Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउमा सुरु

रातो कागज
2 महिना अघि

हेनान चीन, ९ साउनः साङ्घाई सहयोग सङ्गठन साङ्घाई कोअपरेसन अर्गनाइजेसन–एससीओ का सदस्य राष्ट्रका प्रमुखहरूको २५औँ बैठकको पूर्वसन्ध्यामा चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन सुरु भएको छ ।

यही साउन ७ देखि ११ गतेसम्म चल्ने यो सम्मेलनमा विभिन्न मुलुकका ४०० भन्दाबढी बौद्धिक व्यक्तित्व तथा सञ्चार प्रतिनिधिहरू सहभागी छन् ।

आयोजक पक्षका अनुसार सम्मेलनमा रणनीतिक समन्वय तथा क्षेत्रीय सुरक्षालाई मजबुत बनाउने, विश्वव्यापी चुनौतीको समाधान खोज्ने, साझा समृद्धिका पक्षमा सहयोग र सहकार्य गर्ने, आपसी सम्बन्ध विस्तार गर्ने तथा आआफ्ना क्षेत्रमा हासिल गरेका अनुभव आदानप्रदान गर्ने विषयमा छलफल तथा विचारविमर्श हुनेछ ।

यसैगरी, सामाजिक तथा सांस्कृतिक सभ्यताबीचको ज्ञान र सिकाइबाट लाभान्वित हुने तथा बहुपक्षीय सहकार्य, समानता, न्याय र साझा भविष्य निर्माणको सन्देश प्रवाह गर्ने सन्दर्भमा सम्मेलन केन्द्रित हुनेछ ।

सो सम्मेलनका क्रममा मुख्य बैठक सहित समानान्तर सत्रहरू, सांस्कृतिक कार्यक्रम र अनुभवको आदानप्रदान, सांस्कृतिक कार्यक्रम, प्रदर्शनी समेत सञ्चालन हुनेछन् ।

यसैगरी, साझा सहमतिसहित महत्वपूर्ण दस्तावेजहरू सार्वजनिक गरिने भएको छ । जसमा ‘एससीओ मिडिया तथा थिङ्क ट्याङ्क सम्मेलन झेङ्झाउ सहमति’ रहेको छ । चिनियाँ दर्शन, सांस्कृतिक सम्पदाको संरक्षणलगायत विषयमा विभिन्न अनुसन्धानात्मक प्रतिवेदनहरु समेत सम्मेलनका क्रममा सार्वजनिक हुने बताइएको छ ।

अप होल्डिङ द साङ्घाई स्प्रिट टु बिल्ड अ मोर ब्युटीफूल होम’ भन्ने नारासहित सुरु भएको सो अन्तरराष्ट्रिय सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति रासस र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्षले प्रतिनिधित्व गरेका छन । त्यस्तै मित्रराष्ट्र चीनको हेनान प्रान्तको झेङ्झाउ सहरमा जारी सो सम्मेलनमा नेपालका विभिन्न आम सञ्चार माध्यमका प्रतिनिधि तथा सरकारी अधिकारीहरु समेत सहभागी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया