२३ मंसिर २०८१, आईतवार
मधेश मुख्‍य समाचार विचार समाचार समाज

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

९ मङ्सिर, महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् ।

भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् ।उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि उनीहरूका लागि मत माग्न अहिले विभिन्न दलका केन्द्रीय तहका नेताहरू आएपछि आफ्ना सुविधा र सहुलियतबारे उपल्लो तहका नेतासँग मतदाताले गुनासो गरेका हुन् ।

“यहाँका बासिन्दा ९० प्रतिशत बढी खेतीपातीमा छौँ, तर हाम्रो खेतमा सिँचाइ सुविधा छैन, समयमा बीउबिजन र मलखाद पनि पाइँदैन”, सो वडाका अगुवा किसान मोहम्मद कादिर हुसैन भनछन, “मत माग्न आउने सबैजसो दलका नेतासँग यहाँका हामीले यही गुनासो गरेका छौँ ।”

रामगोपालपुर–२ मा अहिलेसम्म नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्युटब्यूरो र केन्द्रीय सदस्य एबं मधेश प्रदेश कमिटीका पदाधिकारीहरू र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित केन्द्रीय पदाधिकारीले आफ्ना दलका उम्मेदवारलाई भोट हाल्न मतदातासँग आग्रह गर्दै किसानका समस्याप्रति आफूहरू गम्भीर रहेको बताएको छ ।

यही मङ्सिर १६ गते रामगोपालपुर–२ मा हुने चुनावमा दलका सात जना र ११ स्वतन्त्र गरी १८ जना उम्मेदवार प्रतिस्पर्धा गर्दैछन् । यो वडामा दुई हजार एक सय ४१ मतदाता छन् । वडाध्यक्ष मुकेशकुमार यादवको निधन भएकाले रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्