Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच वृद्धि

रातो कागज
2 दिन अघि

लुम्बिनी, १२ साउनः लुम्बिनी प्रदेश सरकारले मानसिक स्वास्थ्य तथा मनो सामाजिक रणनीतिक कार्ययोजना २०८१–२०८६ आज सार्वजनिक गरेको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको आयोजनामा आज प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आयोजित कार्यक्रममा कार्ययोजना सार्वजनिक गरिएको हो । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृतगगरी कार्ययोजना तयार पारी कार्यान्वयनमा लैजाने प्रदेशमा लुम्बिनी पहिलो भएको हो ।

मानसिक स्वास्थ्य सम्बन्धी समस्या दिनानुदिन गहिरिँदै गइरहेका बेला प्रदेश सरकारले दीर्घकालीन रणनीतिसहितको कार्ययोजना ल्याएको जनाएको छ । राष्ट्रिय सर्वेक्षणअनुसार लुम्बिनी प्रदेशका १३ प्रतिशत जनताले जीवनकालमा कुनै न कुनै मानसिक स्वास्थ्य समस्या भोगेका छन् भने हाल ५ दशमलव ४ प्रतिशतले यस्तो समस्या अनुभव गरिरहेका छन् ।

सात वटा प्रदेशमध्ये लुम्बिनी प्रदेश आत्महत्या दरको हिसाबले तेस्रो स्थानमा पर्छ । प्रदेशमा प्रति एक लाख जनसङ्ख्यामा २६ जनाले आत्महत्या गर्ने गरेको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य सेवाको पहुँच र माग दुवैमा उल्लेखनीय वृद्धि भएको देखिएको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७८÷८० मा १७ हजार सात सय ८८ जनाले मानसिक स्वास्थ्य सेवा लिएका थिए । आव २०८०÷८१ मा सेवा लिनेको सङ्ख्या दोब्बरभन्दा बढी बढेर ३५ हजार चार सय ११ पुगेको थियो ।

हालै सम्पन्न आर्थिक वर्ष २०८१÷८२ मा भने सेवा लिनेको सङ्ख्या ३४ हजार तीन सय ८५ रहेको मन्त्रालयले जनाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा केही कमी आए पनि पछिल्ला तीन वर्षको समग्र प्रवृत्तिले प्रदेशमा मानसिक स्वास्थ्य प्रति जनचेतना र सेवा उपयोगितामा विस्तार भइरहेको स्पष्ट सङ्केत गरेको देखिन्छ ।

कार्ययोजनाले मानसिक स्वास्थ्य सेवालाई समुदायमै पु¥याउने, मानव अधिकारको संरक्षण गर्ने, तथ्यमा आधारित सेवा प्रवाह गर्ने र सरकारी, निजी तथा गैरसरकारी निकायबीच सहकार्य र समन्वय बढाउने लक्ष्य राखेको सिएमसी नेपालका नीति, रणनीति तथा सुशासन प्रमुख हिमाल गैरेले जानकारी दिए ।

कार्य योजनामा ‘मानसिक स्वास्थ्य प्रवर्द्धन’ प्राथमिक क्षेत्रको रूपमा पहिचान गरिएको छ । विद्यालय र बालबालिकालाई लक्षित गर्दै मानसिक स्वास्थ्य सम्बन्धी विशेष कक्षा, पाठ्यक्रम समायोजन, अभि मुखीकरण तथा परामर्श सेवा, खेलकुद, स्वास्थ्य प्रदर्शनी, ¥याली, योग प्रशिक्षण, तथा जीवन सीप अभिवृद्धि जस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीतिक कार्ययोजना सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश सरकारले तयार पारेको ‘मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्ययोजना २०८१–२०८६ केवल किताबमै सीमित हुन नहुने बताए । उनले प्रदेश सरकारको रणनीतिक योजना व्यवहारमा लागू गरेर जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले समीक्षा गर्दा हरेक सूचक तथ्याङ्कमा आधारित भएर गर्न जरुरी रहेको र काम नभएको ठाउँमा सुधार आवश्यक रहेको बताए । उनले सामाजिक, मानसिक स्वास्थ्य लगायत सबै प्रकारका सचेतना अभियान गाउँबस्ती र विद्यालय तहसम्म पु¥याउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रदेश सरकारले रणनीतिक योजना कार्यान्वयनमा अगाडि बढिसकेको जानकारी दिए । उनका अनुसार, उक्त योजनाअनुसार नर्स तथा मनो सामाजिक परामर्श दाताहरूलाई आवश्यक तालिम प्रदान गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले मानसिक स्वास्थ्य परामर्श सेवा प्रभावकारी बनाउनेतर्फ अझ प्रयास गर्नुपर्ने आवश्यकता औँल्याए।

प्रमुख सचिव बाबुराम अधिकारीले मानसिक स्वास्थ्यलाई समग्र स्वास्थ्यको आधार मान्नुपर्नेमा जोड दिए। कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठ, स्वीस सरकारका प्रतिनिधिका रूपमा प्रतिज्ञा सिम्खडा, सिएमसी नेपालका प्राविधिक निर्देशक डा पशुपति महत, स्वास्थ्य सेवा निर्देशक रोशनलाल चौधरी लगायतले मानसिक स्वास्थ्य जस्ता विषयलाई न्यूनीकरण गर्न सबैपक्ष गम्भीर हुनुपर्नेमा जोड दिए ।

कार्यक्रम लुम्बिनी प्रदेश सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालय र सिएमसी नेपालको आर्थिक तथा प्राविधिक साझेदारीमा आयोजना गरिएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया