रातो कागज

काठमाडौँ, १३ साउनः मेलम्ची खानेपानी आयोजनाको उपआयोजना–२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी द्वारा काठमाडौँ, ललितपुर र भक्तपुरमा दुई फोहोरपानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भएका छन् ।
काठमाडौँको गुह्वेश्वरीमा प्रतिदिन तीन करोड २४ लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको ‘गुह्वेश्वरी फोहोरपानी प्रशोधन केन्द्र’ निर्माण गरी सञ्चालनमा ल्याइएको आयोजना कार्यान्वयन निर्देशनालय पिआइडी का प्रुमख लक्ष्मीराज उपाध्यायले जानकारी दिए। उनका अनुसार पशुपति क्षेत्रभन्दा उपल्लो तटीय क्षेत्रबाट आउने फोहोरपानी प्रशोधन गरी सफा र स्वच्छ पानी बाग्मती नदीमा प्रवाह गर्ने उद्देश्यले केन्द्र निर्माण गरिएको हो । ललितपुरको धोवीघाटमा निर्माणाधीन दुईमध्ये प्रतिदिन तीन करोड ७० लाख लिटर फोहोरपानी प्रशोधन क्षमताको एउटा प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ ।
धोवीघाटकै अर्को फोहोरपानी प्रशोधन केन्द्रसहित कोड्कु र भक्तपुरको सल्लाघारीमा पनि फोहोरपानी प्रशोधन केन्द्र निर्माण जारी छ । निर्माणाधीन केन्द्रमध्ये धोविघाटकै अर्को केन्द्रको फोहोरपानी प्रशोधन क्षमता प्रतिदिन तीन करोड ७० लाख लिटर, कोड्कुको एक करोड ७५ लाख लिटर र सल्लाघारीको एक करोड ४२ लाख लिटर रहनेछ ।
त्यसैगरी, निर्देशनालयबाट ललितपुर महानगरपालिकाको समेत सहयोगमा ऐतिहासिक पाटन दरबार क्षेत्र र आसपासका क्षेत्रमा युनेस्कोको मापदण्डमा रहेर ढल प्रणाली निर्माण गरिएको छ । यस कार्यबाट उक्त ऐतिहासिक क्षेत्रमा वर्षायाममा सडक जलमग्न हुने र ढल तथा मङ्गल जाम हुने समस्या समाधान भएको प्रमुख उपाध्यायले बताए । निर्देशनालयले निर्माण सम्पन्न भएका पानीपोखरी, थोक वितरण प्रणाली र त्रिभुवन विश्वविद्यालय सहित कुल ३३ खानेपानी वितरण प्रणाली डिएमए मध्ये १४ वटाको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिसकेको छ ।
कीर्तिपुर र आरूबारीमा निर्माण गरिएका दुई पानीपोखरी तथा बाँकी रहेका १९ खानेपानी वितरण प्रणालीमध्ये ११ वटाको स्वामित्व हस्तान्तरण गर्ने तयारी रहेको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता विकेश बधानथाछेले जानकारी दिए। काठमाडौँ उपत्यकामा आगलागी नियन्त्रणका लागि सबै खानेपानी वितरण प्रणाली डिएमए हरूबाट दमकलमा पानी भर्न तथा सिधै पाइप जोडेर आगलागी नियन्त्रण गर्न सकिने गरी कुल ३४८ फायर हाइड्रेड प्रणालीको व्यवस्था गरेको निर्देशनालयले जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया