१७ जेष्ठ २०८१, बिहीबार
समाचार

सरकारी स्वामित्वको सञ्चारमाध्यमहरुका लागि छाता ऐन ल्याउनुपर्नेमा सांसदहरुको जोड

३० चैत , काठमाडाै । सरकारी स्वामित्वको सञ्चारमाध्यमहरुका लागि छाता ऐन ल्याउनुपर्नेमा सांसदहरुको जोड सांसदहरुले सार्वजनिक सेवा प्रशारण विधेयकलाई छाता ऐनको रुपमा अगाडी बढाउनुपर्ने बताएका छन् ।

शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल गर्दै संशोधनकर्ता सांसदहरुले यस विधेयकलाई छाता ऐन बनाउनेगरी अगाडी बढाउनुपर्ने बताएका हुन् ।

उनीहरुले यस विधेयकले सरकारी स्वामित्वका सबै प्रकारका सञ्चारमाध्यमहरुलाई समेट्नुपर्ने बताएका छन्। बैठकमा बोल्दै नेकपा(एमाले)का सांसद दामोदर पौडेलले यस विधेयक रेडियो र टेलिभिजनलाई मात्रै एकीकृत गर्नेगरी आएको भन्दै यसले राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई पनि समेट्नुपर्ने बताए ।

उनले सरकारी स्वामित्वका सबै सञ्चारमाध्यमहरुलाई एकीकृत गर्दै ति सँग सम्बन्धित कानूनहरुलाई खारेज गर्नुपर्ने बताए । उनले देशलाई बलियो बनाउनका लागि सरकारद्वारा सञ्चालित निकायहरु बलियो हुनुपर्ने धारणा पनि राखेका छन् ।

उनले भने – ‘रेडियो र टेलिभिजनलाई मात्रै एकीकृत गर्ने भनेर यो प्रस्तावित छ । राष्ट्रिय समाचार समिति र गोरखापत्रलाई पनि हामीले यही अन्तर्गत नै ल्याएर आधुनिकीकरण गरेर, प्रविधिमैत्री बनाएर ल्याउनुपर्ने थियो कि भन्ने मलाई लागेर मेरो संशोधन यसमा छ ।

यो विधेयक प्रस्तुत गरिरहँदा अहिलेको आधुनिक युगमा सरकारलाई बलियो बनाउने हो भने, नेपाललाई बलियो बनाउने हो भने नेपाल सरकारद्वारा सञ्चालित सबै निकायहरु बलिया हुन जरुरी छ । हामीले गरेका कामको सरकारी सञ्चार माध्यममा आएको सुन्दैनौँ ।

अरु सञ्चारमाध्यमहरुले लेखेको कुराहरुलाई उदाहरण दिएको सुन्छौँ । नेपाल सरकारको स्वामित्वमा रहेका सञ्चारमाध्यमहरुलाई बलियो बनाउनका लागि यो ऐनको नाममा नै सार्वजनिक सेवा सञ्चार ऐन भनेर लग्यौँ भने यसले अरु धेरै काम गर्न सक्छ भन्ने मेरो मान्यता छ ।

जहाँ हामीले प्रशारण लेखेका छौँ त्यो सबै ठाउँमा सञ्चार भनेर संशोधन गर्नुपर्छ । सरकारको स्वामित्वमा रहेका जतिपनि दृश्य प्रशारण गर्ने, स्वर प्रशारण गर्ने र छापाबाट प्रकाशन गर्ने जतिपनि निकायहरु छन् तिनलाई एकीकृत गर्नुपर्यो ।

तिसँग सम्बन्धित जतिपनि कानूनहरु छन्, तिनलाई खारेज गरेर नयाँ कानून प्रश्तावित गर्नेगरी ल्याउनुपर्यो । सकिन्छ भने आम सञ्चारमाध्यमलाई नै छाता संगठनको रुपमा काम गर्नेगरी यो प्रशारण ऐन आउनुपथ्र्यो ।’

दामोदर पौडेल, सांसद, नेकपा(एमाले) नेपाली काँग्रेसका सांसद सञ्जयकुमार गौतमले पनि सरकारी सञ्चारमाध्यमहरुलाई एउटै छाताभित्र राख्ने कानून बनाउनुपर्ने बताए ।

उनले सञ्चार माध्यमहरुको दुरुपयोगभइरहेको भन्दै सञ्चार माध्यमले समाजलाई अग्रगमनतिर लिएर जानुपर्ने बताए । उनले जसको सरकार बनेपनि बनेका विधि, प्रक्रियामाथि घात नहुनेगरी कानून बनाउनुपर्नेमा जोड दिनुपर्ने बताएका छन्।

उनले भने – ‘सञ्चार माध्यमहरुको दुरुपयोग जुन किसिमले भइरहेको छ, यसले समाजलाई अग्रगमनमा लिएर जानुपर्ने ठाउँमा कता–कता पाश्चात्यतिर लगेर हामीलाई गलत ढंगले सोच्न विवश तुल्याएको छ, त्यतापट्टी सचेत बनाएर एउटा यस्तो कानून आवश्यक छ जसले सबैलाई एउटै छाताभित्र राखोस् ।

जोसुकै सरकारमा आओस् हामीले बनाएको विधि र प्रक्रियामाथि घात, प्रतिघात नहोस् । लोकतन्त्रलाई समृद्ध र समुन्नत गर्नलाई यसको उपयोगिता त्यति ढंगले होस् ।’

सञ्जयकुमार गौतम, सांसद, नेपाली काँग्रेस सांसद गौतमले नेपाली भाषा, संस्कृति र सभ्यतामा आक्रमण भइरहेको भन्दै नेपालीको मौलिकता, स्वभाव र स्वरुप गुम्ने अवस्था रहेको बताएका छन् ।

उनले राष्ट्रिय हितलाई ध्यानमा राखेर विधेयक बनाउनुपर्नेमा जोड दिएका छन् । —न्युज एजेन्सी नेपाल

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्