७ जेष्ठ २०८१, सोमबार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

झापामा ६५ वर्षमाथिका सबै पत्रकारलाई औषधोपचार खर्च

२६ वैशाख, झापा । झापामा ६५ वर्ष उमेर पारगरेका अग्रज पत्रकारलाई सम्मानसहित औषधि उपचार खर्च प्रदान गर्न थालिएको छ । पत्रकार महासङ्घ झापा शाखाले यसै वर्षदेखि सामाजिक सुरक्षा योजना अन्तर्गत ज्येष्ठ पत्रकारलाई सो खर्च प्रदान गर्न थालेको हो ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले ८० वर्षभन्दा माथि उमेर समूहकालाई वार्षिक रु २० हजार र ६५ वर्षदेखि ७९ वर्षसम्मकालाई वार्षिक रु १५ हजारका दरले यो सुविधा प्रदान गरिएको बताए । शाखाको १४औँ अधिवेशनमा यसपटक १९ जनालाई सो सेवा प्रदान गरिएको छ ।

शाखाले सबै पत्रकारको दुर्घटना र औषधि उपचार खर्चकै लागि रु एक करोडभन्दा बढीको अक्षयकोष सञ्चालन गरेको छ । गम्भीर बिरामी र घाइते भएकालाई यो कोषबाट उपचार खर्च प्रदान गरिँदै आएको नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले बताए ।

अग्रज पत्रकारको सम्मान र आफ्ना सदस्यको संरक्षणमा शाखाले खेलेको अभिभावकीय भूमिकाको अग्रज पत्रकारहरूले प्रशंसा गरेका छन् । पत्रकार महासंघका पूर्वमहासचिव चन्द्र भण्डारीले महासंघ झापा शाखाले अग्रज पत्रकारको सम्मानमा सुरूगरेको उपचार खर्च दिने कार्य सराहनीय भएको बताए ।

नेपाल पत्रकार महासंघ झापा शाखाका पूर्वअध्यक्ष चिन्तामणि दाहालले झापा शाखाले अरु शाखाले पनि अनुशरण गर्नमिल्ने काम गरेको भन्दै प्रशंसा गरे । अग्रज पत्रकार तथा साहित्यकार चुणमणि रेग्मीले दीर्घसेवी सम्मान ग्रहण गर्दै पछिल्लो पुस्ताले सम्मानसहित आफूलाई सम्झेकोमा हर्षविभोर भएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधिश अशोककुमार बस्नेतले अग्रजहरूको सम्मानले पछिल्लो पुस्ताको पनि सम्मान बढ्ने भन्दै सो कार्यको निरन्तरताका लागि आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाले प्रकाशन गरेको ‘झापाको पत्रकारिता आरम्भदेखि २०४०’ पुस्तकबारे पनि चर्चा गरिएको छ ।

महासंघको केन्द्रीय महाधिवेशनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकार्पण गरेको पुस्तकमा ३० को दशकको अन्त्यसम्म क्रियाशील रहेका अग्रज पत्रकारको संस्करणात्कम जीवनी समेटिएको छ ।

पुस्तकमा २६ पत्रकारको अन्तरबोध खण्ड, १३ जना पत्रकारको संस्मरण र आठ वटा अभिलेख खण्ड समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्