Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

‘सामाजिक सुरक्षाको अवधारणा र महत्वबारे बुझ्न जरुरी’

रातो कागज
2 घण्टा अघि

काठमाडौं । सञ्चारकर्मीहरूका लागि सामाजिक संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा यही साउन ९ र १० गते काठमाडौँको बौद्धमा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम भएको हो ।

त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठले नेपालको सामाजिक सुरक्षाको समग्र अवस्थाबारे जानकारी दिँदै यसको अवधारणा, पहुँच र महत्वबारे जानकारी दिएका थिए ।

त्यसैगरी राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका सानुबाबु अधिकारीले गैह्र योगदानमा आधारित सामाजिक सुरक्षा, कानुनी प्रावधान र डाटा व्यवस्थापनका विषयमा जानकारी गराएका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षा कोषका उपनिर्देशक रोहित रेग्मीले योगदानमा आधारित सामाजिक सुरक्षाको नीतिगत प्रावधानबारे जानकारी दिँदै सामाजिक सुरक्षाको प्रयोग गरी यसबाट प्राप्त हुने सुविधाहरू लिन आग्रह गरेका थिए ।

उनले बिरामी हुँदा, दुर्घटनामा पर्दा, अशक्त हुँदा, मृत्यु हुँदा, बुढेसकालमा कमाउन नसक्दा, बेरोजगार हुँदा तथा गर्भावस्था वा सुत्केरी हुँदा सामाजिक सुरक्षा कोषले सहयोग गर्ने जानकारी दिए ।

यसैगरी सेभ द चिल्ड्रेनका हेमन्त दँगालले विपद् संवेदनशील सामाजिक सुरक्षा र यसको अवधारणाबारे जानकारी दिँदै पछिल्लो समय विपद्को प्रकारसँगै यसबाट प्रभावित हुनेहरूको संख्या बढिरहेको बताएका थिए ।

विपद्पछि त्यसबाट प्रभावित कति हो भनेर यकिन गर्न समय लागिरहेको भन्दै उनले विपद् संवेदनशील सामाजिक सुरक्षा थुप्रै उपायहरूमध्ये उपयुक्त उपाय भएको बताएका थिए ।

यसैगरी कार्यक्रममा बोल्दै सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका अध्यक्ष तिलोत्तम पौडेलले विपद्सँगै सामाजिक सुरक्षाका विषयमा धेरैलाई जानकारी हुन नसकेको भन्दै यसको विषयमा सबैलाई जानकारी हुन आवश्यक रहेको बताएका थिए ।

उनले यसको विषयमा आम नागरिकलाई जानकारी गराउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने भन्दै उनले विपद् र सामाजिक सुरक्षाको क्षेत्रमा कलम चलाउने पत्रकारलाई पुरस्कृत गर्नेगरी तयारी भइरहेको जानकारी दिएका थिए ।

त्यस अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणका उपसचिव गोमादेवी चेम्जोङले राष्ट्रिय विपद् जोखिम तथा न्यूनीकरण सम्बन्ध मापदण्डका विषयमा विस्तृत जानकारी दिएका थिए ।

यसैगरी पिपुल इन निडका नवीन श्रेष्ठले विपद् जोखिम वित्तीय व्यवस्थापनको विषयमा जानकारी दिएका थिए भने कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक विजय पौडेलले सञ्चारमाध्यमले विपद् र सामाजिक सुरक्षाका विषयमा कसरी कलम चलाउन सकिन्छ भनेर जानकारी गराएका थिए ।

त्यस अवसरमा विद्यमान प्रणालीभित्रका मुख्य चुनौती, कमजोरी र अवसरहरू उजागर गर्ने, सञ्चारकर्मीहरूबाट सुझाव संकलन गरी सामाजिक संरक्षण नीतिको प्रभावकारी सञ्चार र वकालतबारे छलफल गरिएको थियो ।

यसैगरी कार्यान्वयनको अवस्था, योगदानमा आधारित योजनामा सञ्चालित कार्यक्रमहरू, विपद् संवेदनशील सामाजिक सुरक्षाको अवधारणा र यसको मापदण्ड र समूहगत कार्यः पहुँच, समानता, कार्यान्वयन चुनौती र सञ्चारको भूमिका विश्लेषणबारे छलफल भएको थियो ।

विभिन्न सञ्चारमाध्यमका ३० जना पत्रकार सहभागी कार्यक्रमको सहजीकरण सामाजिक सुरक्षा नागरिक समाज सञ्जालका कार्यक्रम व्यवस्थापक राजेन्द्र चौलागाईंले गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया