Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण

रासस
4 घण्टा अघि

काठमाडौँ, २० असार । नेपालमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समयमा नेपालमा कोभिड–१९ को सङ्क्रमण विभिन्न जिल्लामा देखिन थालेको छ ।

 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का अनुसार २०८१ पुस १७ गतेदेखि २०८२ असार १९ गतेसम्म नेपालका ३१ जिल्लामा कोभिड-१९ सङ्क्रमण पुष्टि भएको छ । हालसम्म कोभिड–१९ का दुई सय ४९ जनामा कोरोना सङ्क्रमण देखा परेको छ । एक हप्तामा ३५ जनामा कोरोना सङ्क्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोभिड–१९ बाट एक जनाको मृत्युसमेत भइसकेको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोभिड-१९ सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्त्रालयले देशभर १७ सीमा नाकामा रहेका हेल्थ डेस्कमा कोभिड–१९ को निगरानीलाई थप प्रभावकारी बनाएको बताए। उनले भने–“सबै सीमा नाकाका हेल्थ डेस्कमा कोभिड–१९ आरडिटी विधिबाट परीक्षण भइरहेको छ ।”

 

कोभिड–१९ लगायत श्वास–प्रश्वासका माध्यमबाट सर्ने अन्य विभिन्न सङ्क्रामक रोगबाट सुरक्षित हुन मास्क लगाउने, साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने,व्यक्तिगत सरसफाइमा ध्यान दिने जस्ता मापदण्ड अपनाउन अनुरोध गरिएको छ । उनले कोभिड–१९ प्रभावित क्षेत्रबाट आएका र कोभिड–१९ सँग मिल्दाजुल्दा लक्षण भए ‘सेल्फ क्वारिन्टाइन/आइसोलेसन’मा बस्न आग्रह गरे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया