बढी तीर्थयात्री बडिमालिका गएका छन् ।

कालीकोटको रास्कोट नगरपालिका, सान्नी त्रिवेणी र नरहरिनाथ गाउँपालिकाबाट फरक–फरक बाटो हुँदै बडिमालिका पुग्न सकिन्छ । शिविरका लागि रास्कोट नगर अस्पतालका डा कमलप्रसाद बराल, जनकराज न्यौपाने, नागराज बरालसहितको स्वास्थ्यकर्मीको टोली औषधिसहित पठाइएको नगर प्रमुुख शाहीले बताए ।

विगत वर्षमा तीर्थालु लेक लागेर बिरामी पर्ने गरेका थिए । यस वर्ष त्यस्तो समस्या नहोस् भनेर स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको उनले बताए । देशभरका श्रद्धालु बडिमालिकाको दर्शन गर्न जाने गर्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया