Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

चार दशकदेखी पहिचान र अधिकारको लडाईमा आमाछोरा, बैद्यनाथले स्विकारेनन् श्रीमती र छोरालाई

News and Updates
3 दिन अघि

१२ जेठ, काठमाडौं । उदयपुरको कटारी सिम्लेकी ६२ बर्षिया पदम कुमारी खड्का अहिले आफ्नो सन्तानको पहिचान दिलाउनकै लागि लामो समयदेखी संघर्षमा छिन् । ४२ बर्षीय छोरा नबराज झाको अहिलेसम्म पनि जन्मदर्ता र नागरिकता नबनेकै कारण बुढेसकालमा पनि छोराको जन्मदर्ता र नागरिकता बनाईदिनका लागि उनी संघर्ष गरिरहेकी छन् । हुन त ४२ बर्षसम्म पनि किन जन्मदर्ता र नागरिकता नबनाईदिएको होला भनेर धेरैमा कौतुहल्ता हुनसक्छ ।

घटना ४४ बर्ष अगाडीको अर्थात वि.सं.२०३८ सालको हो । जतिबेला पदम कुमारी उमेरले २० बर्षकी मात्रै थिईन् । त्यहीँ बेला पदम कुमारी खड्काको भेट सिरहाको दुर्गापुर घरभई हाल बर्दियाको राजापुरमा बासोबास गरिरहेका वैद्यनाथ झासँग हुन्छ । पदम कुमारी र वैद्यनाथको भेटघाट बाक्लिदै गएपछि उनीहरु प्रेममा पर्छन् । दुबै जना कानुनी रुपमा विवाह नगरेपनि सहमतीमै श्रीमान र श्रीमतीकै रुपमा बस्न थाल्छन् ।

उनीहरुको सन्तानका रुपमा २०४० साल ११ महिना १२ गते नबराज झाको जन्म हुन्छ । त्यसपछि नबराजको पालनपोसनको सम्पुर्ण खर्च वैद्यनाथले नै उठाउदै आएका थिए । छोरा र पदम कुमारीसँग बस्दै आएका वैद्यनाथ बर्दिया गएपछि पनि निरन्तर सम्पर्कमै थिए । विवाह दर्ता, छोराको जन्मदर्ता र नागरिकता बनाईदिन पटक पटक आग्रह गरे पनि वैद्यनाथले विभिन्न बाहाना बनाएर पन्छिएको पदम कुमारीले बताएकी छन् ।

शुरुमा बनाईदिन्छु भनेर आश्वासन दिएपनि पछिल्लो समय विभिन्न बहाना बनाएर पन्छिदै आएको उनको भनाई छ ।
वैद्यनाथले छोराको नागरिकता बनाईदिन कुनै छाँटकाट नदेखाएपछि अहिले आमाछोरा न्याय खोज्दै बर्दिया पुगेका छन् । पदम कुमारीले श्रीमान दाबी गरेका वैद्यनाथले बेवास्ता गरेपछि आमा छोरा आवश्यक छलफल गराई पाउँ भनि राजापुर नगरपालीका वडा नम्बर चारमा निवेदन समेत दिएका छन् ।

आफुलाई वैद्यनाथको श्रीमती दाबी गर्ने पदम कुमारी खड्काले वैद्यनाथ झालाई झिकाई छलफल गराई श्रीमती र छोराले पाउने मौलिक अधिकार प्राप्त गर्नका लागि आवश्यक पहल गरिदिन भन्दै निवेदन दिएकी हुन् ।
यद्यपी वडा कार्यालयले आफ्नो क्षेत्राधिकारभित्र नपर्ने भन्दै वैद्यनाथ झालाई झिकाएर छलफल गरादिन नखोजेको नबराज झाले बताएका छन् ।

उनले उजुरी दिएपनि वडा कार्यालयले दर्ता गर्न नमानेको बताए । न्याय माग्न जाँदा वडा कार्यालयले समेत न्याय दिलाईदिने पक्षमा नभएको उनको भनाई छ । नवराज र नवराजकी आमा न्यायका लागि भौतारिरहेका छन् । उनीहरु न्यायका लागि विभिन्न निकायमा पुगेर हारगुहार गरिरहेका छन् ।

उता पदम कुमारी खड्काले श्रीमान र नबराज झाले बुवा दाबी गर्ने वैद्यनाथ झाले भने अदालतबाट नाता प्रमाणित नगाएर ल्याए आफुले स्विकार गर्ने बताएका छन् । उनले रातोकागजको कुराकानीको क्रममा चार दशक अगाडीको घटनालाई लिएर अहिले आफुलाई मानसिक तनाव दिएको समेत बताए । पदम कुमारी र नवराजले आफ्नो धरपकड गर्न लागेको भन्दै वैद्यनाथले अदालतबाट स्टेअडर समेत लिएको नवराजले बताए । उनले भने अब हामी अदालतमा मुद्धामा दरपिठ गर्न लागेका छौं र आफ्नो अधिकारका लागि अन्तिम समयसम्म लड्ने समेत बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया