२३ आश्विन २०८१, बुधबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रुपा चक्रपथ दोस्रो खण्डको शिलान्यास

४ असोज,लेखनाथ (कास्की) । यहाँको रुपा गाउँपालिकामा निर्माणाधीन चक्रपथको दोस्रो खण्डको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले संयुक्त रुपमा बिहीबार रूपा १ र ७ मा पर्ने उक्त चक्रपथको दोस्रो खण्डको शिलान्यास गर्नुभएको हो ।

सङ्घ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) रु ४७ करोड १८ लाख ९१ हजार लागतमा ३० महिनामा १६ दशमलव १२९ किलोमिटर दूरीको सडक निर्माण हुने भएको छ ।

चक्रपथको शिलान्यास गर्दै पूर्व मुख्यमन्त्री अधिकारीले प्रदेश सरकारले यो सडक निर्माणमा प्राथमिकता दिएको र जसका कारण प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताउनुभयो । प्रदेश सरकारकै सहयोगमा आवश्यकता हेरी गाउँगाउँमा मोटरबाटो पुगेको उहाँले दाबी गर्नुभयो ।

गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको टिप्पणी गर्दै उहाँले रूपा चक्रपथ बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले चक्रपथ लगायतका विकास निर्माणमा प्रदेश सरकारको सहयोग रहने प्रतिबद्धता जनाउनुभयो । सडक निर्माणमा ढिलाइ नगर्न ठेकेदार कम्पनीलाई उहाँले निर्देशन दिनुभयो ।

काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले समाधान गर्ने र निर्माणमा बजेट अभाव हुन नदिने मन्त्री केसीको भनाइ थियो । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सडक निर्माणपछि लमजुङ, तनहुँ र कास्कीका सर्वसाधारणका लागि आवागमनमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

आगामी आर्थिक वर्षमा चक्रपथको बाँकी ३५ किलोमिटर सडकलाई बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गर्नुभयो । निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीयस्तरबाट समस्या नभए समयभन्दा अघि काम सक्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्