२६ बैशाख २०८१, बुधबार
जीवनशैली प्रदेस समाचार बागमती मुख्‍य समाचार

टुंगियो इन्जिनियरिङको शुल्क विवाद, स्नातक तह पढ्न चार लाख ९० हजार

२१ असोज, काठमाडौं । लामो विवादपछि इन्जिनियरिङ अध्ययनको शुल्क विवाद टुंगिएको छ ।

नयाँ सहमति अनुसार इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहको शुल्क पूर्ण शुल्कीयतर्फ धरौटीसहित एक लाख ९० हजार र निःशुल्क तर्फ पनि १० हजार बढाएको छ ।

यस अनुसार शैक्षिक वर्ष २०८०/०८१ को स्नातक तहको नियमित तर्फ ५६ हजार ७००, पूर्ण शुल्कीय तर्फको (धरौटी सहित) चार लाख ९० हजार र विदेशी विद्यार्थीको हकमा १३ लाख १३ हजार ५०० रुपैयाँ शुल्क कायम गरिएको संस्थानले जनाएको छ ।

साथै प्रवेश परीक्षाका लागि २२ असोजदेखि २४ गतेसम्म फराम भर्नुपर्नेछ भने १४ कात्तिकमा प्रवेश परीक्षा हुनेछ ।

कसरी जुट्यो सहमति ?

इन्जिनियरिङ अध्ययन संस्थानले ५४ सालदेखि पूर्ण शुल्कीयतर्फ तीन लाख १८ हजारमा पढाउँदै आएको थियो । तर संस्थान सञ्चालन नै हुन नसक्ने अवस्था आएको भन्दै सात लाख ७५ हजार रुपैयाँ बनाएपछि शुल्क विवाद सुरु भएको थियो ।

विद्यार्थीहरुको निरन्तर आन्दोलनपछि सुरुमा त्रिवि र सत्तारुढ विद्यार्थी संगठन, त्यसपछि त्रिवि, संस्थान र अरु विद्यार्थी संगठनबीच सहमति भएपछि आन्दोलन रोकियो । त्यो बेला शुल्क पुनरावलोकन गर्ने सहमति भएको थियो ।

सिफारिस समितिले ५ लाख ५४ हजार नयाँ शुल्क तोक्न सकिने सिफारिस ग¥यो । तर विद्यार्थी संगठनहरु यसमा सहमत नभएपछि डीन कार्यालयले नयाँ शुल्कबारे निर्णय गर्न सकेन ।

विद्यार्थीहरुको पुरानै शुल्क (तीन लाख १८ हजार) मा भर्ना गर्नुपर्ने र क्याम्पसहरुले पुरानो शुल्कमा भर्ना लिन नसक्ने भन्दै अडान लिएपछि विवाद लम्बिएको थियो ।

यसबीचमा विभागीय प्रमुखहरुको सामूहिक राजीनामा मात्र आएन, विद्यार्थी संगठनमाथि अपहरणको आरोपसमेत लाग्यो ।

विद्यार्थी संगठनहरुमाथि डीन र सहायक डीनलाई बन्धक बनाएर पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने वक्तव्य जारी गर्न लगाएको आरोप लागेको हो ।

तर शुक्रबार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरु समेतको उपस्थितिमा संस्थान, प्राध्यापक संघ संगठन र विद्यार्थी संगठनहरुहरुबीच भएको छलफलमा नयाँ सहमति जुट्यो ।

संस्थानका सहायक डीन प्रा.डा.चिन्तामणि पोख्रेलका अनुसार कुनै लिखित सहमति भने गरिएको छैन ।

शुक्रबार भएको छलफलमा इन्जिनियरिङ अध्ययन संस्थानको डीन कार्यालयले यो शैक्षिक सत्रमा न्यूनतम चार लाख ९९ हजार तोक्ने र प्रत्येक वर्ष शुल्कतर्फ १० प्रतिशत बढाउने प्रस्ताव राखेको थियो । तर विद्यार्थी संघसंगठनहरुले साढे चार लाख भन्दाबढी बढाउन नहुने अडान लिए ।

डीन कार्यालयले भने पाँच लाखभन्दा तल झरेर शुल्क तोक्न नसक्ने, तर त्रिवि पदाधिकारीले क्याम्पस प्रमुख, प्राध्यापक संघसंगठन र विद्यार्थी संगठनबीच सहमति जुटाए कार्यान्वयन भने गराउने बतायो ।

सहायक डीन प्रा.डा.चिन्तामणि पोख्रेल भन्छन् ‘तपाईंहरु क्याम्पस प्रमुखहरु सहित बसेर सहमति गर्नुहुन्छ भने ठिकै छ, तर डीन कार्यालयले पूर्ण शुल्कीयतर्फ न्यूनतम चार लाख ९९ हजारभन्दा तल झरेर कुनै सहमति गर्न सक्दैनौं भनेर स्पष्ट जवाफ दिएका थियौं ।’

डीन तथा सहायक डीनहरुले त्योभन्दा कम शुल्क तोक्न दबाब दिए राजीनामा दिएर जाने अडान लिए । तर त्रिवि पदाधिकारीहरुहरुले संस्था बचाउनको लागि पनि त्रिविले जुटाएको सहमति मान्न अनुरोध गरेपछि मानेको संस्थानका सहायक डीन प्रा.डा.पोख्रेल बताउँछन् । ‘अर्को पटक दश प्रतिशत बृद्धिको सहमति होला, बीचमा सरकारसँग पनि भनौंला भनेर त्रिवि पदाधिकारीहरुले नै भन्नुभएपछि इन्जिनियरिङ अध्ययन संस्थान जोगाउनका लागि हामीले मुटुमाथि ढुंगा राखेर हुन्छ भनेका हौं ।’

पुल्चोक क्याम्पसका स्ववियु अध्यक्ष विराज अर्याल नयाँ सहमतिले सबैको चित्त बुझेको बताए । आफूहरुले पहिलादेखि नै साढे चार बनाउन सहमति खोजिरहेको भन्दै उनले भने, ‘अहिलेको शुल्कमा हाम्रो आपत्ति छैन ।’

विभागीय प्रमुख उपप्रमुखहरु काममा फर्किए

शुल्क विवादका बीच पुल्चोक क्याम्पस प्रमुख, विभागीय प्रमुख तथा उप–प्रमुखहरुले राजीनामा दिएका थिए । शुल्क विवाद समाधान भएसँगै उनीहरु काममा फर्कने भएका छन् ।

उनीहरुको राजीनामा स्वीकृत नभइसकेकोले आन्तरिक सर्कुलर गरेर काममा फर्काउन डीन कार्यालयले तयारी गरेको छ ।

‘कसैको पनि राजीनामा स्वीकृत नभएकाले अब उहाँहरुलाई काममा फर्कन आन्तरिक सूचना सर्कुलर गर्छौं’ सहायक डीन प्रा.डा. पोख्रेल भन्छन्, ‘सबैको राय लिएर नयाँ शुल्क तोकेकाले उहाँहरु काममा फर्किनुहुन्छ ।’

पुल्चोक क्याम्पसका निमित्त प्रमुख लोक रेग्मीले पनि नयाँ शुल्कमा कसैको अवरोध नहुने सहमति भएकाले काममा फर्कने बताए ।

 

प्रतिक्रिया दिनुहोस्