१२ श्रावण २०८१, शनिबार
प्रदेस समाचार बागमती मुख्‍य समाचार समाचार समाज

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

२७ जेठ, चितवन । भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गरेका हुन्।

महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताए। उनले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछूतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताए ।

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उनको भनाइ थियो ।

अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछूत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, “समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।”

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिए । तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्