१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

माइतीघरदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हट्यो

३० चैत, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएको छ ।

गत मंसिरदेखि स्थानीय प्रशासनले माइतीघर लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । चौतर्फी आलोचनापछि सुरक्षा समितिको शुक्रबार बसेको बैठकले भोलि १ वैशाखदेखि लागू हुने गरी माइतीघर मण्डलदेखि बानेश्वर (कृष्ण टावर) सम्मको क्षेत्रलाई निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

शुक्रबार नै गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै नागरिकको विचार र अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्दै संविधान र प्रचलित कानुन प्रतिकूल नहुने गरी प्रदर्शन गर्न पाउने हक सुनिश्चित गर्ने निषेधित क्षेत्र कम गर्ने काम भइरहेको बताएको छ ।

साथै सरकारी एवं सार्वजनिक सम्पत्ति र व्यक्तिगत हानी नोक्सानी पुर्‍याए स्थानीय प्रशासन ऐन अनुसार कारबाही गर्ने बताएको छ ।

स्थानीय प्रशासन ऐनमा सार्वजनिक वा व्यक्तिगत सवारी, घर वा सम्पत्ति तोडफोड, आगजनी वा लुटपाट गरी क्षति पुर्‍याए प्रमुख जिल्ला अधिकारीले कसूर हेरी १० हजार रुपैयाँसम्म जरिवाना वा ६ महिनासम्म कैद वा दुवै सजाय र हानी नोक्सानीको बिगो असुल गरी बिगो बराबर जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको सूचना :

प्रतिक्रिया दिनुहोस्