नेपाल न्युज बैंक

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको ७५औं जन्म जयन्ती मनाउन मूल समारोह समिति गठन गरिएको छ । मंगलबार काठमाडौंमा मदन भण्डारीको ७५ औं जन्मजयन्ती मनाउने सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा डोरमणि पौडेलको संयोजकत्वमा समिति बनेको जानकारी दिइएको हो।
मदन भण्डारी फाउन्डेसनले जन्म जयन्ती मनाउने विषयमा जानकारी दिन आयोजना गरेको कार्यक्रममा यसबारे जानकारी दिइएको हो । जन्म जयन्ती मनाउन विभिन्न कार्यक्रमहरू ०८२–०८३ भर गरिने बताइएको छ । त्यस्तै ०८४ मा भने जन्म जयन्ती कार्यक्रमको समीक्षासहित अन्त्य गरिने जनाइएको छ ।
मूल आयोजक समितिमा अहिले ७५ सदस्य रहेको र पछि थप गरिने बताइएको छ । त्यस्तै सल्लाहकार समिति पनि छिटै गठन गरिने भनिएको छ । कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको विधान महाधिवेशनमा आफ्नो उपस्थित कुन रुपमा हुने भन्ने निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् ।
उनले नेकपा एमालेको सदस्यता नविकरण गरिसकेको र नेकपा एमालेको परिवारमा नै जोडिएर देशको सेवागर्ने उनले बताइन् । ‘यहाँहरुले मसँग सम्बन्धित प्रश्न गर्नुभएको छ । मैंले पहिला पनि भनि सकेको छु, एमालेको सदस्यता नवीकरण गरिसकेको छु । एमालेको परिवारमा जोडिएर देशको सेवा गर्ने भनेको नै छु । मेरो उपस्थिति उहाँहरूले कसरी गराउनुहुन्छ केन्द्रीय कमिटीले निर्णय गर्ने कुरा हो । प्रतिनिधि वा आमन्त्रित सदस्यको रुपमा केमा बोलाउनुहुन्छ, उहाँहरुको कुरा हो,’उनले भनिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया