Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण प्रकाशित

रातो कागज
10 महिना अघि

२७ कात्तिक, साहित्यकार रुद्र अधिकारीको लघुकथासङ्ग्रह ‘दृष्टि’को अङ्ग्रेजी संस्करण प्रकाशनमा आएको छ । कृतिका अङ्ग्रेजी अनुवादक महेश पौड्याल, साहित्यपोस्टका प्रधानसम्पादक अश्विनी कोइराला, साहित्यकार कमल फुयाल र साहित्यकार शरद् प्रधानले संयुक्त रुपमा कृतिको लोर्कापण गर्नुभएको हो ।

कौशलटारस्थित साहित्यपोस्टको कार्यालयमा भएको कार्यक्रमको सभापति साहित्यपोस्टको प्रधानसम्पादक अश्विनी कोइराला रहनुभएको थियो । शरद् प्रधानले सञ्चालन गर्नुभएको कार्यक्रममा महेश पौड्याल र कोमल फुयालले धारणा प्रस्तुत गर्नुभएको थियो ।

अनुवादक पौड्यालले नेपालमा अनुवादको परम्परा निकै लामो भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘लक्ष्मीप्रसाद देवकोटाको पालादेखि अङ्ग्रेजी अनुवाद शुरु भएको देखिन्छ । त्यहाँबाट अहिलेसम्म आउँदा करीब एक शताब्दीको इतिहास हामीसँग छ ।

पौड्यालले नेपालमा अनुवादका समस्याहरुका बारेमा पनि चर्चा गर्नुभयो । भन्नुभयो, ‘हामीले अनुवाद गर्ने भनेको किताबबाट सिकेको औपचारिक अङ्ग्रेजी हो, तर साहित्यको प्रवृत्ति अनौपचारिक हुन्छ । नेपाली अनुवादकहरुलाई अमेरिका, बेलायत जस्ता देशमा केही वर्ष तालिम मिल्ने भए अनुवादको स्तरीयतामा वृद्धि हुनेथियो ।’

त्यस्तै, वक्ता फुयालले आफूलाई सबैभन्दा राम्रो कृतिको नाम ‘दृष्टि’ लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुवाद भित्र ल्याउने र बाहिर पठाउने हुन्छ । ‘दृष्टि’को अङ्ग्रेजी अनुवाद ‘भिजन’ राख्न सकिन्थ्यो, तर बाहिर पठाउँदा आफ्ना मौलिक कुरालाई पनि अनुवाद सँगसँगै लैजानुपर्छ । रुद्रजी मौजुदा सोचभन्दा बाहिर गएर सोच्नुहुन्छ र लेख्नुहुन्छ, जुन एकदमै सुन्दर छ । यस कृतिका कथाहरुले पाठकलाई केहीबेर सोच्न बाध्य बनाउँछ, यो लेखकको सबल पक्ष हो ।’

कार्यक्रम सञ्चालनका क्रममा शरद् प्रधानले नेपाली कृतिहरु अङ्ग्रेजीमा अनुवाद गर्नुपर्ने सोच विकास हुँदै जानु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा लेखक रुद्र अधिकारी अनलाइनबाट जोडिनुभएको थियो । कार्यक्रमका सभापति अश्विनी कोइरालाले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै कार्यक्रमको समापन गर्नुभयो ।

लघुकथासङ्ग्र ‘दृष्टि’लाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ६६ लघुकथा सङ्ग्रह गरिएको कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया