रासस

दमौली तनहुँ, ८ साउन ः यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् ।
केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताए । कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनको गुनासो छ ।
पौडेलका अनुसार कार्यालयमा एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन ।
उनले भने, ११ जिल्ला कार्यक्षेत्र हुँदा कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न सकिएको छैन । कार्यालयको मुख्य काम रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग गर्नु हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालन सम्बन्धी सीप सँगै च्याउखेती तालिम प्रदान गर्दै आइरहेको छ ।
कार्यालयले गत आर्थिक वर्ष २०८१र८२ मा १३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । कार्यालयको च्याउ ल्याबमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ । ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।
पौडेलका अनुसार कार्यालय परिसरमा करिब १०० केजी खायन च्याउ उत्पादन गरिएको र कार्यालयबाटै बिक्री गरिएको छ । कार्यालयले यस आवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ । त्यसैगरी १८३ कृषकलाई च्याउ खेती सम्बन्धी तालिम दिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया