२८ असार २०८१, शुक्रबार
मनोरन्जन मुख्‍य समाचार साहित्य/ समाचार

बोनिता (कथा)

बोनिता (कथा)

-मुना चौधरी, 

खुसी हुँदै विशाखाको गालामा लुकासले चुम्बन गरे । उनको चुम्बनले विशाखा फतक्कै गलिन् । तिर्खाएको बटुवालाई कसैले पानी पिउन दिएजस्तो । उनले लुकासको चुम्बन शीतल र प्रेमले भरिएको अनुभव गरिन् । उनका कुण्ठित इच्छाहरु सलबलाए । उनको चुम्बनले विशाखाका जिउभरि आगो लागेझैँ भयो । उनले अनौठो ऊर्जा अनुभव गरिन् । उनको छेउमा बसिरहेका लुकासको काखमा टाउको राखेर उनी लतमन्न् भइन् । जवानीले भरिपूर्ण विशाखालाई देखेर लुकास बस्न सकेनन् । विशाखालाई चुम्बन गर्न थाले । धेरै बेरसम्म चुम्बन गरिरहे । विशाखा पूरै जिउ लुकासलाई सुम्पिन् । उनी आफू विवाहीत हुँ भन्ने कुरा पहिला नै बिर्सिसकेकी थिइन् । आफ्नो जिउ लुकासलाई सुम्पिँदा सात वर्षसँगै बसेका लोग्ने विशाललाई समेत बिर्सिन् ।

उनी लोग्नेको प्रेम बिर्सिन् । उनले प्रेमको महत्त्व बिर्सिन् । विवाहका प्रतिबद्धताहरु बिर्सिन् । प्रत्येक वाचाबन्धन बिर्सिन् । कठिन संघर्ष गरेर लोग्नेले विदेश उनलाई ल्याएको उपकार र जिम्मेवारी बिर्सिन् । आफू कसैकी स्वास्नी हुँ भन्ने कुरा बिर्सिन् । आफ्नो दायरा बिर्सिन् । बाँकी सबै थोक भाडमा जाओस् भन्ने भावना उनको मनमा जागृत भयो । सम्झिन् केवल लुकासको नांगो र आकर्षक गोरो जिउ अनुभूत गरिन् केवल लुकासले निचोरिरहेका अंगहरुको कम्प । अन्नतः उनीहरुबीच अनैतिक शारिरीक सम्बन्ध स्थापित भयो । लुकाससँगको शारिरीक सम्बन्धले उनी दिनभरिको तनाव बिर्सिन् । फुका अनुभव गरिन् । हावामा उडेसरी हलुका अनुभव गरिन् । सबै सम्बन्धबाट फुक्का अनुभव गरिन । केवल उनी लुकासको प्रेममा परेको अनुभव गरिन् । लुकासलाई सम्झिँन उनलाई कुनै वेला, मौका वा समय चाहिँदैन्थ्यो ।


दिनरात लुकास उनको हृदयमा राज गरिरहन्थ्यो । राति विशाल घर पर्किनुभन्दा अगाडि उनी घर पर्किसकेकी थिइन् । उनी आज धेरै सन्तुष्ट थिइन् । उनलाई धेरै भोक लागेको थियो । घर पुग्नेबित्तिकै बिहान पकाएर राखेको दाल, भात र तरकारी खाइन् । खाएर घप्लक्क निदाइन् । विशाल घर फर्केको उनी चाल पाइनन् । अब उनी प्रत्यके दिन कामबाट फर्केर लुकासको घर जान्थिन् । लुकासको घरमा सँगै रातिको खाना खान्थिन् । लुकाससँग शारिरकि सम्बन्ध राख्थिन् । विशाल घर पर्किनुभन्दा अगाडि उनी घर आइपुग्थिन् । विशाल फर्केपछि उनी गहिरो निद्रामा हुन्थिन् । दिनभरि काम गरेर थकाइ लागेको होला भनरे विशाल उनलाई राति उठाउँदैनथे । अब उनी आफूलाई विशालकी स्वास्नी होइन लुकासको प्रेमीकाको रुपमा स्थापित गरिसकेकी थिइन् । लुकास र विशाललाई उनी तुलना गर्थिन् । तुलना गर्दा श्याम वर्णको विशाल र गोरो वर्णको लुकासमा उनी लुकासलाई नै रोज्थिन् । लुकासले सर्वाङ्ग नांगो पारेर गरेको माया, घन्टौसम्म चुम्बन गरिरहने कम्प, एकान्त पाउनेबित्त्किै उनलाई च्याप्प समात्ने लुकासको फलामे जिउ, प्रेम दर्शाउने तरिका अति नै मन्त्रमुग्ध लाग्थ्यो ।

उनको लुगा, लवाइखवाइको सधैँ प्रशंसा गरिरहन्थ्यो लुकासले । यस्तै प्रशंसामा सम्मोहित हुँदै गइन् । लोग्नेको आत्मिक हेरचाहभन्दा उनलाई लुकासको बाहिरी, कामुक प्रशंसाले तान्यो । लुकास ब्रजिलियन ठिटो । उनी लुकासको गर्लफरेन्ड हुन पाएकोमा मनमनै गर्व गर्थिन् । विदेशिको प्रेममा परेकी छु भनेर उनी गौरवान्वित अनुभव गर्थिन् । लुकासको गोरो छालाप्रति उनी गर्व गर्थिन् । विदेशिसँग सुविधासम्पन्न जीवन जिउन पाउँछु भनेर उनी मनमनै मख्ख थिइन् । काम गर्नेवेला लुकास र विशाखा ज्यादै जिस्किरहन्थे । जिस्केको देखेर त्यहाँ काम गर्ने नेपाली कामदारहरुले विशाललाई एक दिन भने, दाइ भाउजू लुकाससँग जिस्किरहनु हुन्छ । होस गर्नुस् है । भाउजूलाई प्रयोग गरेर छोड्ला । विदेशिहरुको भर हुन्न ।

हया ! नचाहिने कुरा नगर । विशाखा त्यस्ती छैन । म उसलाई राम्ररी चिन्छु । विशाल भरोसा दिँर्दै कामदारहरुलाई भन्थे । दाइ सम्झेर भनेको हुँ । नराम्रो नासोच्नुस् हामीलाई । कामदारहरुले उदास हुँदै भन्थे । हाम्रो लभ म्यारेज हो भाइ । त्यस्तो कदम विशाखाले चाल्दिन । विशालले भन्थे । कामदारहरुका कुरा सुनेर उनी राति विशाखालाई भने, लुकाससँग धेरै कुरा नगर् है केटाहरुले तेरो लुकाससँग चक्कर छ भन्दै छ । हजुरलाई कसले भन्यो यस्तो कुरा ? विशाखाले भनिन् । काम गर्ने केटाहरुले । विशालले भने । हामी बुढाबुढी एकै ठाउँमा काम गरेको देखेर तिनीहरु जलेका हुन् अरु केही होइन । उनको कुरा विशालले विश्वास गरे । विशाखा विशालसँग बस्थिन् तर लुकासको प्रेमीकाको रुपमा आफूलाई स्थापित गरिसकेकी थिइन् ।

अब उनी आफूलाई लुकासको श्रीमतीको रुपमा स्थापित गर्न चाहन्थिन् । उनी लुकासको घरमा सधैँ एक, दुई घन्टा बसेर सन्तुष्ट थिइनन् । लुकाससँग सिंगो रात बिताउन चाहन्थिन् । उनीसित पुरै जीवन जिउन चाहन्थिन् । उनको दुःख, सुखको साथी बन्न चाहन्थिन् । लुकास पनि उनको प्रेममा चुर्लुम्म डुबेका थिए । उनीहरु एकअर्का बिना बाँच्नै नसक्ने भइसकेका थिए । उनीहरु सँगै बस्न चाहन्थे । युगौँयुगसम्म एकअर्काको हुन चाहन्थे । दिनरात एकअर्काको अनुहार हेरेर बिताउन चाहन्थे जीवन । अन्ततः उनीहरुसँगै बस्ने निधो गरे । उनी विशाललाई छोड्ने निर्णयमा पुगिन् तर विशाललाई खुलेर भन्न सकिनन् । छुट्टीको दिन थियो । विशाखा घरमै थिइन् । हिसाब, किताब मिलाउनु छ भनेर विशाल दुई घन्टाका लागि रेस्टुरेन्ट गए । त्यही मौका छोपेर विशाखा आफ्ना सबै लुगा लगेजमा हालिन् । लुकासको घर उनीसँगै बस्न हिँडिन् । लुकासको घर पुगेर विशाखाले विशाललाई मोबाइलमा मेसेज पठाइन्, प्रिय विशाल, मलाई माफ गरिदिनुस् । म हजुरकी हुन सकिनँ ।

एक वर्षदेखि म लुकासको प्रेममा छु । हामी एकअर्काबिना बाँच्नै नसक्ने अवस्थामा पुगिसकेका छौँ । हजुर धेरै राम्रो मान्छे हुनुहुन्छ तर हजुरको भाग्यमा मेरो नाम लेखिएको थिएन । यही सोचेर मलाई माफ गरिदिनुहोस् । हजुरले मेरा लागि जे जति गर्नुभयो त्यसको लागि म जीवनभरि आभारी रहनेछु । नेपालबाट विदेश ल्याउनुभयो । त्यसका लागि पनि हजुरप्रति कृतज्ञ छु । हुन त म माफीको लायक छैन । हजुरको हृदय विशाल छ । मेरो खुसीमा खुसी हुनुहुनेछ भन्ने आसा छ । म असल स्वास्नी बन्न सकिनँ । यही सोचेर मलाई घृणा गर्नुहोला । मलाई घृणा गर्नुभयो भने हजुरको मनमा मप्रति रहेको माया आफैँ घट्दै जाने छ । मलाई घृणा गर्ने हजुरलाई पूर्ण अधिकार छ । म घृणाकै लायक छु । घृणामा पनि माया मिसिएर आयो भने त्यो मायालाई पनि घृणामै समाहित गरेर मलाई आफनो हृदयबाट बाहिर निकालेर फाल्नुहोला । यसैमा मेरो र हजुरको भलाई छ । हजुरकी हुन नसकेकी विशाखा मेसेज पाउने बित्तिकै विशालले विशाखालाई फोन गरे । स्वीच्ड अफ थियो ।

विशाखा जिस्किरहेकी पो छे कि भनेर उनी काम गर्न छोडेर घर फर्किए । घरमा विशाखा र उनका सामानहरु थिएनन् । उनी छांगाबाट खसेझैँ भए । उनी विदेशमा आफनी स्वास्नीलाई कहाँ खोज्थे एक्लै ? उनी चारैतिर अँध्यारो देखे । यो संसारमा आफनो कसैलाई देखेनन् । सबैलाई पराई मात्र देखे । जिउँदो लास भए । केही समयको लागि उनको दिमाग खाली भयो । केही सोच्न सकेनन् । उनलाई चक्कर आउला जस्तो भयो । जहाँको त्यही लड्छु जस्तो भयो । उनी थचक्क बसे । उनको स्वाभिमानमा धक्का महसुस भयो । मुटुमा कम्पन्न उत्पन्न भयो । हृदयघात भएर मर्छु जस्तो अनुभव भयो । उनले तुरुन्तै मुटु छामे । मनमा सहास ल्याए । गाउँघर, बाआमालाई सम्झे । गाउँमा एउटा झुपडीमा सुत्दा यति पीडा कहिले भएको थिएन । नुन, रोटी खाँदा पनि ऊर्जाहीन कहिले अनुभव भएको थिएन तर आज उनी ऊर्जाहीन अनुभव गरे । लगतै बाआमाको अनुहार सम्झे । लगतै उनले मनमनै भनेँ, बाआमाले त्यति दुःख गरेर मलाई एउटी केटीको पछि लागेर मर्नका लागि पालनपोषण गरेका होइनन् । उसको पछि लागेर पागल बन्नका लागि हुर्काएका होइनन् । थुक्क मुला ! म आफैलाई थुक्छु ।

जीवनमा केही असल काम गर्नका लागि बाआमाले हुर्काएका हुन् मलाई । यति कुरा सम्झेर उनी आफूलाई दरो बनाए । तर, विशाखालाई पटक पटक फोन गरिरहे । उनको मोबाइल स्वीच्ड अफ आइरहयो । उनी जीवित भएर पनि मरेतुल्य आफूलाई अनुभव गरे पनि मन दारो बनाइरहे । उनको ओठ, मुख सुकिसकेको थियो । लोग्ने हुँदाहुँदै अरु पुरुषसँग स्वास्नी पोइल जानु कुन लोग्नेले सहन सक्छन् र ? विशाखाले उनीमाथि यही प्रश्न तेर्सयाएर गएकी थिइन्, स्वास्नी सम्हाल्ने लायकको किन हुनुभएन ? उनी मनमनै भनिरहेका थिएँ, म तेरै लागि र हाम्रै भविष्य सुन्दर बनाउनका लागि दिनभरि काममा व्यस्त रहन्थेँ । यो कुरा किन बुझिनस् विशाखा तैँले ? भौतिक प्रेमको पछि लागेर आत्मिक प्रेमको हत्या कसरी गर्न सक्छेस् तैँले ? ममा के कमी थियो ? तेरा लागि के गरिनँ मैले ? उनी आफैँलाई यी प्रश्नहरु गरेर रोए । योभन्दा अगाडि उनको आँखाबाट कहिले आँसु झरेको थिएन । विशाखा गइसकेपछि जीवनमा पहिलोपटक उनी रोएका थिए । पहिलोपटक उनी एक्लो भएको अनुभव गरे ।

भौतिक सुविधा र मान्छेले खचाचख भरिएको सहरमा उनी मसानघाटझैँ सुनसान अनुभूत गरे । उनी रातभरि बिहान हुने प्रतीक्षामा थिए । विशाखा काम गर्न आउली कि नआउली ? आए फकाएर घर फर्काउँछु सोचेर उनी काममा सबेरै गए । स्वास्नीलाई एक मौका दिनु असल र जिम्मेवार लोग्नेको कर्तव्य हो सोचे उनले । विशाखा काममा आउँदिन होला कि भनेर उनी डराएका पनि थिए तर त्यस्तो भएन । लुकास र विशाखा सधैँझैँ काममा आए । विशालले विशाखा र लुकाससँग कुरा गर्न खोजे तर विशाखाले, यो काम गर्ने ठाउँ हो । यहाँ औपचारिक कुरा मात्र गर्नुस् नभए म प्रहरीलाई बोलाउँछु भन्दै धम्काइन् । उनी हातपात गर्न गलत सम्झे । स्वास्नी मान्छेहरुका लागि विदेशमा कानुनु कडा छ भन्ने उनले सुनेका थिए तथापि उनी विशाखालाई धेरै कुरा भन्न चाहन्थे । विवाह मण्डपमा सँगै मर्ने र बाँच्ने कसम खाएका दिनहरु सम्झाउन चाहन्थे तर केही भन्न सकेनन् । आफनै अगाडि स्वास्नी अरुसँग पोइल गइसकेको कुरा पचाउन गारो थियो । आँखा अगाडि आफनी स्वास्नीलाई अरु पुरुषसँग झेल्न कति कसक थियो । उनको मुटु भतभती पोलिरहेको थियो । दुबैलाई देखेर आगो दन्किरहेको थियो उनको मनमा । क्रोधले उनको अनुहार रातो हुन्थ्यो वेलावेला । उनी धेरै सोचे । काम छोडेर अर्के ठाउँमा काम गर्न उनी हानिन तयार थिए । तर उनले फेरि सोचे, पोर्चुगल जस्तो ठाउँमा काम पाउँदैन । काम छोडे भने नयाँ काम पाउन यहाँ चार, पाँच महिना कुर्नुपर्छ । त्योभन्दा पनि बढी समय लाग्न सक्छ काम खोज्न । कुनै ठिगान छैन । काम पाइहाले भने पनि तल्लो स्तरबाट काम गर्नुपर्छ ।

यहाँको जस्तो पद र पैसा देला नदेला । उनी पाँच वर्ष काम गररे यो रेस्टुरेन्टमा म्यानेजर भएका थिए । तलब पनि राम्रै थियो । यही सोचेर उनले काम छोडेनन् । विवाहपछि विशाल र विशाखाको जीवन गहिरो तलाउझैँ शान्त थियो । प्रेमिल थियो । जुनेली साँझ झैं चकमन्न तर सजिएको थियो एकअर्काको सुवासले । टाढाटाढासम्म कुनै दुःखको संकेत थिएन । वेदना र विछोडको भय थिएन । चार वर्ष अगाडि विशाल पोर्चुगल छिरेका थिए अथाह सपना बोकेर । खुसीको संसार साचेर । अनगिन्ती रहर समेटेर । उनी हरदम तयार थिए ती रहरहरु पूरा गर्न । जति दुःख गरे पनि स्वास्नी विशाखालाई सम्झेर उनी धेरै खुसी हुन्थे । थरिथरिका सपना सजाउँथे । विशाखाका हरेक चाहना पूरा गर्ने आट कस्थे । पसिनाकको खोलै बगाउन तयार थिए । उनी चार वर्षसम्म धेरै संघर्ष गरेर बसेका थिए । दिनरात नभनी काम हान्थे भविष्य सुन्दर बनाउन, पैसा कमाउन र स्वास्नीका लागि खुसी किन्न । टि. आर. कार्ड पाएको दिन सबैभन्दा बढी खुसी थिए । नेपाल नफर्केको चार वर्ष भइसकेको थियो । चार वर्षमा उनले धेरै तीता र संघर्षले भरिएका पलहरु बिताएका थिए । कार्ड आएपछि ती सबै पलहरु एकमुस्ट रुपमा बिर्से । केवल सम्झे बिशाखालाई । त्यसपछि बाआमालाई । विशााखासँग बिहे गरेको सात वर्ष भएको थियो ।

तीन वर्ष उनीहरुसँगै बसे त्यसपछि अनन्त सपनाहरु पूरा गर्न र विशाखालाई सुविधायुक्त जीवन दिन उनी विदेशिएका थिए । कार्ड पाउने बित्तिकै उनले पहिला विशाखालाई नै सम्झे । हुन त उनीहरुबीच दिनहुँ कुरा हुन्थ्यो सामाजिक संजालमार्फत् । कार्ड पाएर उनी नेपाल फर्के दुई महिनाका लागि । विशाखालाई आफूकहाँ विदेश ल्याउनका लागि सबै प्रक्रिया मिलाएर उनी फेरि विदेश फर्किए । ६ महिनपछि विशाखा विदेश आइन् । एकअर्काको सामिप्यता पाएर दुबैजना धेरै खुसी थिए । दिनहरु बितिरहेका थिए । पोर्चुगलमा काम पाउन धेरै नै सकस थियो । हतपत काम पाउन सकिँदैन थियो । किनकि यहाँ एसियन, युरोपियन र अफ्रिकन युवाहरुको चाप उच्च छ । विशालले चिनेका साथीभाइहरुलाई विशाखाका लागि काम खोजिदिन पनि अनुरोध गरे । उनले आफनो रेस्टुरेन्टको सुहुलाई पनि आफनी स्वास्नी बेरोजगार भएकोले आफू कार्यरत रेस्टुरामा काम दिन अनुरोध गरे । एक हप्तापछि उनका साहूले त्यही रेस्टुरामा विशाखालाई काममा बोलाए । लोग्ने, स्वास्नी दुबैजना एकै ठाउँमा काम पाएर घेरै खुसी थिए ।

विशाल पोर्चुगल आएदेखि एउटै रेस्टुरामा काम गरिरहेका हुनाले उनी साहूको विश्वासका पात्र थिए । रेस्टुराको सबै जिम्मा साहुले उनलाई नै दिएका थिए । त्यो रेस्टुरामा ब्राजिलियन, एसियन, अफ्रिकन केटाकेटीहरु काम गर्थे । रेस्टुराको सबै जिम्मा विशालको काँधमा भएकाले उनी सधैँ व्यस्त रहन्थेँ । विशाखासँग बोल्ने फुर्सद हुँदैन्थ्यो । घर फर्किने वेला विशाखा कुरिरहेकी हुन्थिन उनलाई तर सबै हिसाब, किताब मिलाएर उनी निस्किँदा धेरै ढिला भइसकेको हुन्थ्यो । थकाइ लागेर विशाखा तखतरान हुन्थिन् । सुरुसुरुमा उनी सधैँ विशाललाई पर्खिन्थिन् । पछि विशाललाई पर्खिन छोडिन । बरु चाँडै घर फर्केर आराम गर्छु सोचेर एक्लै घर फर्किन्थिन् । विशाल ढिला फर्किन्थे सबै हिसाबकिताब मिलाएर । विशाल दिनभरि काममा व्यस्त रहन्थे । राति विशाखाभन्दा ढिला घर फर्किन्थे उनी । उनीहरु कामको व्यस्तताले एकअर्काका लागि समय निकाल्न सकिरहेका थिएनन् । राति १ बजे विशाल घर फर्किन्थे । विशाखा ११ बजे फर्किसकेकी हुन्थिन् । यी दुई घन्टामा विशाखालाई विशालको कमी धेरै नै अनुभव हुन्थ्यो । विशाल फर्किनुभन्दा अगाडि विशाखा निदाइसकेकी हुन्थिन् । कुनै कुनै रात विशाखा विशाललाई पर्खिरहन्थिन् । विशाल आउनेबित्तिकै उनी कहिलेकाही उनलाई अँगालोमा च्याप्थिन् । उनी समातेको वेलामा विशाल झर्किँदै भन्थे, मलाई नसमात् । यस्तो मलाई मनपर्दैन सधैँ । कामको कति तनाव छ । तँ चाँहि जहिले … । उनको कुरा सुनेर विशाखा निरास हुन्थिन् । उनी समय दिन नसकेकाले विशाखा काम गर्दै दिनभरि उदास रहन्थिन् । उनलाई उदास देखेर उनीसँगै काम गर्ने ठिटो लुकासले उनलाई सधैँँ हेरचाह गर्न खोज्दै पोर्तुगिज भाषामा सोध्थे, तु दु वाइ ? (सबै ठिक छ ।) उनी टाउको हल्लाउँदै, सि तु दु वाइ (सबै ठिक छ) भन्थिन् । उनको उदास अनुहार देखेर लुकास उनलाई सधैँ हेरचाह गर्न खोज्द्थे। काम गर्दागर्दै उनीसँग जिस्किन्थे । उनलाई हाँसाउँथे । विस्तारै विशाखा हाँस्न थालिन् लुकासको कुरा सुनेर । वेलावेला लुकाससँग जिस्किन्थिन् । उनको उदासी लुकासले हरण गरिसकेको थियो । उनी दिनभरि काम गर्दै लुकासँग बोल्थिन् । जिस्किन्थिन् । उनी पहिलाको भन्दा धेरै परिवर्तन भइसकेकी थिइन् ।

प्रत्येक दिन थरिथरिको लुगा लगाएर रेस्टुरा आउँथिन् । हप्तैपिच्छे ब्युटि पार्लर जान्थिन् । श्रृंगार गर्थिन् । म विवाहीत हुँ भन्ने कुरा उनी विस्तारै बिर्सिँदै गइन् । ओछ्यानमा विशालसँग सुत्थिन् तर आँखामा, मनमा, हृदयमा लुकास हुन्थ्यो । उनी आँखा बन्द गरेर लुकासलाई सम्झिरेकी हुन्थिन् । अग्लो कद, गोरो, निलो आँखा, हट्टाकठा, खैरो दारी, कपाल, लाम्चो अनुहार भएका लुकास उनलाई कर्णप्रिय लाग्न थाल्यो । लुकास पनि उनलाई मनमनै मन पराउँथे तर उनी विवाहीत भएकीले केही भन्न सकेका थिएनन् । एक दिन कामबाट उनीहरुसँगै घर फर्किरहेका थिए । लुकासको घर बाटोमै पथ्र्यो । लुकासले उनलाई आफनो घर कफी खान जान अनुरोध गरे । उनी लुकासको अनुरोधलाई स्वीकारिन् । उनी लुकाससँगै उनको घर पुगिन् । लुकासले कफी बनाएर ल्याए । दुबैजना कफी पिउन थाले । कफी पिउँदै लुकासले भने, बोनिता । (धेरै सुन्दर छ्यौ तिमी ।) ओबरिगादा । (धन्यवाद भनिन् विशाखाले । के मलाई तिमीजस्तै केटी खोजिदिन सक्छ्यौ ? लुकासले सोधे किन चाहियो मजस्तो केटी । विशाखा जिस्कििँदै भनिन् । तिमी राम्री छ्यौ त्यही भएर । म छँदै छु नि । के तिमी मलाई मनपराउँछ्यौँ ? लुकासले आँखा सन्काउँदै भने । अँ, अति नै । तपाईँलाई देखिनँ भने मेरो दिनै उदास हुन्छ । विशाखाले भनिन् । उनको कुरा सुनेर लुकास विशाखा नजिक गए । उनको मुखमा हात राख्खै भने, यस्तो नभन । तिमी विवाहीत हौँ ।

मलाई मेरा श्रीमान् मन पर्दैैन । मलाई  तपाईँ मन पर्नुहुन्छ । विशाखाले भनिन् । उनको कुरा सुनेर लुकास खुसी भए । खुसीले विशाखालाई चुमे । लगतै उनको स्तन स्पर्श गर्न थाले । उनी विशाखालाई निर्वस्त्र बनाए । उनको अगाडि विशाखा फतक्कै गलिन् । यसै क्रममा उनीहरुबीच पहिलोपल्ट शारिरीक सम्बन्ध भयो । विशाल विदेश आउनेवेला लिएको ऋण चुक्ता गर्न अझैँ बाँकी थियो । यही सोचेर उनले काम छोडेनन् । उनी त्यहाँ काम गरिरहे । उता विशाखा र लुकासले पनि काम छाडेनन् । आफूसँग सात वर्ष बिताएकी स्वास्नी अरुसँग पोइल गएर त्यही रेस्टुरामा दिनभरि सँगै एकै छानामुनि काम गर्नु कति दर्दनाक र भयानक परिस्थिति ? उनी कुन परिस्थितिबाट गुज्रिरहेका छन् ? आफनी स्वास्नी अरु पुरुषसँग राततभरि सुतेर दिनभरि एउटै छानामुनि काम गर्नुपर्दा उनी कसरी त्यो परिस्थितिमा आफूलाई सम्हालिरहेका छन् ? उनको मुटु टुक्राटुक्रामा परिणत हुन्छ । मनमनै सान्त्वना दिँदै सम्हाल्छन् आफूलाई । उदास र उराठ परिस्थितिलाई सुन्दर बनाउन उनी हर प्रयास गरिरहन्छन् । बिशाखालाई लुकाससँग देख्नेबित्तिकै उनीसँग बिताएका पलहरु उनको आँखामा यसरी नाच्न थाल्छ जसरी भुमरी वरिपरि पानी नाच्छ । उनी विशाखाको मोहको दलदलबाट आफूलाई निकाल्ने प्रयास गरिरहेका छन् । छुट्टीको दिन साथीसरुसँग दिन बिताउछन् । टाढाटाढा घुम्न जान्छन् । बाआमासँग नेपालमा फोनमार्फत् घन्टौँ गफिन्छन् । प्रेरणादायी पुस्तकहरु पढ्छन् । आफूलाई दरो बनाइरहेका छन् । उनी काम गर्दागदै कहिलेकाही धेरै उदास हुन्छन् । विशाखालाई आफनो अगाडि देख्न पनि चाहँदैनन् । नचाहेर पनि सधैँ सँगै एउटै छानामुनि काम गर्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्