१७ कार्तिक २०८२, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाका यी चार केन्द्रीय सदस्‍यले गर्नेछन् पार्टीले सम्हालेका मन्त्रालयको संयोजन

१३ चैत, काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीले नेतृत्व गरेको मन्त्रालयको कामको संयोजन गर्ने गरी केन्द्रीय सदस्यलाई जिम्मेवारी तोकेको छ।

उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री डा. मुकुल ढकाल, सांसद शिशिर खनाल र मन्त्रीहरूसहित मंगलबार बिहान बसेको बैठकले जिम्मेवारी तोकेको हो।

केन्द्रीय सदस्य गणेश कार्कीलाई शिक्षा, विज्ञान तथा प्रविधि, सांसद असिम साहलाई युवा तथा खेलकुद मन्त्रालयको संयोजन गर्ने जिम्मा दिइएको छ।

त्यस्तै सांसद गणेश पराजुलीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा र सहप्रवक्ता प्रतिभा रावलले गृह मन्त्रालयको संयोजन गर्ने जिम्मा पाएकी छिन्।

‘उहाँहरूले पार्टी र मन्त्रालयबीच पुलको काम गर्नु हुनेछ, पार्टीका जति पनि नीति, प्राथमिकता, योजना छन् उहाँहरूमार्फत् जान्छ,’ महामन्त्री ढकालले भने।

उनकाअनुसार पार्टीले नेतृत्व गरेका मन्त्रालयपिच्छे ९–९ जनाको समूह बन्ने छ। आवश्यकताअनुसार अरू विज्ञ समूह पनि बनाउन सकिने गरी कार्यादेश दिइएको उनले बताए।

मन्त्रालयपिच्छेका त्यस्ता समूहको छुट्टाछुट्टै बैठक बसेर कामको संयोजन गरिने र मन्त्रालयको कामलाई चुस्त तुल्याइने उनले बताए।

‘सोमबार युवा तथा खेलकुद, मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि, बुधबार श्रम र बिहीबार गृह मन्त्रालयको समूहको बैठक बस्नेछ,’ उनले भने, ‘शुक्रबार समूहका संयोजक, मन्त्रीको सचिवालयका सदस्यसँग उपसभापति, महामन्त्री र शिशिर खनालको बैठक बसेर हामी छलफल गर्छौं।’

प्रत्येक आइतबार उपसभापति वाग्ले, महामन्त्री ढकाल र सांसद खनाल र मन्त्रीहरू सहितको बैठक बस्ने उनले बताए।

केन्द्रमा बनेजस्तो समूह प्रदेश, प्रदेशमा पनि बन्ने र त्यही समूहमार्फत् नै पार्टीले मन्त्रालयलाई दिने सल्लाह, सुझाव, योजनाहरू आउने महामन्त्री ढकालले जानकारी दिए।

यसैबीच राष्टिय योजना आयोगको सदस्यमा नियुक्त भएका अरनिको पाँडेले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएका छन्। ‘उहाँले अल्पकालीन रूपमा राजीनामा दिनुभएको छ, पार्टीका बैठकमा उहाँ विज्ञ सदस्यका रूपमा भने सहभागी हुन सक्नुहुनेछ,’ उनले भने।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा रास्वपाबाट सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन्। उपसभापति डोलप्रसाद अर्याल (डिपी) श्रम, सांसद सुमना श्रेष्ठ शिक्षा, दलका उपनेता विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन्।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि