रातो कागज

सिरहा, १८ साउन ः यहाँको इलाका प्रशासन कार्यालय लहानबाट गत आर्थिक वर्ष २०८१÷८२ मा राहदानी बनाउने तीन हजार ३१८ जनाले आप्रवासी स्रोत केन्द्रबाट परामर्श सेवा लिएका छन् । वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जान चाहनेहरूका लागि कार्यालयभित्रै स्थापना गरिएको स्रोत केन्द्रबाट दिइने यो परामर्श सेवा सशक्त सुरक्षा उपायका रूपमा लिइन्छ ।
कार्यालय प्रमुख गोकर्णराज सुयलका अनुसार स्रोत केन्द्रमार्फत सेवा लिनेमा दुई हजार ९८८ पुरुष र तीन सय ३० जना महिला छन् । ‘सामाजिक रूपान्तरणको माध्यमबाट आप्रवासन व्यवस्थापन कार्यक्रम सामी’ अन्तर्गत सञ्चालित परामर्श सेवा लिनेहरूमध्ये एक हजार चार जना सम्भावित वैदेशिक रोजगारी जाने रहेका छन् ।
यसमध्ये छ सय पाँच जना मधेसी समुदाय, एक यस ७४ जना दलित, दुई सय १५ जना जनजाति र २५ जना बाहुन–क्षेत्री समुदायका रहेका कार्यालयको तथ्याङ्क छ । शैक्षिक पृष्ठभूमिमा हेर्दा ८० जना असाक्षर, २२ जना पाँच कक्षाभन्दा कम अध्ययन गरेका, दुई सय ६५ जना ८ कक्षासम्म, दुई सय जना १० कक्षासम्म, दुई सय २२ जना १२ कक्षा सम्म र ६० जना स्नातक तहसम्म अध्ययन गरेका छन् ।
यी तथ्यहरूले वैदेशिक रोजगारीमा जान चाहनेहरूबीच शिक्षाको पहुँच र जातीय प्रतिनिधित्वको विविधता देखाउँछन् । औपचारिक रूपमा कम पढेका र सामाजिक रूपमा पछाडि पारिएका समुदायका व्यक्तिहरूको उल्लेख्य उपस्थितिले आप्रवासी परामर्श सेवाको अझ महत्त्वपूर्ण आवश्यकता औँल्याएको कार्यालय प्रमुख गोकर्णराज सुयलको भनाइ छ । “शिक्षा, जानकारी र सही परामर्श नपाएर नागरिकहरू अझै पनि ठगिने, सम्झौताविपरीत काम पाउने वा भिजिट भिसामा अलपत्र पर्ने समस्यामा परिरहेका छन् । यस्ता जोखिम न्यूनीकरण गर्न परामर्श सेवा अनिवार्य बन्दै गएको हो”, उनले भने ।
उनका अनुसार यस अवधिमा वैदेशिक रोजगारसम्बन्धी ४३ गम्भीर प्रकृतिका मुद्दा कार्यालयमा दर्ता भएका थिए । तीमध्ये २६ मुद्दा फछ्र्योट गरिएको छभने बीमा कम्पनी तथा एजेन्ट हरूबाट करिब रु दुई करोड ७५ लाख बराबरको क्षतिपूर्ति रकम असुल गरी पीडितहरूलाई उपलब्ध गराइएको छ ।
कार्यक्रम संयोजन गरिरहेको सामी परियोजना र आप्रवासी स्रोत केन्द्रको सक्रियताले वैदेशिक रोजगारीमा जाने नागरिकलाई जानकारीमा आधारित निर्णय लिन सहयोग पुर्याउँदै जोखिम न्यून पार्न उल्लेख्य योगदान दिइरहेको कार्यालयको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया