११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

कैलाश सिरोहिया ९ दिनपछि छुटे

१६ जेठ, काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नौ दिनपछि हिरासतमुक्त भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, धनुषाले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको हो ।

सरकारी वकिल कार्यालयले तयार पारेको लिखित विवरणमा सिरोहियालाई नागरिकता प्रमाणपत्र अनुसन्धानका लागि थुनामा राखिरहनु नपर्ने उल्लेख छ । उनको स्वास्थ्य अवस्था समेतलाई कारण देखाउँदै छोड्न कार्यालयले भनेको छ ।

सिरोहियाले धनुषाबाट नागरिकता प्रमाणपत्र प्राप्त गर्दाका बखत नागरिकता फाँटका कर्मचारी रहेका काशीराज दाहालले आफ्नो हस्ताक्षरमा उनलाई नागरिकता प्रमाणपत्र दिएको भनी स्वीकार गरेको तथ्यलाई सरकारी वकिल कार्यालयले सिरोहिया रिहाईको मूल आधार मानेको छ । सिरोहियाको नागरिकता नम्बर राख्ने क्रममा फाँटवाला कर्मचारीले गरेको त्रुटिमा सेवाग्राही जिम्मेवार नहुने देखिएको पाइएपछि उनलाई रिहाई गरिएको अधिवक्ता रमण कर्णले बताएका छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि सिरोहिया १२ जेठमा काव्या अस्पताल भर्ना गरिएका थिए । मुटु सम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो एयरलिफ्ट गरेर काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उनलाई स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाई नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो ।

अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालय पुगेर सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्