रातो कागज

रामेछाप । पूर्वाधार विकास कार्यालय रामेछाप र निर्माण व्यवसायीको लापरबाहीको कारण रामेछापमा निर्माणाधीन सडक आयोजना अलपत्र परेका छन् । जिल्लाको गोकुलगंगा गाउँपालिकामा निर्माणाधीन सडक योजना अलपत्र हुँदा नागरिकले हैरानी खेप्नु परेको छ । खिम्ति–फर्पु–नामाडी–बेताली– रस्नालु– ठोस सडकको रस्नालु गाउँपालिकामा पर्ने ९ किलोमिटर सडक समयमा नबन्दा सो सडक भएर यात्रा गर्ने यात्रीहरूले सास्ती बेहोरिरहेका छन् ।
गोकुलगंगा गाउँपालिकामा ९ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि २०८० को असार मसान्तमा काम सुरु भएको थियो । तर हालसम्म पनि सडक निर्माणको काममा ५० प्रतिशत पनि प्रगति भएको छैन । बेताली–रस्नालु–गर्जाङ सडकको बेताली–भिमसेनस्थान खण्डको ४.५ किलोमिटर सडक निर्माणको लागि ईश्वरी कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको थियो । त्यस्तै दार्खाखोला–बुर्के–धारापानी खण्ड ४.५ किलोमिटर सडक निर्माणको जिम्मा पाँचपोखरी निर्माण सेवाले पाएको छ ।
स्थानीय सचिन कार्कीका अनुसार दुवै सडक खण्डको निर्माण अति सुष्त गतिमा भएको छ । ‘व्यवसायी भन्छन् रकम निकासा भएन, कार्यालय भन्छ व्यवसायीले काम गरेन, यी दुई पक्षबिचको आरोप प्रत्यारोपको हैरानी भने स्थानीयले खेप्नु परेको छ’, उनले भने । सडकमा निर्माणको काम अति सुस्त रहेको गोकुलगंगा गाउँपालिका–५ नामाडीका वडा अध्यक्ष दीपक कार्कीले बताउँछन् । ‘म्याद थप्ने, काम नगर्ने प्रवृत्तिले हैरान पारेको छ’, उनले भने ।
उनका अनुसार आर्थिक वर्ष २०८०/०८१ मा काममा केही प्रगति भए पनि २०८१/०८२ मा काम ठप्पजस्तै रह्यो । अहिले पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख ज्यानेन्द्र प्रसाद पुनको नेतृत्वमा डोजरले मनपरी काम गर्दा सडक झनै बिग्रिएको उनले बताए । निर्माण व्यवसायीले समयमै काम नसकेका कारण सडकको अवस्था अस्तव्यस्त रहेको गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का दिनेशको गुनासो छ । ‘सडक पानी पर्दा हिलाम्मे, घाम लाग्दा धुलाम्मे हुने अवस्था छ, जोखिम मोलेर यात्रा गर्नुपरेको छ’, उनले भने ।
गाउँपालिकाले यसबिचमा सम्बन्धित निकायलाई १२ पटकसम्म ध्यानाकर्षण पत्र काटेको भए पनि ठोस परिणाम नआएको उनले गुनासो गरे । निर्माण व्यवसायीले पूर्वाधार कार्यालय लगायत कसैलाई पनि नटेरी काम नगरेको अध्यक्ष खड्काको आरोप छ ।यी दुई खण्ड सडकका लागि ३० करोड रुपैयाँ भन्दा बढी बजेट विनियोजन भएको छ । बेताली–भिमसेनस्थान खण्डको लागि १५ लाख ३९ हजार र दार्खाखोला–बुर्के–धारापानी खण्डको लागि १४ करोड ८५ लाख रुपैयाँ बजेट रहेको पूर्वाधार विकास कार्यालय रामेछापका सूचना अधिकारी इन्जिनियर दोर्णबहादुर चौधरीले बताए ।
उनले सडक योजनाको काम सक्न निर्माण व्यवसायीले पटक–पटक ताकेता गर्दा पनि काम हुन नसकेको स्विकारे । २०८२ असार मसान्तसम्म काम सम्पन्न गर्ने सर्तमा सम्झौता भएको भए पनि हालसम्म ५० प्रतिशत मात्रै काम सम्पन्न भएको छ, अब पनि काम नगरे क्षतिपूर्ति सहित कानुनी प्रक्रिया अगाडि बढाइनेछ’, उनले भने ।
सम्झौतामा निर्माणका क्रममा सडक आवतजावतमा अवरोध नहुने व्यवस्था गर्नुपर्ने प्रावधान रहे पनि निर्माण व्यवसायीले त्यसप्रति ध्यान नदिँदा सडक अस्तव्यस्त बनेको उनले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया