रासस

३० असार, अमेरिका । अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित र्यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
उनको हत्या गर्ने उद्देश्यले भएको ठानिएको उक्त घटनालगत्तै ट्रम्पलाई उक्त स्थानबाट बाहिर निकालिएको छ । उक्त घटनापछि ट्रम्पले आफ्नो दायाँ कानमा हात राखेको देखिन्छ । उक्त र्यालीमा स्थिति नियन्त्रणमा लिनुअघि पटकपटक गोली चलेको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोलीको आवाज आएपछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई तत्कालै मञ्चबाट निकालेर गाडीतर्फ लगेका थिए ।आफैँले खोलेको सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा सन्देश लेख्दै ट्रम्पले आफू ‘सकुशल रहेको’र स्थानीय स्वास्थ्य संस्थाले आफ्नो उपचार गरिरहेको उल्लेख गरेका छन् ।
ट्रम्पले लख्नुभएको छ, “र्यालीमा सुइँय्य गरेको आवाज सुन्नेबित्तिकै मलाई केही गडबड छ भन्ने लाग्यो, गोली चलेको र मेरो छाला खुइल्याउँदै गोली गएको मलाई महसुस भयो ।”“धेरै रगत बगेपछि के भएको हो भन्ने मैले थाहा पाएँ,”उनले थपे ।
उनलाई बचाउन सुरक्षा अधिकारीहरू दौडादौड गरेको दृश्यबीच उनको कान र अनुहारमा रगत बगेको स्पष्ट रूपमा देखिएको थियो ।उक्त घटनामा एक जना सन्दिग्ध व्यक्तिलाई ‘यूएस सिक्रेट सर्भिस’का अधिकारीहरूले गोली हानेर हत्या गरिदिएको उक्त निकायका प्रवक्ता एन्थोनी गुग्लिएल्मीले बताए ।
उहाँका अनुसार गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। अमेरिकी गुप्तचर निकाय एफबीआईले ट्रम्पमाथि गोली चलाउने आक्रमणकारीको पहिचान खुलेको र उनी पेन्सिलभानियाका टोमस म्याथ्यू क्रुप्स रहेको जनाएको छ । ती स्रोतहरूले यो आक्रमणलाई ट्रम्पको हत्याको प्रयासको रूपमा लिइएको बताउँदै घटनाको थप अनुसन्धान भइरहेको बताएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया