Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल

News and Updates
3 घण्टा अघि

जनकपुर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताएका छन् ।

 

 

शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौं जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातीको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौं, र पराजित गर्छौं ।’ उनले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्वराजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन,’ पोखरेलले भने ।

 

 

पोखरेलले नेपाली कांग्रेससँगको सहकार्यको सन्दर्भमा व्यंग्यात्मक शैलीमा भने, ‘कांग्रेससँग अहिले हाम्रो सम्बन्ध मादल र हार्मोनियमजस्तो छ । मिठास त छ । तर, ताल पनि अलग–अलग । हामी सहकार्य गर्छौं ।

 

 

 

तर, प्रतिस्पर्धा बिर्सिन्नौं ।’ उनले सहकार्य र प्रतिस्पर्धा दुबैलाई सन्तुलनमा राख्दै संविधानको मूल मर्मलाई अघि बढाउनु पर्ने बताए । पोखरेलले विगत पञ्चायती शासन र वर्तमान लोकतान्त्रिक प्रणालीबीचको तुलना गर्दै व्यापक विकास भएको दाबी गरे । ‘पञ्चायतमा २५ हजार किलोमिटर सडक थियो । अहिले १ लाख १० हजार किलोमिटर पुग्यो ।

 

 

 

शिक्षा, स्वास्थ्य, सञ्चार र भौतिक पूर्वाधारका क्षेत्रमा अभूतपूर्व परिवर्तन आएको छ । जनतालाई तथ्यका आधारमा बुझाउनु अहिलेको प्रमुख कार्य हो,’ पोखरेलले भने ।

 

 

कार्यक्रममा एमालेका सचिव रघुवीर महासेठ, मधेश प्रदेश इन्चार्ज लीलानाथ श्रेष्ठ, जिल्ला इन्चार्ज जुली कुमारी महतो, उमाशंकर अरगरीया, हरिनारायण महतोलगायत नेताहरूको उपस्थिती रहेको थियो । अधिवेश तीन दिनसम्म जारी रह्ने छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया