Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

नेपाल बौद्धिक परिषद्ले ‘माक्र्सवादी स्कुल’ संचालन गर्ने

नेपाल न्युज बैंक
3 घण्टा अघि

काठमाडौं । नेपाल बौद्धिक परिषद्ले आगामी योजनाहरु सार्वजनिक गरेको छ । परिषद्ले ‘माक्र्सवादी स्कुल’ नियमित गर्ने, दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरुको सम्मेलन आयोजना गर्नेलगायतका कार्ययोजनाहरु अघि सारेको छ ।

 

परिषदको क्षमता विस्तारलाई केन्द्रीत गरी केही महत्वपूर्ण निर्णयहरु पनि सार्वजनिक गरेको छ ।
सोमबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै परिषदले ‘सकारात्मक सोच–सुखी नेपालीको आधार, आर्थिक सामाजिक रुपान्तरण–बुद्धिजीवीको कार्यभार’ भन्ने मुल नाराका साथ ११ औं राष्ट्रिय अधिवेशन पश्चात दोस्रो केन्द्रीय कमिटी बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्दै भावी योजना पनि सुनाएको हो ।

 

निर्णयमध्य नेपालको आगामी बाटो, नेकपा (एमाले) को आगामी बाटो र नेपाल बौद्धिक परिषद्को आगामी बाटो सम्बन्धि निर्णयहरु सार्वजानिक भएका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले ‘समृद्ध नेपाल, सुखी नेपाली’को विस्तृत अवधारणा निर्माण गर्ने, ’बौद्धिक बहस’लाई विस्तारित गर्ने योजना रहेको पनि सुनाए ।

 

नेपालको आगामी बाटो विद्यमान राजनीतिक प्रणालीमा प्रवेशसँगै नेपाल र नेपाली जनताले हासिल गरेका सफलताका कथा, तथ्य, तथ्यांक र उपलब्धिलाई जनताले बुझ्ने भाषा र शैलीमा बताउनुपर्ने नेपाल बौद्धिक परिषद्की डां टीका ढकालले बताइन् ।

 

नेकपा (एमाले) को आगामी बाटो’ पार्टीलाई उपयुक्त सुझाब दिने गरी आवश्यक बौद्धिक व्यक्तित्वहरुको सहयोगमा अगाडि बढ्ने कार्ययोजना ल्याउनुका साथै पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान गरिने जानकारी गराइयो ।

नेपाल बौद्धिक परिषद्
केन्द्रीय कमिटी काठमाडौं
प्रेस विज्ञप्ति

 

देशभरिका देशभक्त, प्रगतिशील र द्वन्द्वात्मक भौतिकवादमा विश्वास गर्ने बौद्धिक व्यक्तित्वहरूको सङ्गठन नेपाल बौद्धिक परिषद्ले ’सकारात्मक सोच–सुखी नेपालीको आधार, आर्थिक सामाजिक रुपान्तरण–बुद्धिजीवीको कार्यभार’ भन्ने मुल नाराका साथ २०८२ जेठ १७–१८ मा सम्पन्न ११ औं राष्ट्रिय अधिवेशनपश्चात निर्वाचित कमिटीको २०८२ असार २८ गते, काठमाडौंमा बसेको दोश्रो केन्द्रीय कमिटी बैठकले नेपाल राष्ट्रको हीत, पार्टीको अभियानमा सहयोग तथा बौद्धिक परिषदको क्षमता विस्तारलाई केन्द्रीत गरी बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरु सार्वजनिक गर्न यो पत्रकार सम्मेलन आयोजना गरिएको हो ।

 

१. नेपालको आगामी बाटो
नागरिक सर्वोच्चता तथा संघीय राज्य प्रणाली सहितको नेपालको संविधान २०७२ एक दशकदेखि क्रियाशील छ । देशमा लोकतन्त्र स्थापनापश्चात भौतिक तथा आर्थिक–सामाजिक विकासले तिव्रता लिएको छ । नेपालको इतिहासमै सबभन्दा रफ्तारमा देश प्रगतिको मार्गमा हिंडिरहेको वर्तमान अवस्थामै विडम्वनास्वरुप जनतामा अत्यधिक निराशा छ र त्यो निराशाले व्यवस्थाप्रति प्रश्न उठाउन थालेको देखिन्छ । विशेषगरी युवा पंक्तिहरु विभिन्न सामाजिक माध्यममार्फत राजनीती र देशप्रति वितृष्णा पोखिरहेका छन् । नीति बनाउने थलो संसदमा सांसदको भूमिकाप्रति पनि आशंका जन्माउने कयौं दृष्टान्तहरु देखिएका छन् । विभिन्न अध्यादेशहरु संसदमा गएर लामो समय रोकिने र पारित भएर आएका ऐनप्रति पनि जनताको तहमा असन्तुष्टि देखिन्छ । विभिन्न मन्त्रालयहरुमा र राज्य संचालनमा चाहिने विभिन्न नीति नियमहरुको गहन अध्ययन अनुसन्धान गर्नुपर्ने कुरा नेपाल बौद्धिक परिषद्ले महशुस गरेको छ । अबका दिनमा परिषद्ले ती बनाउनु पर्ने र बनेका नीति नियमहरुको अध्ययन अनुसन्धान गरी पार्टीलाई उपयुक्त सुझाब दिने र पार्टीको माध्यमबाट व्यवस्थापिका र कार्यपालिकाको कार्यक्षमता अभिवृद्धि गराउने काममा योगदान गर्नुपर्नेछ ।
साथै, विद्यमान राजनीतिक प्रणालीमा प्रवेश सँगै नेपाल र नेपाली जनताले हासिल गरेका सफलताका कथा, तथ्य, तथ्यांक र उपलब्धिलाई जनताले बुझ्ने भाषा र शैलीमा बताउनुपर्ने आवश्यकता छ । यस विषयमा काम गर्न विषय विज्ञको समूह सहित अगाडि बढ्ने कार्ययोजना अगाडि बढाईनेछ ।

 

२. नेकपा (एमाले) को आगामी बाटो
नेपाल र नेपालीको सर्वाङ्गिण विकासका लागि योजना, सपना र प्रतिबद्धता भएको नेपालको एक मात्र पार्टी नेकपा (एमाले)को दोश्रो विधान अधिवेशन तथा एघारौं राष्ट्रिय महाधिवेशनको समिपमा छौं । यतिबेला नेकपा (एमाले)लाई चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको छ । नेता, कार्यकर्ता र जनताको यस पार्टीप्रति आकर्षण बढाउन, सिजर्नशीलता र लगनशीलताको विकास गराउन, संसदमा बहुमत सहित राष्ट्रको आमुल परिवर्तन गर्न सक्ने शक्ति बनाउन बौद्धिक परिषद्ले पार्टीका सबल तथा पार्टीभित्र सुधार गर्नुपर्ने पक्षहरु जनताबाट खोज अनुसन्धान गरी पार्टीमा वास्तविक अवस्थाको चित्रण गर्नुपर्नेछ । ’नेकपा (एमाले) को आगामी बाटो’ शिर्षकभित्र पार्टीलाई उपर्युक्त सुझाब दिने गरी आवश्यक बौद्धिक व्यक्तित्वहरुको सहयोगमा अगाडि बढ्ने कार्ययोजना ल्याईनेछ । र, पार्टीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान गरिनेछ ।

 

३. नेपाल बौद्धिक परिषद्को आगामी बाटो

३.१. ’माक्र्सवादी स्कुल’ नियमित रुपमा सञ्चालन गर्ने
३.२ दक्षिण एशियाली प्रगतिशील बुद्धिजीवीहरुको सम्मेलन आयोजना गर्ने
३.३ ’समृद्ध नेपाल, सुखी नेपाली’को विस्तृत अवधारणा निर्माण
३. ४. ’बौद्धिक बहस’लाई विस्तारित गर्ने
३.५ सांगठनिक गतिबिधिहरुलाई अभिलेखिकरण तथा प्रोत्साहन गर्न ई–बुलेटिन प्रकाशन ३.६. नियमित रुपमा ई–भर्सनमा ’बौद्धिक आवाज’ प्रकाशन गर्ने
३.७. दोश्रो अधिवेशन सम्पन्न गरिसकेका बागमती र मधेश प्रदेश बाहेकका ५ वटा प्रदेशहरुको अधिवेशन आगामी मंसिर महिनाभित्र सम्पन्न गर्ने ।
३.८. नेपालको समृद्धि र राष्ट्रिय जीवनमा योगदान गर्न सक्ने नेपालका बौद्धिक व्यक्तित्वहरुको रोस्टर बनाउने ।
३.९. परिषद्का विभिन्न कमिटी, अध्ययन केन्द्र तथा विभागहरुको क्रियाशिलता तथा परिषद्को उद्देश्य प्राप्तिका लागि गरिने क्रियाकलापहरुको वैज्ञानिक विधिबाट मूल्यांकन गरी आगामी १२ औं राष्ट्रिय अधिवेशन उत्कृष्ट कमिटी, विभाग तथा अध्ययन केन्द्रलाई पुरस्कृत गर्ने ।
३.१० अन्य सांगठनिक योजना

१. अन्तर अध्ययन केन्द्र अन्तरक्रिया
२. विषय केन्द्रीत बहस, अन्तरक्रिया, कार्यशाला
३. पार्टी तथा जनसंगठनका आयोगहरुबीच अन्तरक्रिया
४.अन्तर प्रदेश अन्तरक्रिया
५.अन्तर विभाग अन्तरक्रिया
६.राष्ट्रिय कार्यशाला
७. प्रज्ञान्तरण प्रकाशन

जर्नल प्रकाशन
९. राष्ट्रिय प्रतिनिधि परिषद्
१०. विषय केन्द्रीत अन्तरक्रिया, सेमिनार, कार्यशाला
११. पालिका गठन तथा अधिवेशन
१२. प्रदेश अधिवेशन (बागमती र मधेश प्रदेश बाहेक सबै)
१३. प्रदेश तथा जिल्ला प्रकाशन

३.११ नेपाल बौद्धिक परिषद्को सचिवालयमा १० सदस्य थप गरी १९ सदस्यीय सचिवालय गठन गरियो । त्यसैगरी केन्द्रीय कमिटीमा ११ सदस्य थप गरिएको छ भने सल्लाहकार परिषद् २४ जना मनोनयन गरिएको छ । सचिवालय सचिवको जिम्मेवारी सचिव (विदेश) डा. ल्हाक्पा शेर्पा (सम्पर्क नं ९८५११०७३५५) र कार्यालय सचिव शम्भु भट्ट (सम्पर्क नं ९८४८८५३७२२) लाई जिम्मेवारी दिईएको छ । ’समृद्ध नेपाल, सुखी नेपाली को राष्ट्रिय आकांक्षा हासिल गर्न नेपाल बौद्धिक परिषद्को सम्पूर्ण सामथ्र्य उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं, धन्यवाद’’ ।
डा. टीका ढकाल सचिव (प्रचार)

 

फेसबुकबाट तपाईको प्रतिक्रिया