Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

नेपाल न्युज बैंक
4 हप्ता अघि

काठमाडौं । रिक्त रहेको रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचन आगामी कात्तिक १७ गते सोमबारका दिन हुने भएको छ । निर्वाचन आयोगले सोमबार एक विज्ञप्तिमार्फत प्रतिनिधि सभा सदस्य दिपक बोहराको मिति २०८१/१२/१९ मा निधन भएकाले उक्त स्थानमा उपनिर्वाचन गर्न मिति तय गरेको हो ।

 

आयोगकी सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘रुपन्देही जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.३ बाट निर्वाचित माननीय प्रतिनिधि सभा सदस्य श्री दिपक बोहराको मिति २०८१/१२/१९ मा निधन भई नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधि सभा सदस्य पद एक रिक्त भएको भनी संघीय संसद सचिवालयको पत्र संख्या ०८१/०८२, च.नं. ४६, मिति २०८१/१२/३१ को पत्रबाट आयोगलाई जानकारी प्राप्त भएको थियो।

 

प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहदै प्रतिनिधि सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानको धारा ८४ को उपधारा ७ अनुसार उपनिर्वाचनको मिति तोक्नुपर्ने संवैधानिक एवं कानूनी व्यवस्था रहेको छ। उपरोक्त व्यवस्था बमोजिम निर्वाचन आयोगको मिति २०८२/०३/१६ गते बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम रुपन्देही जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ मा रिक्त प्रतिनिधि सभा सदस्य पद एकको लागि मिति २०८२/०७/१७ गते सोमबारका दिन उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति तोक्ने निर्णय गरेको छ ।’

 

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष रूपमा सफल पार्न नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह, राजनीतिक दल, नागरिक समाज, मतदाता तथा सम्पूर्ण सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ । साथै उक्त क्षेत्रलाई केन्द्रीत मतदाता नामावाली संकलन पनि स्थगित भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया