१२ श्रावण २०८१, शनिबार
जीवनशैली

‘पचेडा’मा सन्तलाल चेपाङको जीवन

२७ जेठ , काठमाडौं । दीपेन्द्र केसीको निर्देशनमा वृत्तचित्र ‘पचेडा’ तयार भएको छ । वृत्तचित्रमा जंगलमा बस्दै आएका चेपाङको जीवनशैलीलाई समेटिएको छ ।
एक समय म्यूजिक भिडियोमा व्यस्त बनेका दीपेन्द्रले ओस्कर कलेजबाट फिल्म निर्देशनमा पास आउट गरेका छन् ।

मनहरी गाउँपालिका वडा नम्बर ४ का सदस्य विष्णुबहादुर प्रजाको सहयोगमा यो वृत्तचित्र तयार पारेका हुन् । उनले वृत्तचित्रमा चेपाङ जङ्गलमै किन बसिरहेका छन् ? उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ? लगायतका विषयलाई समेटेका छन् ।

‘वृत्तचित्र हेरिरहँदा दर्शकलाई कुनै हरर फिल्म हेरिरहेको झल्को आए पनि यसमा चेपाङ समुदायको वास्तविक कथा छ । वृत्तचित्रमा सन्तलाल चेपाङको परिवारले बाँच्नका लागि गरिरहेको सङ्घर्ष कथालाई जस्ताको त्यस्तै देखाउने कोसिश गरेको छु’, दीपेन्द्रले भने ।

दीपेन्द्रका अनुसार यो वृत्तचित्र उनले तीन सेड्युलमा तयार पारेका छन् । ‘मैले त्यहाँ डकुमेन्ट्री मात्र खिचिन्, सन्तलालको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ’, दीपेन्द्र भन्छन्, ‘मेरो इच्छा नै उनीहरूको जीवन र समुदायमा बदलाव ल्याउनु हो । किनकि अहिलेको समयमा सहर नपसेर जङ्गलमै बस्नु रहर होइन ।’

वृत्तचित्रमा सन्तलालसँगै उनको परिवार फिचर्ड छन् । वृत्तचित्र सन्तलाल बसिरहेको मकवानपुर जिल्लाको मनहरी गाउँपालिकास्थित नयाँ वस्तीमा खिचिएको हो । वृत्तचित्रकी निर्माता विनिता क्षेत्री र सह–निर्माता बालकृष्ण खड्गी हुन् ।

वृत्तचित्रको प्रदर्शनी सोही चेपाङ बस्तीसँगै अस्ट्रेलियासहितका केही देशमा गर्ने तयारी निर्माण कम्पनि देव डी प्रोडक्सनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्