२३ फाल्गुन २०८२, शनिबार
जीवनशैली मुख्‍य समाचार

राँगाको मासुमा हुनसक्छ फित्तेजुका, के हानि गर्छ

११ जेठ ,  काठमाडौं । भक्तपुरको दुई पोखरीस्थित एक होटल व्यवसायी भन्छन्- ‘राँगाको ताजा मासुमा पनि जुका भेटिन्छ । काट्दा काट्दैको मासुमा कसरी जुका पर्छ ?’ मःम वा अन्य परिकार बनाउनका लागि ल्याइएको मासुमा बारम्बार जुका भेटिने गरेको उनको भनाइ छ ।

मासुका लागि काठमाडौंमा दैनिक औसत एक हजार राँगाभैंसी काटिने गरको तथ्यांक छ । यी मासुहरु वधशालाबाट सोझै होटल वा उपभोक्ताको भान्सामा पुग्ने गरेको छ । २०० बढी वधशालामा नियमित रुपमा मासुको गुणस्तर जाँच भएको पाइँदैन ।

पशुरोग विशेषज्ञ डा. सुजन राणा भन्छन्, ‘ताजा खासगरी फल मासु नियालेर हेर्दा जुका भेटिन्छ । यो फित्ते जुका हो । उनका अनुसार यसलाई मेडिकल भाषामा ‘टेनिया स्याजिनाटा’ भनिन्छ । मुख्यत: राँगाभैंसीको आन्द्रामा यस्तो जुका हुन्छ । त्यहींबाट अन्यत्र पनि फैलिने गर्छ ।

फित्तेजुका एकखाले चेप्टो परजीवी कीरा हो । यो चेप्टो हुने भएकोले यसलाई फित्तेजुका भनिएको हो ।

दिसा लगायतमा यसको अण्डा हुन्छ, जुन घाँसपानी खाने क्रममा राँगाभैंसीको आन्द्रामा पुग्छ । त्यही यसको लार्भा बन्छ । आन्द्राबाटै यो जनवारको अन्य भागमा फैलिन्छ र सिस्ट (पानीको फोका) बन्छ । त्यस्तो जनावरलाई काट्दा मासुमा जुका भेटिन्छ । खासगरी चिउँडो, जिब्रो, घाँटी तथा टाउकोको मासुमा फित्तेजुका बढी हुन्छ ।

डा. राणाका अनुसार राँगाको चिउँडो, जिब्रो, घाँटी र टाउकोको मासुमा फित्तेजुका बढी हुन्छ । ‘यसबाहेक अन्य भागमा पनि हुनसक्छ,’ डा. राणा भन्छन्, ‘फल मासुमा राम्ररी खोज्यो भने जुका भेटिन सक्छ ।’

यस्तो मासु खाँदा के हुन्छ ?

राँगाको मासु विभिन्न परिकार बनाएर खाइने गरिन्छ । यदि उक्त मासुमा फित्ते जुकाको लार्भा भएमा त्यो सहजै मान्छेको शरीरमा पुग्छ ।

जुका आन्द्रामा टाँसिएर बस्छ । यस्तो अवस्थामा मान्छेले जतिपनि खानेकुरा खान्छन्, त्यसको पोषक तत्व जुकाले खाइदिन्छ । त्यही कारण पेटमा जुका परेपछि मान्छे कमजोर र कुपोषित देखिन थाल्छ ।

फित्तेजुकाले आन्द्रामा अण्डा पार्न सक्छ र त्यो रगतको माध्यम हुँदै शरीरको अन्य अंगमा फैलिन सक्छ । कलेजो, मिर्गौला, मांसपेशी र मस्तिष्कसम्म पुग्ने जोखिम छ,’ डा. राणा भन्छन्, ‘यस्तो अवस्थामा छारेरोग, पक्षघात हुनसक्छ । समयमा उपचार नगरे मृत्यु समेत हुनसक्छ ।’ जनावरमा रहेको संक्रमण कुनै माध्यमबाट मान्छेमा सर्‍यो भने त्यसलाई ‘जुनोटिक रोग’ भनिन्छ । फित्तेजुकाको संक्रमण पनि एक प्रकारको जुनोटिक रोग नै हो ।

पकाएर खाँदा जुका मर्छ ?

के हामीले खाइरहेको मासुजन्य परिकारमा फित्तेजुका हुनसक्छ ? वा यदि मासुमा यो जुका भए राम्ररी पकाएर, भुटेर खाँदा असर गर्दैन ? यी आम रुपमा उठ्ने प्रश्न हुन् ।

डा. राणा भन्छन्, ‘राम्ररी उसिनेर, भुटेर खाँदा कीरा पनि मर्छ र त्यसले असर गर्दैन भन्ने धेरैको बुझाइ छ । तर वैज्ञानिक रुपमा के पुष्टि भएको छ भने जसरी पकाएर खाएपनि मासुमा त्यसको अंश छ भने त्यसले मान्छेलाई हानि नै गर्छ ।’

अब के गर्ने त ?

डा. राणाका अनुसार यसलाई नियन्त्रण गर्ने एक मात्र राम्रो उपाय भनेको मासु जाँच नै हो । तर नेपालमा मासुको गुणस्तर जाँच गर्ने परिपाटी त्यति छैन ।

‘पशुवध गर्नुअघि वा वधशालामा राँगाभैंसीको मासु जाँच अनिवार्य तवरमा गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्, ‘मासु बिक्री गर्नुअघि त्यसमा सिस्टको संख्या छ कि छैन, छ भने उक्त मासु बिक्री गर्न नमिल्ने नियमावली बनाउनुपर्ने हुन्छ ।’

पाँचवटा सिस्ट देखिएमा दुई-दिन चिसोमा राखेर बेच्ने, १० भन्दा बढी देखिएको भने १० दिन चिस्यानमा राखेर मात्र बेच्ने र त्यो भन्दा बढी भयो भने मासु नबेच्ने अथवा फाल्नुपर्ने कार्यविधि बनाउनुपर्ने उनी बताउँछन् ।

‘तर राँगाभैंसीको स्वास्थ्य जाँच गरिंदैन, न मासु काट्नुअघि न बेच्नुअघि नै त्यसको गुणस्तर जाँच गरिएको पाइन्छ,’ डा. राणा भन्छन्, ‘यही कारण उपभोक्ताको भान्सासम्म फित्तेजुका भएको मासु पुग्ने गरेको छ ।’

मासु जाँच ऐन प्रभावकारी रुपमा कार्यन्वयन नहुँदा उपभोक्ताहरु यस्तो मासुको जोखिममा छन् । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ अन्तर्गत वधशाला ऐनहरू निर्माण भएका छन् । पशुवध गर्नुअघि जँचाउनुपर्ने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, मासुमा छाप वा चिह्न लगाउनुपर्ने जस्ता थुप्रै ऐन छन् । ती ऐन कार्यान्वयन नगरे पाँचदेखि २० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । तर यी सबै ऐन लागू भएका छैनन्, न त सम्बन्धित निकायले कार्यान्वयन भए नभएको अनुगमन नै गरेका छन् ।

ललितपुरस्थित कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशुसेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालका अनुसार पहिले पशुसेवा विभागको अन्तर्गत भेटेरीनरी स्वास्थ्य कार्यालयबाट निरीक्षण गरिन्थे । डा. ढकाल भन्छन्, ‘तर संघीय सरकार आएपछि यो कार्यालय नै खारेज भएको छ । त्यसैले यस विषयमा काम गर्ने कुनै निकाय छैन ।’

थप समाचारहरु

जीवनशैली

मुग्लिन–पोखरा सडकः घरटहरा हटाउन २२ करोड ४५ लाख रकम आवश्यक

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected
जीवनशैली

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

There are many variations of passages of Lorem Ipsum available but the majority have suffered alteration in that some injected