रासस

कीर्तिपुर काठमाडौँ, ७ साउनः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कसैले चाहँदैमा आफ्नो पार्टीको अस्तित्व समाप्त नहुने धारणा राखेका छन् ।
पुष्पलाल स्मृति प्रतिस्ठानद्वारा आज कीर्तिपुर नगरपालिका–४ स्थित पुष्पलाल स्मृति पार्कमा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले समाजवाद प्राप्तिको आन्दोलनमा पुष्पलालको प्रेरणा बमोजिम अघि बढ्नुपर्ने उनले बताए ।
पुष्पलालले तत्कालीन सामाजिक परिस्थितिको सही विश्लेषण गरेका उल्लेख गर्दै उनले आफूले पनि नेकपा एमालेको नेतृत्व गर्दा सही विश्लेषण गरी गणतन्त्रमा जाने निर्णय गरेको जानकारी दिए ।
त्यतिबेला उक्त निर्णयविरुद्ध धारणा राख्नेहरू थिए, उनले भने, “त्यसअघि मदन भण्डारीले पनि परिस्थितिलाई ठीक ढङ्गले बुझेका थिए । तपाईँहरूले पनि ठिक ढङ्गले बुझ्नुपर्छ । निराशा फैलाउने काम कसैले गर्नु हुँदैन ।
पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले राजतन्त्रको अन्त्यसँगै मुलुकमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भए पनि दलाल नोकर शाही पुँजीवाद हाबी भएको बताए ।
पार्टीका नेता वामदेव गौतमले नेपाली कम्युनिष्ट आन्दोलनका सबै उपलब्धि पुष्पलालको योगदानको जगमा भएको बताए । आफूले कम्युनिष्ट पार्टीको कार्यकर्ताका रूपमा काम गर्नका लागि एकीकृत समाजवादी सँग एकता गरेको बताउँदै आफूलाई समय सापेक्ष काम दिन पार्टी नेतृत्वलाई आग्रह गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया