७ जेष्ठ २०८१, सोमबार
अन्तराष्ट्रिय मुख्‍य समाचार

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाका लागि भक्तजनको अपिल

१९ बैशाख, काठमाडौ । अफगानिस्तानको हेरात प्रान्तका मङ्लबार मस्जिदमा भएको आक्रमणमा एक महिला र एक बालकसहित पाँच जानाको मृत्यु भएपछि आफुहरूको सुरक्षाका लागि भक्तजनहरूले प्रशासनसँग आग्रह गरेका छन् ।

सुरक्षा अधिकारीहरूका अनुसार आक्रमणकारीको पहिचान अहिलेसम्म खुल्न सकेको छैन ।

बन्दुकधारीले साँझको प्रार्थनाका क्रममा पश्चिमी हेरातको गुजारा जिल्लाको मोहम्मदीयामा रहेको मस्जिदमा आक्रमण गरेका थिए ।

हेरातका बासिन्दा मोहम्मद जमानले प्रार्थनास्थल सुरक्षित गर्न आह्वान गर्दै सरकारले सबै मस्जिदहरू सुरक्षित राख्नुपर्ने विषयमा ध्यान दिनु समग्र राष्ट्रवासीको माग भएको बताए ।

यसैबीच, राज्यले सुरक्षाको जिम्मा लिनुपर्ने बताउदै आगामी दिनमा नागरिकको सुरक्षाको सुनिश्चितताका लागि आग्रह गरेको अर्का बासिन्दा असदुल्ला किमेटलाई उद्धृत गरी टोलोन्यूज जनाएको छ ।

हेरात सहरको पश्चिममा रहेको जाबरियालको छिमेकमा बन्दुकधारीहरूले दुई शिया पादरीसहितका बासिन्दाहरूलाई आक्रमण गरेको पाँच महिनापछि यो अर्को आक्रमण भएको हो । उक्त आक्रमणमा दुई जना महिलासहित छ जनाको मृत्यु भएको थियो ।

हेरातका बासिन्दाहरूले आफ्नो प्रान्तमा आक्रमण गर्ने दोषीहरूको यथाशीघ्र पहिचान गरी उचित सजाय हुनुपर्ने माग गरेका छन् ।

अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन । घटनाको अनुसन्धान जारी छ ।

प्रतिक्रिया दिनुहोस्