२७ बैशाख २०८१, बिहीबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

गोरखाको वीरेन्द्र तालमा हिमपहिरो, बाढीले एउटा काठको पुल बगायो

बूढी गण्डकी आसपासका क्षेत्रमा सतर्क रहन आग्रह

९ वैशाख, काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको वीरेन्द्र तालमा हिमपहिरो खसेको छ । तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको छ । बाढीले साम्दु र सामागाउँसहित लार्केपास जोड्ने एउटा काठको पुल बाढीले बगाएको छ ।

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालमा हिमपहिरो खस्दा  तालको पानी ओभरफ्लो भएर बाहिर आएकोले तल्लो क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन सूचना जारी गरेको बताए ।

उनले भने, ‘वीरेन्द्र तालमा हिमपहिरो खस्यो । जसले तालको पानी ओभरफ्लो भएर बगिरहेको छ। बाढीको यो रूपले केही क्षति गर्न सक्छ भनेर तल्लो क्षेत्रमा बसोबास गर्ने स्थानीयहरूलाई सतर्क रहन सूचना जारी गरिसकेका छौं। प्रहरीको उद्दार टोली धार्चे, आरुघाट लगायत क्षेत्रमा खटाइ सकिएको उनले बताए ।

यता, बाढीले साम्दु र सामागाउँसहित लार्केपास जोड्ने एउटा काठको पुल बाढीले बगाएको चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले बताए । उनका अनुसार हिमपहिरोले खोलामा बर्खायाममा आउने बाढी जतिकै पानी बगेको बताए ।

बाढीले कुनै मानवीय क्षति नगरेको भएतापनि सतर्क रहन प्रहरी टोली उक्त क्षेत्रमा खटाएको उनले बताए । उनका अनुसार चुमनुब्री गाउपालिका-२ सामागाउँमा ११५ घरधुरी रहेका छन् भने साम्दु गाउँमा ४० घरधुरी मात्र रहेको छ ।

यस्तै चुमनुब्री गाँउपालिका उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार तालमा हिमपहिरो खसेको र त्यसपछि तालको पानीले बाढीको रुप लिएकाले उक्त क्षेत्रमा वडाबाट प्रहरी परिचालन गरिएको जानकारी दिइन् ।

‘तालमा हिमपहिरो खसेको हो, ताल फुटेको होइन। हामीले स्थानीय वडाध्यक्षहरूलाई जानकारी गराइसकेका छौं भने वडा प्रहरीहरू परिचालन गर्न भनिसकेका छौं।  उनले भनिन्,  बूढीगण्डकीमा धमिलो पानी र बाढी आएको छ । एउटा काठको पुल बगाएको छ भने बुढीगण्डकी किनारमा बसोबास गरेका स्थानीयबासीलाई सतर्क रहन भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस्