News and Updates

२३ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् ।
बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना र राष्ट्रिय स्वतन्त्र पार्टीका ४ जना गरी मन्त्रिपरिषद १८ सदस्यीय भएको छ ।
सरकारमा एमालेको नेतृत्व गर्ने सचिव रघुवीर महासेठ उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्री हुनेछन् ।
त्यस्तै पदम गिरी कानुन, न्याय तथा संसदीय मामिला, हरि उप्रेती रक्षा, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राजेन्द्र राईले खानेपानी मन्त्रालय सम्हाल्नेछन् ।
त्यस्तै दामोदर भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी र बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्नेछन् ।
नेकपा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनेका छन् भने वर्षमान पुन अर्थमन्त्री बनेका छन् ।
शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि, र हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री बनेका छन् । डीपी अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद र समुना श्रेष्ठ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेकी छन् ।
पद तथा गोपनीयताको शपथ लिन बाँकी मन्त्रीहरुले बुधबार लिनेछन् ।
हेर्नुहोस् मन्त्रीहरुको सूची :
नेकपा एमाले
१) रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
२) पदम गिरी, कानुन न्याय तथा संसदीय मामिला
३) हरि उप्रेती, रक्षा
४) भगवती चौधरी, महिला बालबालिका
५) राजेन्द्र राई, खानेपानी
६) दामोदर भण्डारी, उद्यो
७) ज्वालाकुमारी साह, कृषि
८) बलराम अधिकारी, भूमि व्यवस्था
माओवादी
१) नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा परराष्ट्र
२) वर्षमान पुन, अर्थ
३) शक्ति बस्नेत, उर्जा
४) रेखा शर्मा, सञ्चार
५) हितबहादुर तामाङ, पर्यटन
रास्वपा
१) रवि लामिछाने, उपप्रधान तथा गृह
२) डीपी अर्याल, श्रम
३) विराजभक्त श्रेष्ठ, युवा तथा खेलकुद
४) सुमना श्रेष्ठ, शिक्षा
फेसबुकबाट तपाईको प्रतिक्रिया