Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

गुल्जार पाटन : जहाँ फुटपातमै सयौंले गुजारा चलाइरहेका छन्

News and Updates
3 घण्टा अघि

ललितपुर । पाटन दरबार क्षेत्र, जहाँ इतिहासको गन्ध र आस्थाको ध्वनि एकसाथ घुलिन्छन्। विहानपख यहाँको वातावरण अरू बेला भन्दा भिन्न देखिन्छ—चारैतिर चराको चिरबिर, भजनको मधुर धुन, र मर्निङ वाकमा निस्किएकाहरुको भीडभाडले पाटन गुल्जार देखिन्छ ।

 

तर पाटन दरबार क्षेत्रको गुल्जारकाबीचमा दैनिक रोजीरोटी गर्नेहरुको अलग्गै जीवन र भिन्नै कथा छ । त्यही भीडभाडबीच जीवनयापनको खोजीमा जुटिरहेका केही अनुहारहरू छन्, जसले शहरको एउटा अर्को यथार्थ चित्रण गर्छन् ।

 

यस्तै अनुहारमध्ये एक हुन् लाल बहादुर लोप्चन, जो काभ्रेका स्थायी बासिन्दा भए पनि हाल पाटनमै डेरागरी बस्छन् । उनी दैनिकजसो आफ्नै हातले बनाएका घरेलु कुचो लिएर पाटन मन्दिर परिसरमा पुग्छन् ।

 

‘कुचोको मूल्य ९० रुपैयाँ हो,’ उनले भने,‘मैले नै बनाएको हुँ । घरबाट ल्याएर कुचो बाटेर विक्रीयोग्य बनाउँछु । र यही पाटन क्षेत्रमा विक्रीका लागि घुमाउँछु । यो मेरो मुख्य आयस्रोत हो ।’ उनको अनुहारमा आत्मनिर्भरताको भाव प्रष्ट देखिन्थ्यो ।

 

मन्दिर परिसरमै भेटिइन् सन्तमाया श्रेष्ठ, जो विगत पाँच वर्षदेखि यही क्षेत्रमै चिया बिक्री गर्दै आइरहेकी छिन् । ‘यहाँ बिहानैदेखि भजन गाउन आउनेहरू, तीर्थयात्री र पर्यटकलाई म चिया बेच्छु,’ सन्तमायाले भनिन,‘कालो र दूध चिया दुवै लिएर आउँछु । जसलाई जे मन पर्छ, त्यो दिन्छु ।’

 

उनका अनुसार दैनिक तीनदेखि चार सय रुपैयाँसम्मको आम्दानी हुन्छ । जसबाट उनले कोठा भाडा र अन्य खर्च धानिरहेकी छन् ।
यी दुई पात्र, जो सहरको व्यस्ततामाझ नदेखिने तर अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरूको संघर्ष, श्रम र सादगीले राजधानीको जीवनशैलीभित्रको मौन पक्ष उजागर गर्छ ।

 

पाटनको विहान केवल धार्मिक वा सांस्कृतिक मात्रै होइन, यसभित्र आम मानिसको संघर्ष, श्रमको मूल्य र जीवनका साना सफलताका कथा पनि लुकेका छन् ।
यी अनुहारहरू त्यसैको उदाहरण हुन् । जो न त सन्देश दिन खोज्छन्, न भाषण र। तर उनीहरूको जीवनशैली आफैमा एउटा सन्देश हो—इमानदार श्रम कहिल्यै सानो हुँदैन ।

 

पाटन दरबार क्षेत्र वाह्य एवम आन्तरिक पर्यटकहरुको हब हो । सांस्कृतिक एवम ऐतिहासिक सम्पदाहरुको अवलोकन गर्न पर्यटकहरुको भीड लाग्ने गर्छ । सोही भीडमा मझौला र फुटपात व्यवसाय गर्ने सयौंको रोजीरोटी चलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया