१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार

वीरगञ्ज महानगरभित्रका विद्यालयमा बिहान १० : ३० भित्रै पठनपाठन सक्नुपर्ने

२८ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १० : ३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।

वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न सक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर र बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै बिहानीको समयमा कक्षा सञ्चालनको समयावधिलाई कम हुने गरी पठनपाठन गराउन निर्देशन दिएको बताए ।

“महानगरपालिकाको आइतबार बसेको बैठकले हाल शिक्षणको समयावधिमा हुने क्षतिलाई पछि मिलान गर्ने गरी शैक्षिक क्षतिलाई न्यूनीकरण गर्नका लागि अर्को सूचना जारी नभएसम्मका लागि जेठ २८ गतेदेखि बिहान १० : ३० बजेभित्र पठनपाठन सक्ने गरी कक्षा सञ्चालन गर्ने समयावधि व्यवस्थापन गर्न गराउनुहुन अनुरोध गरिन्छ”,उनले भने ।

वीरगञ्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो । महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगञ्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गरिएको थियो ।

यसपछि बर्सा्त भए पनि वीरगञ्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्