३ भदौ ,तनहुँ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले करिब १६ हजार निजी धारा जडान गरेको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाभरि १५ हजार नौ सय ९४ वटा निजी धारा जडान गरिएको हो ।
निजी धारा जडानपछि पानी वितरण हुँदा दुई लाख ९८ हजार १६ जना उपभोक्ता प्रत्यक्ष लाभान्वित भएका डिभिजन कार्यालयकी इञ्जिनियर बिनु लोहनीले जानकारी दिनुभयो । उनका अनुसार गत आर्थिक वर्षमा दुई हजार निजी धारा जडान गरिएको थियो । उक्त धारा जडान पश्चात् चार हजार सात सय ८० जना प्रत्यक्ष लाभान्वित भएका छन् ।
जिल्लामा हालसम्म ९२ प्रतिशत नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याइएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ । “शत्प्रतिशत घरमा खानेपानी सेवा पुर्याउने लक्ष्यसहित कार्यालयले काम गरिरहेको छ”, इञ्जिनियर लोहनीले भने, “कतिपय अवस्थामा पर्याप्त बजेट नहुँदा आयोजनाको काम प्रभावित हुने गरेको छ ।” उनका अनुसार झाप्रेखोला कैडले खानेपानी, म्याग्देको भकुन्थोक बेलटार खानेपानी, सरङघाट, केशरी खानेपानी, व्यासको बेलटारी डिप बोरिङ लगायत केही योजना रकम अभाव र मुहान विवादका कारण सम्पन्न गर्न सकिएको छैन ।
सङ्घीय सरकारबाट योजना ससर्त अनुदानमा रु २७ करोड ५० लाख र प्रादेशिक खानेपानी आयोजनातर्फ रु २१ करोड ९१ लाख बजेट विनियोजन भएको थियो । विशेष अनुदान खानेपानी आयोजनामा रु १४ करोड र खानेपानी सेवा विस्तार तथा पुनःस्थापना अन्तर्गत रु २६ करोड ६८ लाख बजेट विनियोजन भएको इञ्जिनियर लोहनीले जानकारी दिए । उनका अनुसार कार्यालयले गत आवमा भौतिक प्रगति ९४ र वित्तीय प्रगति ९२ दशमलव ५१ प्रतिशत हासिल गरेको छ ।







