Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चुरे क्षेत्रको दोहनले मधेशमा खडेरी पर्यो, बैकल्पिक बालीमा जोड्दिनुपर्छ : कृषिविज्ञ पौडेल

नेपाल न्युज बैंक
20 घण्टा अघि

काठमाडौं । मधेश प्रदेशमा यसवर्ष कम वर्षा भएर खडेरी परेसँगै सरकारले यस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । चुरे क्षेत्रमा भएका प्राकृतिक स्रोत साधनहरुको अत्यधिक दोहनले गर्दा मधेशमा खडेरी देखिएको बताउँदै बैकल्पिक बालीतर्फ जोडदिनुपर्ने कृषिविज्ञ छबि पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार मधेश प्रदेश नेपालको सबैभन्दा धेरै सिँचाइ हुने क्षेत्र हो । सरकारी तथ्यांक अनुसार मधेश प्रदेशमा ५० प्रतिशत सिँचाइको सुबिधा छ भने देशका अन्य स्थानमा ३५ प्रतिशत मात्रै सिँचाइको सुविधा रहेको छ । हालसम्म मधेशमा करिब ५० प्रतिशत रोपाइँ भएको छ भने देशमा समग्र रोपाइँको कुरा गर्नेहो भने ८० प्रतिशत धान रोपाइँ भइसकेको छ ।
अहिलको अवस्था असामान्य भएको बताउँदै उनले यो अवस्था आउनुमा हावापानीको असरले पृथ्वी तात्नु मुख्य कारण भएको र चुरेको दोहन भएको बताए ।
‘हावापानी परिवर्तन भएको छ । यसले गर्दाखेरी जलवायुको अवस्थामा पनि परिवर्तन आउँछ । अर्कोकुरा मधेश प्रदेशको पानीको मुहान भनेको चुरे हो । तर चुरेको अति दोहन भएको छ । भारतको उत्तर प्रदेश र बिहार क्षेत्रका बाटोघाटोहरु बन्दाखेरी हाम्रो चुरे क्षेत्रको गिट्टी बालुवा धेरै गएको छ । गिट्टी बालुवा र अन्य बनजंगलको पनि विनास भएको छ,’ उनले भने । ‘चुरे चाहिँ तराईका जिल्लाहरुका लागि जमिन भित्रको पानीको स्रोत रिचार्जहुने स्रोत हो । यस ठाउँमा जंगल रह्यो भने त्यस ठाउँमा पानी अड्याउन सक्यौं भने मात्र जमिन मुनिको पानीको स्रोत रिचार्ज हुन सक्छ । अहिले चुरे क्षेत्रमा जमिनमुनिको पानीको स्रोतहरु पनि तल्लो स्थानमा झरिसकेको अवस्था छ । त्यसकारण मैले मधेशको सुख्खालाई एउटा समस्याको रुपमा हेरिरहेको छु ।’
उनका अनुसार मधेश प्रदेश अन्न भण्डारको रुपमा रहेकाले खडेरीले उत्पादनमा स्वतः रुपमा प्रभाव पार्छ । नेपाल सरकारद्वारा सञ्चालित कृषिका विभिन्न पूर्वाधारहरुपनि मधेश प्रदेशमा केन्द्रित छन् । मधेश अन्नको भण्डार भएकाले नै तुलनात्मकरुपमा त्यहाँ सिँचाइको सुविधा बढी भएको हो । तर, त्यहाँ सिँचाइको सुविधा भएका कमला नदी, कोशी, बागमती र नारायणी सिँचाइ योजनालगायत ठुला आयोजना छन तरपनि ति सबै सिँचाइ आयोजनाहरु ५० प्रतिशत भएपनि वास्तवमा १५ प्रतिशत पनि कभर गर्दैनन् ।
‘मधेश प्रदेश बाहेक समष्टिगत रुपमा नेपालमा ३५ प्रतिशत सिँचाइ सुविधा छ भन्छौं । तर वास्तवमा त्यो २० प्रतिशत पनि छैन् । नेपाल सरकारका ठुला सिँचाइ आयोजनाहरु काम नलाग्ने छन् । अहिले तराइमा स्यालो ट्युबेलहरु पनि सुकेको अवस्था छ । त्यसकारण त्यहाँको भविष्यले विस्तारै मरुभूमीकरणको संकेत गरेको छ । आकाशे पानीको भरमा साउन महिना भरिनै धान रोपाइँ गर्न सकिन्छ तर, बीउ बुढो हुने समस्या आउँछ त्यस्तो बीउले उत्पादन घटाउने समस्या निम्त्याउँछ । अबका दिनमा पानी परिहाल्यो भने पनि बीउ बुढो भएका कारणले गर्दा राप्न सक्ने अवस्था छैन ।’
संसारका धनी भनिएका देशहरु अमेरिका र चीनले पनि सबै स्थानमा सिँचाइ पु¥याउन नसकेको उल्लेख गर्दै उनले खेत नजिकै सिँचाइ पुगेपनि त्यसलाई खेतको गरासम्म पु¥याउन र खेतीबारीको जराजरामा प¥याउन ज्यादै नै समस्या हुने बताए । त्यसकारण आकाशे पानीले सहज बनाउने उनको तर्क छ ।
बैकल्पिक बालीमा जोड दिन जरुरी
सुख्खा खडेरीका कारण धान रोपाइँ गर्न समस्या हुने भएपछि तराइका जिल्लामा यस वर्षका लागि बाली विविधिकरण गर्दै बैकल्पिक बाली लगाउनुपर्ने कुरामा जोडदिनुपर्ने पौडेलको भनाई छ । ‘सिँचाइ नपुगेका स्थानमा बाली विविधिकरण गर्न जरुरी छ । जहाँ पानी जम्छ, हाँडी खेतहरु छन वा जहाँ वर्षाको पानी धेरै जम्छ त्यस्तो स्थानमा धानखेती गर्ने तर अग्लो स्थानमा धान नै लगाउनुपर्छ भन्ने छैन,’ उनले भने ।
धान फलाउनभन्दा अन्य बालीहरु फलाउनमा कम पानी खर्च हुने उनको भनाई छ । ‘एक केजी धान फलाउन ३ हजारदेखि ६ हजार लिटर पानी आवश्यक हुन्छ । चैते धानमा त अझ ६ हजारदेखि ८ हजार लिटरसम्म पानी आवश्यक हुन्छ । तर १ केजी मकै फलाउन ६ सयदेखि करिब १ हजार लिटरसम्म पानी भए पुग्छ । त्यसकारण एक केजी धान फलाउन लाग्ने पानीले हामीले १० किलो मकै फलाउन सक्छौं भने करीब १४÷१५ केजी कोदो फलाउन सक्छौं । त्यसकारण बाली विविधिकरणले हामीलाई सहज बनाउँछ ।’
भाते संस्कृतिमा परिवर्तन गर्नुपर्छ
बैकल्पिक बालीतर्फ जोडसँगै हाम्रो भाते संस्कृति वा चामल नै खानुपर्छ भन्ने संस्कृतीमा परिवर्तन गर्नुपर्ने सुझाब पौडेलले दिएका छन् । धानको विकल्पले खाद्य सुरक्षासँगै स्वास्थ्यको पनि सुरक्षा हुने उनको सुझाब छ ।
‘हामीले तीन पटक चामल नै खाने चलन छ । प्राय स्थानमा दुईपटक अनिवार्य नै खान्छांै । तपाईले एकपटक चामलको खाना छोडेर अरु कुनै खाना खाने हो भने तपाईलाई ५० प्रतिशत रोग कम लाग्छ, तपाई स्वस्थ हुनुहुन्छ । त्यसकारण हाम्रो खाने तरिका र बानी परिवर्तन तिर पनि ध्यान दिनुपर्छ ।’
जीडीपीमा असर
कूल जीडीपीमा धानको योगदान करिब ५ प्रतिशत हुनु पनि सामान्य कुरा नभएको बताउँदै पौडेलले खडेरीका कारण धानको उत्पादन घटेमा मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा असर गर्ने बताए ।
उनका अनुसार देशभर हाम्रो ५० प्रतिशत क्षेत्र धानले ढाकेको छ । त्यसकारण पनि धानको योगदान यति राम्रो भएको हो । हामीले खेतहरु बाझै छाड्ने हो भने जीडीपीमा असर गर्छ । तर त्यो ठाँउमा धानको सट्टामा कोदो, मकै जस्ता बाली लगाउँदा जीडीपीमा खासै असर पर्दैन् ।
‘कोदो, मकै जस्ता छिटो उत्पादन हुने बाली र धानको सट्टा जुनेलो लगाउने हो भने प्रतिहेक्टर हेक्टर आठ टन फल्छ, धान प्रतिहेक्टर तीन टन मात्र फल्छ । वैकल्पिक बालीको गफ मात्र दिएर भएन हाम्रो सरकार, किसान पनि लाग्नु पर्यो । यसमा सबैले ध्यान दिने हो भने कूल जीडीपीलाई असर गर्दैन,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया