News and Updates

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सरकारको परराष्ट्र र श्रम मन्त्रालयले पछिल्लो समय कुनै काम नगरेको बताएका छन् ।
आइतबार प्रतिनिधि सभामा बोल्दै उनले नेपाली युवाहरु विदेशमा बन्धक हुँदा पनि मन्त्रालय मौन बसेको भन्दै यस्तो बताएका हुन् ।
‘हामी नेपाली नपुगेको कुनै देशका सहर छैन, झण्डै ८० लाख युवाहरु अर्काको देशमा काम गर्न बाध्य छन् । श्रम, परराष्ट्र मन्त्रालय मौन भएर बसेका छन् । नेपालीहरु बन्धक हुदाँ पनि श्रम मन्त्रालयले काम गरेको छैन,’ उनले भने ।
उनले विदेशी भूमिको युद्धहरु नेपालीहरु पटक पटक मर्नुपर्दा पनि श्रम मन्त्रालय र परराष्ट्र मन्त्रालय मौन भएको बताए ।
उनले भने, ‘पछिल्लो पटक भारत र पाकिस्तानको युद्धमा पनि नेपाली नै मरे, रुस र युक्रेनको युद्ध भयो । नेपाली नै मरे । प्यालेस्टाइन र इजराइलको युद्धमा पनि नेपाली नै मरे । यो कस्तो गरिवी हो यो कस्तो वेरोजगारी हो । सरकार मौन छ ।’
उनले विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सले नै सांसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारीहरुले तलव पाएको भन्दै नुनको सोझो गर्नुपर्ने बताए ।
‘आज हामी संसदहरु, प्रधानमन्त्री, मन्त्री, कर्मचारी सबैको तलव विदेशमा बसेकाहरुले पठाएको रेमिट्यान्सबाट प्राप्त भएको छ । हामीले नुनको सोझो गर्नुपर्छ नि पर्दैन र । यहाँ श्रम र परराष्ट्र मन्त्रालय छ तर आज कति नेपालीहरु ठगीमा परेका छन् । यदी मन्त्रालयको काम हँुदैन भने मन्त्रालयको काम छैन,’ उनले भने ।
फेसबुकबाट तपाईको प्रतिक्रिया