Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक विमा सुविधाको पहल सुरु

नेपाल न्युज बैंक
19 घण्टा अघि

जनकपुर । सप्तरीको रूपनी गाउँपालिका– २ का  बालेश्वर खंग र उनकी  श्रीमती रामकुमारी खंगको करेन्ट लागेर मृत्यु भएपछि मधेश प्रदेश सरकारले गरेको नागरिक वीमा पीडित परिवारले पाउने गरी पहल सुरु गरेको छ ।

खंग दम्पतिको मृत्युपछि परिवारमा समवेदना व्यक्त गर्न मधेश प्रदेश सरकारको उच्चस्तरीय टोली बिहीबार (आज) घटनास्थल सप्तरीको रूपनी २ पौंवा टोल पुगेर विमा सुविधाको लागि पहल सुरु गरिएको जानकारी दिएको छ ।

गत शुक्रवार साँझ सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लाग्दा बालेश्वर खंगको मृत्यु भएको थियो भने उनलाई बचाउन गएकी उनकी श्रीमती रामकुमारी खंगको समेत करेन्ट लागेर मृत्यु भएको थियो । दैनिक मजदूरीमा जीवन निर्वाह गर्दै आएका खंग दम्पति पछाडि आश्रित परिवार छोडेर गएपछि शोकाकुल बनेको परिवारलाई सान्त्वना दिदै प्रदेश सरकारले वीमाको पहल सुरु गरेको हो ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बीमा कम्पनीका प्रतिनिधि समेतको टोली आज दिउँसो रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।

टोलीले पीडित परिवारसँग भेट गरी घटनाको जानकारी लिएको थियो भने मृतक दम्पतिप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति गहिरो समवेदना प्रकट गरेको थियो। टोलीले खंग परिवारलाई मधेश प्रदेश सरकारले यो वर्ष साउन १ गतेदेखि लागू गरेको नागरिक बीमा कार्यक्रम अन्तर्गत बीमा सुविधा प्राप्त गर्न सकिने जानकारी गराउँदै आवश्यक कागजात संकलन सुरु गरेको जनाएको छ ।

साथै, प्रक्रिया सहज बनाउन स्थानीय तह र सम्बन्धित निकायहरूसँग समन्वय भइरहेको टोलीले स्पष्ट पारेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया