नेपाल न्युज बैंक

रामेछाप । रामेछाप नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सुकाजोरको बहुउद्देश्यीय कवर्डहल निर्माणको योजना आर्थिक अभावको कारण अलपत्र परेको छ ।
रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहलसहितको खेल मैदान निर्माण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ ।
राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा निर्माण सुरु भएको सो आयोजनामा पाँच करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ । तर योजनाको निर्माण कार्य सम्पन्न नहुँदा प्रयोगमा आउन सकेको छैन ।
सो कवर्डहल र खेल मैदान निर्माणको लागि सुरुमा पाँच करोड रुपैँया बजेट खर्च भएको थियो । जसबाट इनडोर गेम खेल्न मिल्ने बहुउद्देश्यीय कवर्डहल बनेको छ । त्यसबाट खेल मैदान लगाएका केही संरचनाको काम पनि भएको थियो ।
रामेछाप नगरपालिकाले खेल मैदानको लागि गत वर्ष २५ लाख रुपैँया विनियोजन गरेको थियो । खेल मैदानको लागि धेरै जमिन खार्नु पर्ने तथा टेवा पर्खालहरू लगाउनु पर्ने भएको कारण विनियोजित बजेटबाट काम पूरा हुन सकेन ।
अहिले कवर्डहल र खेल मैदानको माथिल्लो भागमा जमिन बग्नबाट जोगाउन टेवा पर्खाल लगाउनुपर्ने छ भने तल्लो भागमा पनि पर्खाल लगाएर उकास्नु पर्ने अवस्था छ ।
खेल मैदान बनाउन खनिएको माटोको डङ्गुर थुप्रिएर बसेको छ । त्यो हटाउन पनि लाखौँ रुपैँया खर्च हुने अवस्था छ । त्यसको लागि यस वर्ष वडा कार्यालयले जम्मा १० लाख रुपैँया विनियोजन गरेको छ ।
त्यो रकमबाट एक छेउ पनि काम हुन सक्ने अवस्था नहरेको रामेछाप नगरपालिकाका स्थानीय समेत रहेको पत्रकार बद्री नयाँघरे बताउँछन् । ‘नगरको गौरवको आयोजनाको अवस्था यस्तो हुनु नगरवासीकै लागि दुःखको कुरा हो, यसमा सबैको ध्यान जान आवश्यक छ’, उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया