रातो कागज

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानव अधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूहरु लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन् ।
प्रगतिशील कानुन व्यवसायीहरुको अन्तर्राष्ट्रिय सम्मेलनलाई आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आफूहरु लोकतन्त्रको स्थापनाका लागि लडेर आएको र अहिले सरकारको नेतृत्वमा रहेकाले कहिल्यै लोकतन्त्र र मानवअधिकारका मूल्य, मान्यता आयामलाई उल्लङ्घन नगर्ने र यसको उचित संरक्षण गर्ने स्पष्ट गरे ।
‘हामी संयुक्त राष्ट्रसङ्घको वडापत्र, मानवअधिकारको विश्वव्यापी घोषणापत्र र अन्तर्राष्ट्रिय सम्बन्धका आयामका साथै नेपालको सन्तुुलित परराष्ट्र नीतिमा आधारमा अघि बढिरहेका छौँ । हाम्रा कोही शत्रुु छैनन्, हामी सबैसँग मित्रता राख्र्छौँ । हामी यो वा त्यो पक्षमा हुँदैनौँ तर हामी शान्ति र लोकतन्त्रका पक्षमा स्पष्ट छौँ ।’, प्रधानमन्त्री ओलीले भने ।
उनले जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समधानका लागि लाग्ने भन्दै गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन नसक्ने समेत बताए ।
उनले भने, ‘हामी जनताले दैनिक जीवनमा भोग्दै आएका समस्याहरुको समाधानार्थ लाग्नेछौँ । गरिबीको अन्त्यविना मानव अधिकार स्थापना हुन सक्दैन । त्यसका लागि सीमान्तकृत समुदायको सामाजिक न्याय र समता अभिवृद्धिका लागि हामी कटिबद्ध रहनेछौँ ।’
उनले सम्मेलनबाट प्राप्त हुने उचित निष्कर्षहरुलाई सरकारले ग्रहण गर्ने विश्वास समेत दिलाए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया