२९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समाज बिथोल्ने खालका कुनै पनि आन्दोलन सम्भव नरहेको बताएका छन् ।
मंगलबार महान्यायाधिवक्ताको कार्यालय अवलोकनपछि उनले सरकारबाट देशद्रोही, जनविरोधी र अलोकतान्त्रिक कुनै काम नहुने भएकाले त्यस प्रकारको आन्दोलन सम्भव नभएको बताए ।
आफू फोटो टाँस्न मात्रै प्रधानमन्त्री नभएको उल्लेख गर्दै उनले यस कार्यकालमा पनि विगतमा झैँ समाजका हरेक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने गरी गर्ने प्रतिबद्धता जनाए । न्याय क्षेत्रको प्रभावकारी विकासका लागि राज्यको स्रोत साधनले भ्याएसम्म पूर्वाधार विकासलाई निरन्तरता दिइने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुङ्गोमा पुर्याउनको लागि भएको राजनीतिक सहमति शान्ति प्रक्रियाको अन्तिम किस्ता भएको बताए । यसबारे राष्ट्रसङ्घका नेपालस्थित प्रतिनिधि र विभिन्न राजदूतहरूको चासो रहेको उल्लेख गर्दै उनले पीडित केन्द्रित विषयलाई ध्यानमा राखेर ती कानुन संसद्को यही अधिवेशनबाट पारित हुने बताए ।
आफूहरूले शान्ति प्रक्रियाका धेरै कुरामा विदेशीको नक्कल नगरेको र विगतमा आफू प्रधानमन्त्री हुँदा वार्ताका माध्यमबाट विप्लव र सिके राउत समूहलाई मूल प्रवाहमा ल्याएको उनले स्मरण गरे ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको आदेशको सम्मान गर्दै कर्मचारीको तलब समायोजनका विषयमा छलफल भइरहेको पनि जानकारी दिए ।







