१ फाल्गुन २०८२, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

महिनावारीमा हिंसा घटेको छ, हटेको छैन

२७ असार, झापा । “सुन्दर २२ सय २० दिनहरू स्वतन्त्रता र आत्मसम्मान खोसिएको जीवन बिताएकी छु । कोठाबाट बाहिर निस्कन नपाएका कैयौँ दिनहरू भोकै–प्यासै बिताएकी छु । छिनछिनमा रगतका फाल्सा उकेलेर शिथिल भएको शरीरलाई चिसो भुइँमा सुताएकी छु । मैले आमा गुहारेँ, सासू गुहारेँ, भगवान पुकारेँ, तैपनि स्वतन्त्रताको श्वास फेर्न पाइनँ । कतैबाट सहारा पाइनँ ।”
इलामको देउमाई–३ की ५५ वर्षीया कमला खनालका यी मार्मिक भनाइहरू सुन्दा उहाँ कुनै अपराधको सजाय काट्न जेलजीवन बिताएकी कैदी छन् कि जस्तो लाग्छ । वास्तविकता त्यस्तो होइन । सरकारले बनाएको भौतिक जेल होइन, समाजले कुरीति र अन्धविश्वासको पर्खाल लगाएर घरघरै निर्माण गरेको विभेद र छुवाछूतको पिञ्जडामा थुनिएकी निर्दोष बन्दी छन् उनी । निरपराध सजाय पाएकामा उहाँको पीडा बोलेको हो यो ।
“आखिर मेरो के अपराध थियो ?”, बिर्सनलायक ती दिनहरू सम्झिँदै उनी प्रश्न गरिरहन्छन् । यो प्रश्नको जवाफ उनले कहिल्यै पाएनन् । “यस्तै हो, सबैले भोगेका छन्”, “विचरा, साह्रो दुःख पाइछौँ”, भन्ने सहानुभूतिबाहेक । उनलाई समाजको कुरीति र अन्धविश्वासले ठहर्याएको एउटै अपराध थियो– महिनावारी ।
माइतीघरमा बाल्यकालीन सुनौला केही अनुभूतिहरू सुनाए उनले । इलामकै माङसेबुङ–१ पाटीगाउँमा बाख्राको पाठोझैँ उफ्रीउफ्री नाचेर डुलेर बितेको थियो उनको बाल्यकाल । भोक लाग्यो भनिसक्दा आमाले ‘लु खा नानी’ भनेर अगेनोको छेउमा खोसेलाको पिर्कामा बसाउथे । आमाको आँखा छलेर डाडुले कतिपटक तरकारी उघाएर खाइसकेकी उनले । आमा पूजाकोठामा पसेर दियोमा बत्ती बालिनसक्दै उनले देवीदेउताकै थानमा पुगेर घण्टी बजाइसकेकी हुन्थे । ‘यसलाई कति चकचक गर्नुपरेको’ भनेर काखमै बसाएर पूजा गर्न सिकाउथे आमाले ।
तेह्र वर्षकी हुँदा उहाँलाई एक दिन निगुरो टिपेर घर फर्किदा कट्टु भिजेको जस्तो असजिलो भयो । भित्री कोठामा गएर हेर्दा तिघ्रासम्मै रगत लत्पतिएको रहेछ । ‘आमा, एकछिन आउनु त माथि’, पहिलोपटक महिनावारी हुँदाको घटना सुनाउँदै उनले भने, “आमाले मेरो कुरा सुन्नेबित्तिकै महिनावारी भएको थाहा पाइहाले । कहाँ यहाँ पूजा थान भएको कोठामा पसेकी, लु तल भुइँमा झरिहाल नानी भनेर मलाई डोहोर्याउँदै टाँढबाट झारे ।”
त्यसपछि महिनावारी भएकै कारण आफूलाई नछुने भएको (अछुत) घोषणा गरिएको र पल्लो गाउँको आफन्त पर्नेका घरमा सात दिन बस्ने गरी पठाइएको उनले सुनाए । कोरोना महामारीको सुरुका बेला सङ्क्रमितलाई कोठामा राखेर परैबाट खानेकुरा दिइएको र कसैसँग भेटघाट गर्न नदिइएको जस्तो उसबेलाको सास्ती सुनाउँदा उहाँको पीडा आँसु बनेर आँखाबाट तप्किएको थियो । आफन्तको घरमा सात दिन बिताउँदा सात महिना लागेजस्तो भएको उनले सुनाए ।
“बिहेपछि आमाको ठाउँमा सासुआमा थिए,” कट्टर परम्परावादी बाह्मण परिवार भएकाले त्यहाँ पनि महिनाबारी बार्नुपर्ने कडा चलन रहेको सुनाउँदै उनले भने–“चुपचाप सहेँ । पतिलाई सुनाउँदा ‘म त नबारुँला, आमाबुबाका लागि चाहिँ बारिदेउ’ भने । मैले छोरीहरूलाई चाहिँ यस्तो बार्नुपर्दैन भनेँ । तर, सासुआमा पुरानो जमानाकी भएकाले उनले मान्नु भएन । पति र छोराछोरीलाई मैले बार्नु परेन । ४९ वर्षमा मेरो महिनावारी सुक्यो । महिनावारी सुकेपछिको पाँच वर्षदेखि चाहिँ मैले महिनावारीको बन्धनबाट मुक्ति पाएकी छु ।”
उनले ५५ वर्षे जीवनमा ३७ वर्षसम्म महिनावारीको उमेर बिताउनुपर्‍यो । उनले सुनाएको हिसाबअनुसार हरेक महिना पाँच दिनका दरले वर्षमा ६० दिन र ३७ वर्षमा २२ सय २० दिन अर्थात छ वर्षभन्दा बढी अवधि उनले महिनावारीको नाममा विभेदपूर्ण ‘नछुने’ जीवन व्यतित गर्नुपरेको रहेछ ।
झापाको मेचीनगर–१० निवासी पवित्रा न्यौपानेले महिनावारीमा भोग्नु परेको सास्तीको कथा अझ दर्दनाक छ । पाँचथरको हिलिहाङ गाउँपालिका–६ भारपाको बाह्मण परिवारमा उहाँको जन्म भएको थियो । गाउँमा धार्मिक कुरीति र अन्धविश्वास व्याप्त थियो । बाबुआमाले ‘धर्म कमाउन’ भनेर पवित्रालाई १५ वर्षकै उमेरमा बाह्मण परिवारकै केटोसँग बिहे गरिदिए ।
“बिहेको मण्डपमा भएको कर्मकाण्ड त मलाई केटाकेटीले भाडाकुटी खेले जस्तो लाग्यो,” उहाँले बालविवाह भएको कहानी सुनाउँदै भने । बिहे गरेकै साल उनलाई रजस्वला भयो । बारीमा घाँस काटेर फर्किदा रगत लतपत भएको देखेपछि उनले सासुआमालाई सुनाए । त्यसपछि सुरु भयो नयाँ सास्ती ।
“अपवित्र भएको भन्दै मलाई घरको अलग्गै कोठामा २२ दिनसम्म राखियो,” पवित्रा सुनाउछिन्–“भान्सा र पूजा कोठामा मात्र होइन, घरका अरु सदस्यको कुनै कोठामा पनि जान मलाई बर्जित थियो । एकातिर नछुने भएकी भनेर बार्न लगाउने र अर्कातिर बेस्सरी खेतबारीको काममा लगाउने परिवारको दोहोरो चरित्र देखेर भक्कानो छुट्थ्यो । भोक लागेका बेला खान पाइँदैनथियो । कतिखेर मन लाग्छ, त्यतिबेला खान दिन्थे । जुन कोठामा म सुतेकी थिएँ, त्यहाँ हरेक दिन विहानै उठेर गाईको गोबरले लिपेर पवित्र बनाउनुपथ्र्यो ।”
महिनावारी हुनुलाई पापको रुपमा लिने कुरीतिको शिकार भएकी पवित्राले सासुआमाको देहान्त भएका बेला पनि उस्तै विभेद भोग्नु परेको बताए । महिनावारी भएको बेला मृत सासुआमाको पार्थिव शरीर छोएको भनेर परिवारका अन्य सदस्यले आपत्ति गर्दा घरझगडा नै भएको उनले विगत सुनाए । उनले भने–“सासुआमाको निधनले शोकविह्वल भएका बेला मैले शबलाई छोएछु, अँगालो हालेछु । त्यसबेला मलाई रजस्वला भइरहेको थियो । नन्द भाउजु, देउरानी जेठानीलगायत सबै आफन्त मविरुद्ध खनिएँ ।”
कुलको नियम भन्दै उनले पहिलोपटक महिनावारी हुँदा २२ दिन, दोस्रोपटकदेखि सात दिन र १० वर्षपछि मूलघर छाडेर मधेश आएपछि मात्र पाँच–पाँच दिन बार्नु परेको जानकारी दिए । अहिले उनकी जेठी छोरी डाक्टर र छोरा इन्जिनियर छन् । छोरीले बार्नुहुँदैन भनेर आफूलाई सम्झाउने गरे पनि पहिलादेखि लागेको बानी भएर होला अहिलेसम्म पाँच दिनका दरले महिनावारी बारिरहेको उनले सुनाए ।
महिनावारी बार्ने चलन कुप्रथा भएकोले चेतना र शिक्षाको उज्यालो फैलिदै जाँदा यसको प्रभाव न्यून हुँदै गएको छ । पश्चिम नेपालको जस्तो छाउपडी प्रथा पूर्वी नेपालमा छैन । जातिका आधारमा भन्दा कुन परिवार कति चेतनशील र शिक्षित छ भन्ने आधारले ‘नछुने’ प्रथा बढी वा घटी हुने गरेको छ । महिनावारीमा हुने विभेद र हिंसा व्यापक मात्रामा क्रमशः न्यूनीकरण भइरहेको देखिन्छ ।
मेचीनगरको जनता माध्यमिक विद्यालयकी प्रधानाध्यापक लीला मिजार महिनावारीलाई अपवित्र र अमर्यादित भनेर बार्ने चलन अहिले बदलिएको बताउछिन् । रजस्वला हुनु महिलाको प्राकृतिक गुण भएको र यसलाई बार्नुपर्ने वैज्ञानिक कारण केही पनि नभएको हुँदा सचेत महिलाहरूले नछुने बार्ने प्रथा त्याग्न थालेको उनको भनाई छ ।
“मैले पनि पहिलोपल्ट रजस्वला हुँदा घरबाट निकालिनु परेको तीतो घटना व्यहोरेको थिएँ,” उनी भन्छन्, “तर अहिले बार्दिन । पहिलोपटक रजस्वला हुँदा घरको धुरी हेर्नुहुँदैन, दाजुभाइले अनुहार पनि देख्नु हुँदैन भन्ने अन्धविश्वास पहिले पहिले थियो । अहिले पहिलोपल्ट रजस्वला हुँदा छोरीहरू आफ्नै घरपरिवारमा बस्छन् ।”
सन्तानलाई सही शिक्षा दिएर महिनावारीलाई मर्यादित बनाउन सकिने उनको धारणा रहेको छ । परिवारमा सँगै बसेर खान नहुने र छोएको नखाने चलन एक प्रकारको छुवाछुतजन्य हिंसा नै भएको हुँदा यसलाई समाजमा निषेध गरेर महिलालाई सम्मानपूर्वक जिउन दिने वातावरण निर्माणका लागि जनचेतना र कानून दुबै आवश्यक पर्ने प्रअ मिजार बताउछन् । परिवार र विद्यालयमा यस्तो हिंसा र विभेदका विरुद्ध अभियान चलाउन सकिने उनको भनाइ छ ।
बीस वर्षदेखि पत्रकारितामा क्रियाशील एवम् नेपाल पत्रकार महासङ्घ झापाकी पूर्व उपाध्यक्ष भीमा शिवाकोटीले महिनावारी नबार्ने बताए । “म चाहिँ बार्दिन र मेरा छोरीहरूलाई पनि बार्नुपर्दैन भन्ने सिकाएँ,” उनी भन्छन्–“रजस्वला भएकै कारण छुवाछूतको शिकार हुनुपर्ने कुप्रथा मान्नु हुँदैन । यसले महिलाको स्वाभिमान र मानव अधिकारमाथि धावा बोल्दछ । मान्नु पर्ने कुनै वैज्ञानिक कारण पनि छैन ।” उनले महिनावारीका कारण महिलाले हिंसा र विभेद व्यहोर्नु परिरहेको छ भन्ने विषयमा मिडिया जगतले पर्याप्त छलफल चलाउनु पर्ने बताए ।
भद्रपुरस्थित ओमसाई पाथिभरा हस्पिटलकी स्त्रीरोग विशेषज्ञ डा सुमन सिंह महिनावारी बार्नुका पछाडि कुनै वैज्ञानिक कारण नरहेको हुँदा यसलाई छुवाछूतको रुपमा विभेद गर्न नहुने धारणा राख्छन् । रजस्वलालाई अपवित्र र अमर्यादित बनाउन समाजमा व्याप्त रहेको अन्धविश्वास र कुरीतिले सहयोग पुर्याएको छ । महिनावारी भएकै कारण सृष्टि हुने भएकाले यसलाई अत्यन्त मर्यादित ठान्नु पर्ने उनको धारणा छ । बरु त्यस्तो बेला स्वास्थ्यको विषयमा विशेष ख्याल राख्न उनको सुझाव छ ।
डा सिंहले भने, “यस्तो बेलामा पोषिलो खानेकुरा खानुहोस् । प्रजनन अङ्गको सरसफाइमा ध्यान दिनुहोस् । गुणस्तरीय महिनावारी प्याड प्रयोग गर्नुहोस् । नत्र हेलचेक्राइँले प्रजनन् अङ्गमा सङ्क्रमण फैलिन सक्छ । बढी रगत बग्यो भने डाक्टरलाई सल्लाह माग्नुहोस् ।” महिनावारी रोक्न जथाभावी औषधिको सेवन हानिकारक हुनसक्ने उनले बताए । शरीरमा हर्मोनको असन्तुलन हुने र कसैकसैलाई सधैँका लागि महिनावारी रोकिने समस्या आउने खतरा पनि हुने उनले जानकारी दिए ।
समाजमा महिलाले धेरै किसिमका हिंसा व्यहोर्नु परिरहेको हुन्छ । तर, महिनावारीका बेला व्यहोर्नु परेको हिंसालाई समाज र कानूनले ठूलो हिंसाको रुपमा नलिएकामा अधिवक्ता हेमकला कट्टेल आश्चर्य व्यक्त गर्छन् । हरेक घरमा अछुतको रुपमा महिलालाई विभेद गरिएको यस विषयमा प्रतिवाद गर्ने खालका पर्याप्त छलफल र वहस हुन नसकेको कट्टेल बताउछन् ।
“सामाजिक कुरीति र लैङ्गिक संवेदनशीलताको विषय भनेर व्याख्या गरिने हो भने मर्यादित महिनावारीको मान्यता कानूनी रुपमा स्थापित गर्न सहज हुन्छ”, उनी भन्छन्, “हामीले महिलाका मुद्दाहरू हेर्दै जाँदा महिनावारीका बेला पुरुष साथीबाट यौन उत्पीडन भएको, छोएको भनेर कुटपिट र गाली बेइज्जतीपूर्ण व्यवहार भएका घटनाहरू सुन्दै आएका छौँ । यी पनि हिंसा हुन् । यस्ता ज्यादतीलाई घरेलु हिंसा र लैंगिक हिंसाको रुपमा लिएर कानुनी कारबाही अघि बढाउन सक्ने हो भने मर्यादित महिनावारीको कोणबाट समाजमा महिलालाई न्याय दिलाउन सकिन्छ ।”
महिनावारीमा गरिने विभेद हिंसाको एउटा प्रकार भएकाले यसविरुद्ध महिला आफैँले पनि प्रतिवाद र सामाजिक रूपमा जागरण ल्याउन जरुरी भएको उनको बुझाइ छ । धेरैजसो महिलाहरू पाप लाग्ने भनेर भ्रम छरिएका कारण डरले मठमन्दिर नजाने र पूजापाठमा सरिक नहुने गरेको उनले बताए ।
महिनावारीमा विभेद गर्ने प्रथा नेपालका विभिन्न भागमा भिन्नाभिन्नै प्रकारको छ । पश्चिम नेपालमा रहेको छाउपडी प्रथामा महिलाले महिनावारी बार्न घरदेखि टाढा र असुरक्षित गोठमा बस्नुपर्छ । छाउपडी गोठमा बस्दा कैयौं महिलाले बलात्कारको शिकार बन्नु परेको तथा सर्प र जङ्गली जनावरको आक्रमणमा ज्यान गुमाउनु परेको छ ।
पूर्वी नेपालमा भने बाह्मण क्षेत्रीमा पहिलोपल्ट महिनावारी हुँदा घरबाहिर बस्नुपर्ने र अरुबेला पूजापाठ गर्न नहुने, दशैं तिहारमा टिका लगाउन नहुने, मठमन्दिरमा जान नहुने लगायतका थुप्रै विभेदकारी प्रथाका कारण महिलाहरू कथित हिंसामा पर्ने गरेका छन् ।
पूर्वस्वास्थ्य राज्यमन्त्री एवं प्रतिनिधिसभा सदस्य डा तोसिमा कार्कीले महिनावारीमा विभेद गर्ने प्रथा महिलामाथिको हिंसा नै भएकाले यसलाई कानुनी रूपमा दण्डनीय बनाउनुपर्ने बताउछन् । “पश्चिम नेपालमा छाउगोठ भत्काएर यसको समाधान खोज्ने कार्य पनि गरिए”, डा कार्की भन्छन्, “गोठ भत्काएर मात्र छाउपडी प्रथाको अन्त्य नहुने रहेछ भन्ने स्पष्ट भइसक्यो । हरेक मानिसको दिमागमा रहेको अन्धविश्वास र विभेदकारी सोच भत्काउन सकियो भने मात्र महिनावारीमा हुनेलगायतका महिलामाथिका सबैखाले हिंसा हटाउन सकिन्छ ।”
मुलुकमा मर्यादित महिनावारीका बारेमा कतिपय गोष्ठी र सेमिनारमा सामान्य छलफल हुने गरे तापनि समाजको सोचमा रुपान्तरण ल्याउने गरी अभियान अहिलेसम्म चलाइएको छैन । महिला हक र अधिकारका लागि स्थापित सङ्घसंस्थाहरूले लैंगिक हिंसाविरुद्ध थुप्रै अभियान सञ्चालन गरेको पाइन्छ । महिनावारीमा हुने हिंसा र विभेद्लाई सामान्य रुपमा लिने कारणबाट यो विषय ओझेलमा परेको हो ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयकी सामाजिक विकास अधिकृत दुर्गा बरालले लैंगिक हिंसा न्यूनीकरण गर्नका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको र सोही अनुसार बजेट विनियोजन गरिरहेको बताए । मर्यादित महिनावारीका लागि भनेर कुनै कार्यक्रम नगरिएको भए तापनि लैंगिक हिंसाविरुद्धको अभियानमा जोडेर प्रदेश सरकारले हरेक महिलाको सम्मान र समान अधिकार उपभोग गर्न पाउने हकको रक्षाका लागि विभिन्न गतिविधि गरिरहेको उनले बताए ।
‘मर्यादित महिनावारी’को विषयमा ‘राधा पौडेल फाउण्डेशन’ नामक संस्था स्थापना गरेर देशव्यापी सचेतना अभियान सञ्चालन गरिरहेकी फाउन्डेसनकी अध्यक्ष राधा पौडेल महिलामाथिको हिंसा र विभेद हटाउने विषयलाई सबैको साझा सरोकार र सामाजिक सवाल नबनाएसम्म समाज सुखी र समृद्ध बन्न नसक्ने धारणा व्यक्त गर्छन् । “यो टाठाबाठा महिलाको मात्र सवाल हो भनेर पुग्दैन”, अध्यक्ष पौडेल भन्छन्, “महिनावारीको रगतले तिमी जन्मिएका हौँ भनेर कहिल्यै नसिकाएका कारण पुरुषहरूमा सानै उमेरदेखि घमण्ड पलाउँछ । पछि त्यही पुरुष बलात्कारी भएर निस्किन्छ ।”
महिनावारीको रगत अशुद्ध हो, फोहर रगत हो भनेर महिलालाई कमजोर बनाउने भाष्य समाजमा सिर्जना गरिएको जनाउँदै पौडेलले महिनावारीलाई अछुत ठान्ने र पोषिलो खानेकुराबाट बञ्चित गर्ने कुनै पनि हिंसाजन्य हर्कत नसहने संस्कार र सामाजिक परिवेश निर्माणका लागि दह्रो जागरुकता आवश्यक रहेको धारणा व्यक्त गरे । मर्यादित महिनावारी अभियान चलाउनका लागि विद्यालयहरू सबैभन्दा उपयुक्त थलो हुने र त्यहाँबाट जनचेतना घरघर पुग्ने उनको भनाइ छ ।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि