Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

उच्च अदालत पाटनले १८ महिनाभित्र सबै मुद्दा फछ्र्यौंट गर्ने

नेपाल न्युज बैंक
6 घण्टा अघि

काठमाडौं । उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले अदालतको समग्र प्रगती सकारात्मक रहेको बताएका छन् । बिहीबार सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा उनले अदालतले निर्धारित लक्ष्यहरू योजनाअनुसार हासिल गर्दै गएको जानकारी दिएका हुन् ।

 

मुख्य न्यायाधीश कुँवरका अनुसार साउन १ गते, २०८१ सालदेखि कार्यान्वयनमा ल्याइएको न्यायपालिकाको रणनीतिक योजनाले सबै अदालतमा सकारात्मक प्रभाव पारेको छ ।
‘उच्च अदालत पाटनले विशेषतः लक्ष्य प्राप्तीमा सन्तोषजनक प्रगति गरेको छ,’ उनले भने, ‘योजनाले राखेको लक्ष्य प्राप्तीतर्फ हाम्रो प्रयास र उपलब्धी दुवै उन्मुख छन् ।’

 

उनले उच्च अदालत पाटनले सबै उपलब्धीहरू हासिल गर्न सफल भएको र चालु योजनाअनुसार नै लक्ष्य पूरा गरेको बताए । हाल अदालतमा जम्मा ५ हजार ७०० मुद्दा बाँकी रहेकामा तीमध्ये करिब ४३० मात्र एक वर्षभन्दा पूराना रहेको जानकारी उनले दिए ।

 

मुख्य न्यायाधीश कुँवरले आगामी वर्षमा सबै मुद्दा १८ महिनाभित्र फछ्र्यौंट गर्ने लक्ष्यसहित अदालत अघि बढ्ने बताए ।
‘अहिले हामीसँग ५ हजार ७०० मुद्दाहरु बाँकी छ । त्यसमा एक वर्ष नाघेका मुद्दाहरु करिब ४३० थान मात्रै हुन् अरु सबै एकवर्ष भित्रकै मुद्दाहरु छन् । त्यसकारणले आगामी वर्षमा हामीले १८ महिनाभित्रै राखेर मुद्दाहरुलाई फच्छर्यौंट गर्ने र १८ महिना नाघ्न नदिने गरी लक्ष्य निर्धारण गरेर अगाडि जानको लागि एउटा आधार तयार भएको छ,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया