रातो कागज

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व सांसद कृष्णभक्त पोखरेलले कांग्रेस–एमालेको सत्ता गठबन्धन आगामी २०८४ सम्म कायम रहने दाबी गरेका छन् ।
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले भने,‘यो गठबन्धनको अहिले विकल्प छैन ्। ०८४ सम्म नै यो गठबन्धन ढुक्कसँग जान्छ । तलमाथि हुने कुनै सम्भावना छैन ।’
उनले नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले दलको नेता बन्ने हैसियत नै नराख्ने टिप्पणी गरे । उनले भने,‘उहाँ शेखर कोइरालाले आफ्नो दलभित्र त्यो हैसियत राख्नुहुन्न । अर्को वैकिल्पक सरकार बन्ने कुरा सपनामा पनि नसोचे हुन्छ । त्यस्तो सम्भावना देख्दिनँ ।’
उनले वैकल्पिक सरकार बन्ने सवालमा आफ्नो पार्टीभित्रबाट कुनै विद्रोह नहुनेसमेत ठोकुवा गरे । उनले भने,‘हाम्रो पार्टीभित्र विद्रोह हुँदैन । विद्या भण्डारीले विद्रोह गर्न सक्नुहुन्न । उहाँको चरित्र त्यस्तो छैन । अहिले केपी ओलीको नेतृत्व हुँदाहुँदै विद्रोह गर्ने अवस्था छैन ् ।’
नेता पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टी सदस्यता नवीकरण गरेको कुरा साँचो भएको स्पष्ट पारे । उनले भने,‘उहाँले पार्टी सदस्यता नवीकरण गर्नुभएको छ, यो कुरा संगठन विभाग प्रमुखले भन्नुभएको छ । उहाँले पनि भन्नभुएको छ ।’ उनले अहिले देखिएको ओली र भण्डारीबीचको विवादको सेटलमेन्ट चमत्कारिक रुपमा हल हुने ठोकुवा गरे ।
पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा फर्किने विषयले अहिले सिंगो मुलुक नै तरंगित भएको उल्लेख गरे । तर, एमाले केन्द्रीय कमिटी बैठकपछि यस विषयमा एउटा निश्कर्षमा पुग्ने उनले जानकारी दिए ।
भारत र चीनले ठूलो आर्थिक फड्को मारेको दृष्टान्त पेश गर्दै उनले नेपालले समृद्धिको यात्रामा फड्को मार्न नसकेकोमा भने चिन्ता व्यक्त गरे ।
उनले आफूहरुले संविधान बनाउँदा नै धेरै मेहनत गरेको र दुनियाँको कुनैपनि संविधानभन्दा कम नरहेको जिकिर गरे । उनले भने,‘अब संविधान संशोधन समय आएको छ । दुनियाँको कुनै पनि संविधानभन्दा कम नहुनेगरि संविधान लेख्यौं । तर, कार्यान्वयनको चरणमा हेर्दा हामी सन्तुष्ट हुने अवस्था छैन । प्रतिनिधिसभामा पनि संख्या घटाउने हो । मन्त्रालय घटाउने हो । प्रतिनिधिसभा पूर्णतयः प्रत्यक्ष हुनुपर्छ । तर, त्यसमा सबैको महिला, दलितलगायतको टिकट सुनिश्चित् हुनुपर्छ । राष्ट्रियसभालाई पूर्ण समानुापतिक बनाउनुपर्छ ।’
उनले मन्त्रीहरु घुस र भ्रष्टाचारमा मुछिएको विषयमा राजीनामा दिएरमात्रै नहुने भन्दै अभियोजन गरेर दण्डित गरिनुपर्ने आवाज उठाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया