१० माघ २०८२, शनिबार
मुख्‍य समाचार समाचार समाज

रेबिज शून्यमा झार्न कुकुर र बिरालो सूचिकृत गरिँदै

९ असाेज, कञ्चनपुर । रेबिज सङ्क्रमणलाई शून्यमा झार्न शुक्लाफाँटा नगरपालिकाले घरपालुवा कुकुर र बिरालो सूचिकृत गर्न थालेको छ । नगरले खोप अभियान सञ्चालन गरी रेबिज सङ्क्रमण शून्यमा झार्ने उद्देश्यले कुकुर र बिरालो सूचिकृत गर्न थालेको हो ।

कुकुर तथा बिरालोको टोकाइबाट हुने रेबिज रोकथाम गर्न नगरपालिकाले वडा कार्यालयमार्फत सूचिकृत गर्ने कार्य गरिरहेको नगरपालिकाको पशु विकास शाखाका प्रमुख रामप्रसाद भट्टले बताए। सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने उद्देश्यले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन सञ्चालनको तयारी भइरहेको जनाउँदै सोही अनुसार पहिलो चरणमा सूचिकृत गर्न थालिएको उनले उल्लेख गरे।

“सूचिकृत भएका कुकुर र बिरालोलाई रेबिजविरुद्धको खोप लगाउन सहज होस् भनेर सूचिकृत गरिएको हो”, भट्टले भने “खोप अभियान सञ्चालन गरी रेबिजलाई शून्यमा झार्ने छौँ । सूचिकृत गर्नका लागि आगामी कात्तिक ६ गते सम्मको समयसीमा निर्धारण गरिएको उनले जानकारी दिए।

सूचिकृत गर्ने काम सम्पन्न भएपछि त्यसको आधारमा रेबिजविरुद्धको खोप लगाउन वडा वडामा टोली परिचालन गरिने शाखा प्रमुख भट्टले बताए। बर्सेनि बहुलाएका स्यालले कुकुर र बिरालोलाई टोक्दा नगरपालिका क्षेत्रमा रेबिजको सङ्क्रमण बढ्दै गएको उनको भनाइ छ ।

दुई साताअघि मात्रै बहुलाएको स्यालले शुक्लाफाँटा–२ रानीपुरमा छजना मानिस र केही घरपालुवा कुकुरलाई टोकेको थियो । बहुलाएका स्यालले घरपालुवा कुकुर, बिरालो, जनावर तथा मानिसलाई टोक्ने र त्यसबाट रेबिजको सङ्क्रमण सर्ने गरेको शाखा प्रमुख भट्टले बताए। “जनचेतनाको अभावमा धेरै जनाले रेबिजविरुद्धको खोप नलगाएर घरमा बस्दा अन्यलाई सङ्क्रमण सर्ने जोखिम हुनाका साथै स्थानीयको मृत्यु समेतका घटना भएका छन्”, उनले भने।

बहुलाएका स्याल, कुकुर, बिरालोलगायत जनावरले टोकेमा अनिवार्य रेबिजविरुद्धको खोप लगाउनुपर्ने भन्दै खोपबारे जनचेतना फैलाउन स्थानीय जनप्रतिनिधि, सरोकार भएका संघसंस्थालगायत निकायले सहकार्य र समन्वय गर्नुपर्ने शाखा प्रमुख भट्टले जोड दिए।

“रेबिजको भाइरस शरीरमा प्रवेश गरेको एक सातादेखि एक वर्षभित्रमा शरीरमा सङ्क्रमण देखा पर्ने गर्दछ । रेबिजविरुद्धको खोप नलिएमा लक्षण देखा परेका व्यक्तिलाई कुनै पनि हालतमा बचाउन सकिँदैन”, उनले भने। घरपालुवा तथा सामुदायिक (छाडा) कुकुर र बिरालोको बन्ध्याकरणसँगै रेबिजविरुद्धको खोप लगाउने कार्य सँगै गरिने शाखा प्रमुख भट्टले जानकारी दिए।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि