२७ बैशाख २०८१, बिहीबार
मुख्‍य समाचार साहित्य/ समाचार

पोखराका साहित्यकार प्रकट पगेनी ‘शिव’को निधन

४ वैशाख, कास्की । पोखराका साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ । निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मनिपालमा भेन्टिलेटरमा भर्ना भएका थिए ।

उपचारका क्रममा उनको निधन भएको जनाएको छ । कविता, गीतसहित शृंगारिक गजलमार्फत प्रख्यात शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

साहित्यकार शिवको परिवारको आग्रहमा पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा आर्थिक संकलन थालिएको अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।

साहित्यकार प्रकटको बचाउका लागि उनका शुभेच्छुक र विभिन्न साहित्यिक संस्थाले सहकार्यसमेत गरिरहेका छन् । साहित्यकार प्रकटको जीवन बचाउन आर्थिक सहयोग गरिदिन अपीलसमेत गरिएको छ । ‘उहाँलाई ज्वरो आइरहेको थियो ।

हिजो बिहान अलि बढी नै समस्या देखिएपछि अस्पताल लगिएको थियो’, प्रकटका भतिज प्रज्वल पगेनीले भने, ‘उहाँमा धेरै इन्फेक्सन पनि देखियो । निमोनिया र जन्डिसले ग्रस्त पारेको रहेछ र उपचारमा पनि आर्थिक समस्या परेपछि सहयोगका लागि आग्रह गरिएको हो ।’

प्रकटका कविता, गजलका किताब प्रकाशित छन् भने ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । पछिल्लो समय प्रकटले जन्मगाउँ रूपा गाउँपालिकामै बसेर फार्म र कटेज सञ्चालनको तयारी गरिरहेका थिए ।

उनले लेखेका चर्चित गजल

साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउदैछ आज ?

हिजो अस्ती उप्किएका, घरका छेउकुना
बिहानदेखि टाली राख्यौ, को आउँदैछ आज ?

एउटा फूल भगवानलाई टिपे भैहाल्यो त,
सिङ्गै फूलको डाली राख्यौं, को आउँदैछ आज ?
साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउँदैछ आज ?

बिहानदेखि सजिएर सिंगारपटार गरी,
शिरको सिउँदो खाली राख्यौ, को आउँदैछ आज ?
साँझमा दियाे बाली राख्याै, काे आउदैछ आज ?
हातका औला चालिराख्याै, काे आउदैछ आज ?

 

प्रतिक्रिया दिनुहोस्