२७ बैशाख २०८१, बिहीबार
सूचना प्रविधि

गुगलको आधिकारिक प्रतिनिधि अब नेपालमा, मेडियम वाइ अलेफले हेर्ने

३० चैत , काठमाडौँ । अलेफ ग्रुप अन्तर्गतको मेडियम वाइ अलेफ कम्पनी नेपालका लागि गुगलको आधिकारिक बिक्रेता बनेको छ ।

गुगलको आधिकारिक बिक्री प्रतिनिधिका रुपमा कम्पनीले स्थानीय विज्ञापन एजेन्सी र विज्ञापनदाताका लागि गुगल एडमार्फत प्रभावकारी विज्ञापनका लागि सहयोग गर्नेछ ।

कम्पनीले स्थानीय विज्ञापनदाताका लागि सर्च इन्जिन, युट्युव र डिस्प्लेलगायतका सेवासम्बन्धी सेवा प्रदान गर्नेछ । लक्षित उपभोक्तामा विज्ञापनको पहुँच बढाउनका लागि प्रभावकारी अभियान सञ्चालन गर्न पनि विभिन्न सुविधा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

गुगलमा प्रयोगकर्ताहरुले प्रत्येक दिन अर्बौ पटक विभिन्न कुराहरु खोजी गर्छन । गुगल एडमार्फत विज्ञापनदाताले प्रयोगकर्ताहरुका ती रुचि र आवश्यकताअनुसारका सूचना, प्रडक्ट र सेवाका माध्यमबाट उनीहरुसम्मको पहुँच
स्थापित गर्नमा कम्पनीले सहयोगी भूमिका खेल्नेछ ।

विश्वव्यापीरुपमा गुगल एड टुल्स कुनै पनि व्यवसाय प्रबर्द्धन गर्न, प्रडक्टलाई लक्षित ग्राहकसम्म पुर्‍याउन र प्रभावकारी बजारीकरणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेको छ ।

ग्राहकहरुले गुगल एडको सुविधामार्फत विज्ञापनको वास्तविक नतिजा मापन गर्न सक्छन् । जस्तै लगानीअनुसारको वेवसाइटमा कतिपटक क्लिक भयो वा सो विज्ञापनमार्फत कतिवटा फोन आए भन्नेसम्मको मापनको सुविधा विज्ञापनदाताले पाउनेछन् । त्यति मात्रै होइन, ग्राहकहरुले आफूलाई आवश्यकताअनुसार मासिकरुपमा कतिसम्म गुगलएडमा खर्च भन्ने निर्णय लिन पनि यसप्रकारको नतिजा सहयोगी हुनेछ ।

गुगलसँगको यो सम्झौता मेडियम वाइ अलेफको हालै एसिया प्यासिफिक क्षेत्रमागुगल एडसँगको सम्बन्धका आधारमा सम्भव भएको हो । कम्पनीले हालैबंगालादेशमा पनि गुगलको मिडिया बिक्री प्रतिनिधिका रुपमा काम गरिरहेको छ।

एसिया प्यासिफिकबाहेक मेडियम वाइ अलेफ र गुगल एडले मध्यपूर्व र उत्तरअमेरिकामा पनि प्रभावकारी रुपमा काम गरिरहेका छन् । हाल मेडियम वाईअलेफले मोरक्को र इराकमा गुगल एडको आधिकारिक बिक्रेताका रुपमा रुपमा पनि काम गरिरहेको कम्पनीको भनाइ छ ।

मेडियम वाइ अलेफका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अल्वर्टो अल्भारेजले भने, “गुगल एड एसिया प्यासिफिक क्षेत्रमा विकसित हुँदै गरेका व्यवसायका लागि नयाँ औजार हो, यस औजरमार्फत विज्ञापनदाताले गुगल सर्च टुल्सको प्रयोग गरी विभिन्न प्रकारका डाटा संकलन, उपभोक्ता लक्षित विज्ञापन गर्न तथा विभिन्न माध्यम जस्तै युट्युव, गुगल म्याप र सर्च टुलमार्फत प्रयोगकर्तासम्म पुग्न र उनीहरुलाई त्यसप्रक्रियामा संलग्न गराउन सक्नेछन् ।

हामी आगामी दिनमा उपभोक्तालाई वास्तविक नतिजा उपलब्ध गराउँदै गुगल एडसँगको सम्बन्धलाई अझ बलियो बनाउन चाहन्छौँ ।”

गुगल सर्च इन्जिन, च्यानल सेल्सका पार्टनर प्रफर्मेन्स प्रमुख तारा यूनले भने, “हामी मिडियम ग्रुप वाई अलेफसँगको सहकार्यका लागि उत्साही छौँ, यस सहकार्यमार्फत हामीले कम्बोडिया र नेपालमा हाम्रो उपस्थिति बढाउने छौँ ।
डिजिटल इकोसिस्टमका क्षेत्रमा कैयन अवसरहरुमा हामी मिलेर काम गर्न सक्छौँ ।”

 

प्रतिक्रिया दिनुहोस्